राजनीति

सामाजिक संस्था आन्तरिक उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनामा लाग्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी पुँजी, जनशक्ति र सीप प्रयोग गर्ने सोचमा आधारित भएर सामाजिक अभियन्ताहरू परिचालित हुनुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को समाज कल्याण विभागद्वारा आज काठमाडौँमा आयोजित ‘सामाजिक अभियन्ता भेला’ कार्यक्रममा पार्टी अध्यक्ष दाहालले देशभित्रका श्रमशक्ति र पुँजीलाई परिचालन गरी उत्पादन, उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । “विदेशी पुँजी परिचालन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था मात्र होइनन्, देशभित्र रहेका श्रमशक्ति र पुँजीलाई परिचालन गरी उत्पादन, उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सहकारिता र सामाजिक एवं सांस्कृतिक रूपान्तरणका लागि नेतृत्व गर्ने क्षेत्र पनि हुन्”, ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “देशको मूल नीति विदेशी सहायतामा निर्भर हुने होइन, आफ्नै पुँजी, जनशक्ति, सीप र प्रविधिको प्रयोग गर्ने सोच, नीति र कार्यक्रम हुनुपर्दछ । यसका लागि म सबैको ध्यानाकर्ष गराउन चाहन्छु ।” विश्वव्यापीकरणको वर्तमान युगमा गैरसरकारी संस्थालाई राज्यको प्राथमिकताका आधारमा नियमन, निर्देशन र परिचालन गर्ने नीति नै महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

यसैगरी प्रधानमन्त्री दाहालले सबै तहको पार्टी कमिटीमा गैरसरकारी तथा सामाजिक सङ्घ संस्था विभाग गठन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीको छाता सङ्गठनका रूपमा केन्द्रमा राष्ट्रिय महासङ्घ गठन गर्ने, सबै वडाहरूमा सामुदायिक केन्द्र र क्लबहरू गठन गर्ने नीति पार्टीले लिनुपर्ने बताउनुभयो । “पार्टी केन्द्रले समाज कल्याण विभागलाई सामाजिक सङ्घ, संस्थाको सञ्चालन र पार्टीको जिम्मेवारीसम्बन्धी नीतिगत व्यवस्थाका बारेमा अध्ययन गरी पार्टी र सम्बन्धित सङ्घ, संस्थालाई आवश्यक राय सल्लाह दिनुपर्छ । पार्टीको सबै तहमा सामाजिक सङ्घसंस्था विभाग निर्माण गरी सञ्चालनका लागि राय सल्लाह र सुझाव दिनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

स्थानीय सरकार र राज्यका निकायका कामको अनुगमन र सहकार्यका आधारमा सामाजिक क्षेत्रमा बलियो उपस्थिति र नेतृत्व स्थापित गर्न सुझाव दिँदै प्रधानमन्त्री दाहालले सिङ्गो पार्टीको पुनर्गठन र रूपान्तरणको प्रक्रियामा यस्ता संस्थाले योगदान गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

सङ्घीय संरचनाबमोजिम समाज कल्याण विभागका प्रदेश र स्थानीय तहको संरचना निर्माण गरी ती क्षेत्रमा रहेका सङ्घ, संस्थालाई राय सल्लाह, परामर्श र आवश्यकताअनुसार निर्देशनसमेत दिनुपर्ने प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, संयुक्त राष्ट्रसङ्घीय निकायहरू र विकास साझेदारसँग सम्बन्ध स्थापित गरी सहयोग र समन्वय गर्नेजस्ता महत्त्वपूर्ण जिम्मेवारीसमेत विभागलाई प्रदान गरिएको बताउनुभयो ।

समाजवादको आधार तयार पार्ने सन्दर्भमा माओवादीले शान्तिपूर्ण प्रतिस्पर्धाका माध्यमबाट सरकार, सदन र सडकबाट सङ्घर्ष गर्ने नीति अख्तियार गर्दै आएको बताउँदै अध्यक्ष दाहालले यसका निम्तिसमेत सामाजिक क्षेत्रको भूमिकालाई सङ्किर्ण तवरले नबुझ्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “सामाजिक क्षेत्रलाई राजनीतिक र सामाजिक रूपान्तरण र समाजवादको लक्ष्यसँग जोड्ने प्रवृत्ति नै सही र क्रान्तिकारी प्रवृत्ति हो । हामी यही प्रवृत्तिको पक्षमा छौँ ।”

पार्टी नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित राजनीतिक, आर्थिक, सामाजिक जीवनका सबै क्षेत्रमा सकारात्मक परिणाम ल्याउन मेहनत र सङ्घर्ष गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट पनि यीनै विषयमा केन्द्रित रहेका बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.