राजनीति

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी

शारीरिक रुपमा आघात पुर्‍याउनेलाई दुई लाख रुपैयाँ जरिवाना वा चार वर्ष कैद वा दुवै सजाय

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ आइतबार जारी गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो समयमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि पनि आक्रमण भएका घटना सार्वजनिक भएपछि कारबाहीका लागि सरकारले कानून बनाएको हो ।

अध्यादेशमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आघात पुर्‍याउनेलाई दुई लाख रुपैयाँ जरिवाना वा चार वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था राखिएको छ ।

त्यस्तै स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई पनि यही सजाय व्यवस्था गरिएको छ ।स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई धम्की दिने, मानसिक तनाव दिने वा अपमानजनक व्यवहार गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्ष कैद वा दुवै सजायको व्यवस्था गरिएको छ ।

यसै गरी बिरामीको उपचारमा अवरोध गर्नेलाई २० हजार रुपैयाँसम्म जरिवाना र तीन महीनासम्म कैदको सजाय व्यवस्था गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.