राजनीति

सवारी दुर्घटना न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री महासेठ

बर्सेनि बढ्दो सवारी साधन दुर्घटनाका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न निरोधात्मक उपायको खोजी गर्ने उद्देश्यका साथ राष्ट्रियसभाको सोमबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ ।

उपप्रधानमन्त्री महासेठ

राष्ट्रियसभाका सदस्य सोनामा गेल्जेन शेर्पा प्रस्तावक र जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाया, भगवती न्यौपाने, मदनकुमारी शाह (गरिमा) र शेखरकुमार सिंह समर्थक रहनुभएको सो प्रस्तावमाथि छलफल भएको हो ।

छलफलमा सहभागी हुँदै सदस्य श्रीकृष्णप्रसाद अधिकारीले सवारी दुर्घटनाका कारण मानव र भौतिक क्षतिको मात्रामा बढोत्तरी भएकाले त्यसलाई नियन्त्रण गर्न सडक सुधार गर्नुपर्ने, ट्राफिक नियम पालनामा कडाइ गर्नुपर्ने, सवारी साधनलाई तन्दुरुस्त राख्नेलगायतका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

सांसद पदमबहादुर परियारले सडक दुर्घटनाका कारण अकालमा ज्यान गुमाउने नागरिकको परिवारमा ठूलो मानसिक आघात हुने, अपाङ्गता हुने क्रममा वृद्धि भएको उल्लेख गर्नुभयो ।

सांसद इन्दिरादेवी गौतमले सडक सञ्जालभन्दा बढी सवारीसाधन उपलब्ध भएको र दुर्घटनाका घटनामा बढोत्तरी भएकाले कानुन कार्यान्वयनमा विशेष जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । सांसद जयन्तीदेवी राईले औसत दैनिक आठ जनाका दरले सवारी दुर्घटनामा ज्यान जाने गरेको तथ्याङ्क पेस गर्दै विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन नभएको, सवारी परीक्षणमा ध्यान नदिइएको तथा सक्षम चालकको अभावका कारण समस्या जटिल भएको बताउनुभयो ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले सवारी दुर्घटना न्यूनीकरणका लागि कानुनी, संरचनागत सुधार गर्दै त्यसको व्यावहारिक कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले सडक सुरक्षाका लागि काम गर्ने निकायका रुपमा ‘रोड सेफ्टी काउन्सिल’ले आवश्यक काम गर्ने उल्लेख गर्नुभयो ।

सडक तथा सवारीसँग जोडिएका हरेक विषयलाई केन्द्रित गरेर आवश्यक कानुनी प्रबन्ध गर्न लागिएको उहाँले जानकारी दिनुभयो । हचुवाका भरमा सडक पूर्वाधार निर्माण गर्ने, सुरक्षाको कुनै पनि उपाय अवलम्बन नगर्ने प्रवृत्ति मौलाएकाले त्यसलाई नियन्त्रण गर्न कठिनाइ भएको बताउनुभयो ।

सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकार भएका निकायलाई जिम्मेवार बनाउने, यात्रुले पनि विशेष चनाखो हुनुपर्ने र क्षमताभन्दा बढी यात्रु नराख्नेतर्फ सबैको सचेत पहल जरुरी रहेको बताउनुभयो ।

हाल निर्माण भइरहेको सडकमा सुरक्षाका सबै उपकरण राखिएको तथा सडक सुरक्षालाई विशेष ध्यान दिइएको उहाँको भनाइ छ । निर्माण भएका सडकको मर्मतसम्भार हुन नसक्दा पनि दुर्घटना बढेको, पहाडी क्षेत्रमा घुम्ती बढी भएकाले पनि दुर्घटना बढेको पाइएकाले त्यसलाई सरकारले ध्यान दिने विश्वास दिलाउनुभयो ।

दुर्घटना न्यूनीकरणका लागि जनचेतना बढाउने तथा आवश्यक सुरक्षाका उपाय अवलम्बन गर्ने प्रक्रियालाई पनि उत्तिकै ध्यान दिइएको उपप्रधानमन्त्री महासेठको भनाइ छ । राष्ट्रियसभा र सांसदहरुको सुझावका आधारमा सरकारले सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले आवश्यक निर्णय गर्ने र चाँडै दुई वटा विधेयक सङ्घीय संसद्मा पेस गर्ने जानकारी दिनुभयो ।

बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभालाई जानकारी गराई टेबल गर्नुभयो ।

त्यस्तै बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक, २०८०’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावलाई सभाको सर्वसहमतिले स्वीकृत गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २९ गते मङ्गलबार १।१५ बजे बस्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.