राजनीति

शिक्षा, लगानी नीति बदल्न नसक्दा बेरोजगारी बढ्यो : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले शिक्षा प्रणाली र लगानी नीतिमा सुधार ल्याउन नसक्दा देशले बेरोजगारीको सामना गर्नु परेको बताउनुभएको छ । शुक्रबार वीरेन्द्रनगरमा आयोजित रोजगार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कँडेलले मुलुकभित्रै प्रचुर सम्भावना हुँदाहुँदै पनि नेपालले बेरोजगारीको सामना गर्नु परेको बताउनुभएको हो ।

मुख्यमन्त्री कँडेल

“युवा शक्तिलाई मुलुकभित्र टिकाई राख्न शिक्षा प्रणाली र लगानीमा नीति सुधार ल्याउनुपर्ने आवश्यकता छ,” मुख्यमन्त्री कँडेलले भन्नुभयो । सोही बमोजिम कर्णाली सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रोजगारी र उद्यमशीलताका योजना अघि सारेको उहाँको जानकारी दिनुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रवर्द्धनको आधार तयार पार्ने बताउनुभयो ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावतले नेपाली नागरिकसँग परम्परागत सीप भए पनि त्यसले मान्यता नपाउँदा नेपाली श्रमिकको सीपको मूल्याङ्कन नभएको धारणा राख्नुभयो । “नेपाली युवासँग डोको, राडी, पाखी बुन्ने सीप छ, यो सीप इन्जिनियरको भन्दा कम छैन, तर यो सीपले प्रमाणपत्र पाउन सकेको छैन, जसका कारण सीप भएका युवाको पहिचान र मूल्याङ्कन हुन सकेको छैन,” उहाँले भन्नुभयो । आइतबारसम्म सञ्चालन हुने मेलामा सरकारी तथा निजी क्षेत्रका गरी ४० वटा स्टल राखिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.