राजनीति

नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा मन्त्री तामाङको जोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन जरुरी भएको बताउनुभएको छ ।

मन्त्री तामाङ

प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपालको ४५औँ वार्षिक साधारणसभाको अवसरमा उहाँले बढीभन्दा बढी पर्यटक आकर्षण गर्न पुराना पर्यटकीय प्याकेजका साथै नयाँ सम्भावनायुक्त गन्तव्यको खोज, अध्ययन र प्रवर्द्धन गरिनुपर्ने धारणा राख्नुभयो । “नयाँ गन्तव्यहरू पहिचान गर्नुपर्यो । हिमालमात्रै होइन, संस्कृतिको पनि प्रवर्द्धन जरुरी छ”, पर्यटनमन्त्री तामाङले भन्नुभयो, “नेपालमा अथाह पर्यटकीय सम्भावना हुँदा पनि बढी पर्यटक आकर्षण गर्न सकिरहेका छैनौँ ।”

सरकारले बजेट र नीति तथा कार्यक्रममार्फत घोषणा गरेको पर्यटनका कार्यक्रमलाई कार्यान्वयन गर्न र १६ लाख पर्यटकको लक्ष्य प्राप्तिका लागि मन्त्रालयले योजना कार्यक्रम बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।

पाटा नेपालको अध्यक्षमा लकाइ
पाटा नेपाल च्याप्टरको अध्यक्षमा पर्यटन उद्यमी खेम लकाइ निर्वाचित हुनुभएको छ । वार्षिक साधारणसभाले लक्काईको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको महासचिवमा नरेन्द्रदेव भट्ट र कोषाध्यक्षमा रितल राना चयन हुनुभएको छ । कार्यसमिति सदस्यमा लाक्पाफुटी शेर्पा, हिम्मत पुरी, सरिता लामा, सुनिल भट्टराई चयन हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष लकाइले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पर्यटन प्रवर्द्धनका कामलाई सरोकारवालाको समन्वय र सहकार्यमा प्रभावकारी बनाइने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोभिड महामारीपछि मुलुकको पर्यटन पुरानै लयमा फर्किएको र यसलाई थप चलायमान बनाउन विशेषगरी अन्तर्राष्ट्रिय गन्तव्यमा बजारीकरणलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यसैबीच पाटा नेपालले यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड द्धारिकाज होटलकी सञ्चालिका अम्बिका श्रेष्ठ र साङ्ग्रिला होटलका संस्थापक श्यामबहादुर पाण्डेलाई प्रदान गरेको छ ।

यस्तै यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पालाई टुरिजम ब्लेजर अवार्ड दिइएको छ । पाटा पर्सनालिटी अवार्ड २०२४ भोजनगृहका सञ्चालक भरतबहादुर बस्नेतलाई प्रदान गरियो भने पाटा स्पेसल कन्ट्रीब्युसन अवार्ड पर्यटन व्यवसायी नरेन्द्रदेव भट्टलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.