राजनीति

गणतन्त्र प्राप्तिपछि मुलुक विकास र समृद्धिको बाटोमा : रक्षामन्त्री उप्रेती

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले गणतन्त्र प्राप्तिपछि मुलुक विकास र आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभएको छ । गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकनपश्चात् उहाँले गणतन्त्रपछिको उपलब्धि राससमा प्रदर्शित तस्बिरले चित्रित गरेको उल्लेख गर्नुभयो ।

रक्षामन्त्री उप्रेती

“गणतन्त्रको उपलब्धिलाई प्रदर्शित तस्बिरले चित्रित गरेको छ । यसले व्यवस्थाप्रतिको विश्वास र भरोसा जगाएको छ”, रक्षामन्त्री उप्रेतीले भन्नुभयो, “अहिले भइरहेका कामलाई छोपेर धमिलो पानीमा माछा मार्न सकिन्छ की भन्ने गतिविधि भएका थिए । अब, यी कुराहरु जनतामाझमा गएपछि तथा भइरहेका कामको परिणाम आएपछि गणतन्त्र ठीक थियो कि थिएन भन्ने कुरा पुष्टि भइसकेको छ । गणतन्त्रपछिका उपलब्धिलाई राससले तस्बिरमार्फत उजागर गरेकामा धन्यवाद दिन चाहन्छु ।”

गणतन्त्र जनताका पक्षमा रहेको र जनताको विश्वास जित्नेगरी काम भइरहेको उल्लेख गर्दै रक्षामन्त्री उप्रेतीले भइरहेका कामलाई प्रोत्साहित गर्दै जनताका पक्षमा अगाडि बढ्नुपर्छ भन्ने सन्देश तस्बिर प्रदर्शनीले दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्पन्न भइसकेका बाँकी कामलाई पनि समेटेर जनतालाई आशा जगाउने कार्यमा सबै जिम्मेवार भएर लाग्नुपर्छ ।”

मन्त्री उप्रेतीले व्यवस्था परिवर्तन गरेर मात्रै मुलुक विकास र समृद्धिको दिशामा अगाडि बढ्न सक्दैन उल्लेख गर्दै सुरु गरिएका परियोजना समयमै सम्पन्न गर्ने हो भने अब, मुलुक बन्न एक दशक पनि नलाग्ने ठोकुवा गर्नुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका द्रुतमार्ग समयमै सम्पन्न गर्न आफूले पहलकदमी लिने बताउनुभयो । उहाँले भन्नुभयो, “द्रुतमार्ग निर्माणमा देखिएका कानुनी उल्झन, कोरोना महामारीलगायत विषयले जेलिएको थियो । अहिले राष्ट्रिय गौरबका आयोजनामा विशेष व्यवस्था गरेर चाँडो सम्पन्न गर्नेतर्फ सरकार अग्रसर रहेकाले सञ्चालित आयोजनालाई गति दिएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउन सरकार प्रतिबद्धताका साथ लागेको छ ।”

मन्त्री उप्रेतीलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, रासस सञ्चालक समितिका सदस्य कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतो, प्रधानसम्पादक उत्तम सिल्वाललगायतले प्रदर्शनीमा राखिएका तस्बिरका बारेमा जानकारी गराउनुभएको थियो ।

यही जेठ १० गतेदेखि सुरु भएको उक्त प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन् । विसं २०७२ मा गएको ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरकोे पुनःनिर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर समेटिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.