जन सरोकार

बचतसँगै व्यवसायमा जोडिँदै महिला

कैलालीको टीकापुर नगरपालिका– ७ की विपना गुरुङ पुनमगरका श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । श्रीमान्ले विदेशमा कमाउने तथा सपनाले घर व्यवस्थापन गर्ने कार्य निरन्तर चलिरह्यो । सपनालाई बचत गर्नुपर्छ, आफूले पनि केही काम गर्नुपर्छ भन्ने कहिल्यै लागेन । श्रीमान्ले कमाउने, सपनाले खर्च गर्ने चलिरह्यो ।

अन्तर्राष्ट्रिय महिला दिवस

केही महिनाअघि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले चलाएको वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि विपनाको दैनिकी भने फेरियो । उहाँले श्रीमान्को कमाइ बचत गर्न थाल्नुभयो । तरकारी खेती र बाख्रापालन थाल्नुभयो । उहाँले कमाइको केही अंश बचेतसमेत थाल्नुभयो ।

“साक्षरता कक्षाबाट धेरै सिकाइ भयो, बचत गर्ने, फजुल खर्च नगर्ने तथा परिवारमा मेलमिलाप कसरी गर्ने भन्नेबारे ज्ञान पाए”, विपना भन्नुहुन्छ, “हरेक खर्च र आम्दानीको हिसाब राख्न थाले । दैनिक हिसाबकिताब लेखेर राख्दा घरमा मेलमिलाप र शान्ति भयो ।”

विपनाका श्रीमान् अहिले विदेशबाट घर फर्कनुभएको छ । विगतमा सीप नसिकेर रोजगारीमा गएका श्रीमान्लाई सीप सिकेर विदेश पठाउने तयारीमा उहाँ हुनुहुन्छ । “सीप सिकेर, सम्बन्धित काममा जाने सल्लाह भएको छ”, विपनाले भन्नुभयो, “अहिले मैले पनि तरकारी खेती, कपडा सिलाउने काम र बाख्रापालन थालेकी छु । अब घरखर्चका लागि तनाव छैन ।”

टीकापुर–७ बैदीकै जमुना साउँद पनि साक्षरता कक्षामा सहभागी भएपछि पैसाको महत्व बुझेको बताउनुहुन्छ । घरमा मेलमिलापका लागि बचत गर्नुपर्ने रहेछ भन्ने सिकाइ भएको उहाँको बुझाइ छ । “महिलाले वित्तीय हिसाबकिताब राख्न र फजुल खर्च घटाएपछि घरमा पनि शान्ति हुन्छ”, उहाँ भन्नुहुन्छ, “हरेक दिन बेलुका दिनभरिका काम र खर्चबारे छलफल हुने गरेको छ । अहिले मैले पनि बाख्रापालन व्यवसाय पनि सुरु गरेकी  छु ।”

टीकापुर–४ की सविता चौधरी पनि हिसाबकिताब राख्न र श्रीमान्को विदेशको कमाइ कसरी बचत गर्ने भन्नेबारेमा सिकाइ भएको बताउनुहुन्छ । “जति रकम पठाए पनि हिसाब राख्ने गरेकी थिइन, कुन महिना कति खर्च भयो थाहै हुँदैन थियो”, उहाँले भन्नुभयो, “अहिले सबै हिसाब राख्दा सहज भएको छ । मैले तरकारी खेती पनि गरिरहेकी छु ।”

वैदेशिक रोजगारीमा गएका व्यक्तिको विदेशमा कति वर्ष बसाइ हुन्छ ? कति कमाइ हुन्छ ? विदेशमा केही वर्ष कमाएको रकम बचत गरेर, सदुपयोग गरेर सम्पत्ति थपेमा भविष्यमा आइपर्ने समस्या समाधान गर्न सकिनेमा महिलाहरु सचेत बन्न थालेका छन् । अझ विदेशको कमाइलाई सदुपयोग गरी वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यसमेत कामकाजी भएमा घरखर्च यही कमाइ गरी चलाउन सकिन्छ र केही बचतसमेत गर्न सकिन्छ भनी महिला व्यवसायसँग जोडिन खोज्दैछन् ।

साक्षरता कक्षामा सहभागी महिलाले विदेश जाँदा चाहिने कागजातबारे ज्ञान भएको, श्रम स्वीकृति र कानुनी प्रावधानबारे सिकाइ भएको बताएका छन् । यसका साथै परिवार व्यवस्थापन, कामको बाँडफाँट, आम्दानी र खर्चबारे सिकाइ भएको उनीहरु बताउँछन् । टीकापुरकी मीनाकुमारी विष्ट बालबालिकाको शिक्षा आर्जन र परिवारको आम्दानी बढाउन, सम्पत्ति जोड्न वित्तीय लक्ष्य हुनुपर्नेमा सचेत बनेको बताउनुहुन्छ ।

“हरेक परिवारको वित्तीय लक्ष्य हुनुपर्छ । हाम्रो समाजमा घरका एक पुरुष विदेशमा कमाउने, अरु सबै बसेर खाने चलन छ”, उहाँले भन्नुभयो, “त्यसो गर्न हुँदैन । घरका सबैले आर्थिक आयआर्जन हुने काम गर्नुपर्छ ।”

सामी कार्यक्रमले कैलालीको टीकापुर, घोडाघोडी नगरपालिका, जानकी गाउँपालिका र धनगढी उपमहानगरपालिकामा काम गरिरहेको छ । आप्रवासन परियोजना नेपालमा सन् २०११ देखि सञ्चालनमा छ । कार्यक्रमले वैदेशिक रोजगारमा जाने सम्भावित कामदार, वैदेशिक रोजगारमा रहेका कामदार, वैदेशिक रोजगारबाट फर्केका कामदार र वैदेशिक रोजगारमा रहेका कामदारका परिवारका सदस्यलाई सेवा दिने गरी काम गर्दै आएको  छ । कार्यक्रमले सूचनामा पहुँच, सीपमा पहुँच, न्यायमा पहुँच, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श दिने काम गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.