आरिफ शेखको अर्धशतकीय पारीमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत चौथो चरणको आफ्नो चौथों खेलमा नेपालले नेदरल्यान्ड्स सामू जितको लागि २सय ३७ रन्को लक्ष्य प्रस्तुत गरेको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनाएको हो ।
नेपालको लागि आरिफले ८५ बलमा सात चौका र दुई छक्काको मद्दतले ८४ रनको अर्धशतकीय पारी खेले भने भीम सार्की र कप्तान रोहितकुमार पौडेलले समान ३५-३५ रन जोडे ।
त्यस्तै कुशल भुर्तेलले १८ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११-११ तथा नन्दन यादवले अविजित १० रन बनाए । नेदरल्यान्ड्सका लागि पउल भान मिकेरनले चार विकेट लिए भने माइकल लेभिटले तीन विकेट लिंदा आर्यन दत्तको भागमा एक विकेट रह्यो ।
आज नेपाली टोलीमा तीन खेलाडी परिवर्तन गरिएको छ । चोटका कारण सोमपाल कामी र गुल्शनकुमार झा आजको खेलमा नहुँदा उनीहरूको स्थानमा नन्दन यादव र बसिर अहमदलाई मौका दिइएको छ । नन्दनका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा यो डेब्यू खेल हुनेछ । त्यस्तै ओपनर एवं विकेटकिपर आसिफ शेखको स्थानमा अनिल साहलाई मौका दिइएको छ ।
त्रिकोणात्मक एक दिवसीय जारी शृङ्खलामा नेपाल र स्कटल्यान्डसँगै नेदरल्यान्डस् रहेको छ । जारी शृंखलामा नेपालले नेदरल्यान्ड्ससँग दोस्रो खेल खेल्न लागेको हो । यसअघि गत बुधबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो ।
त्यस्तै नेपालले पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डामाथि एक विकेटको रोमाञ्चक जित निकाल्दा स्कटल्याण्डसंगको दोस्रो खेलमा दुई रनले पराजित भएको थियो । नेपाल आज नेदरल्यान्ड्सलाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गर्ने योजनाका साथ मैदान उत्रदै छ भने यता नेदरल्यान्ड्स पनि नेपाललाई पराजित गर्ने सुरमा रहेको छ ।
नेपाल आज नेदरल्यान्ड्सलाई पराजित गर्दै सिरिजको सुखद अन्त्य गर्ने योजनामा रहेको छ । हालसम्म नेपाल र नेदरल्यान्ड्सबीच ओडिआईमा भएका छ खेलमध्ये तीन खेलमा नेदरल्यान्ड्स र तीन खलमा नेपाल विजयी भएका छन् ।
नेदरल्यान्ड्स २२ खेलबाट २६ अङ्क बनाएर दोस्रो स्थानमा रहँदा १५ खेल खेलेको नेपाल १० अङ्कका साथ तालिकाको सातौं स्थानमा रहेको छ । नेपालले स्कटल्याण्ड आउनुअघि बेलायतमा विभिन्न काउन्टी क्लबहरूसँग अभ्यास खेल खेल्दै अपराजित रहेको थियो भने स्कटल्याण्ड आएर ए टोलीसँग पनि अभ्यास खेलेको थियो । ८ टोली सहभागी विश्वकप लिग- २ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन् ।
त्यस्तै नेपालले लिग-२ लगत्तै स्कटल्याण्डमै आयोजना हुने टी-२० अन्तर्राष्ट्रिय सिरिज पनि खेल्नेछ ।
नेपाली टोली
रोहितकुमार पौडेलको (कप्तान),अनिल साह, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), भीम सार्की, आरिफ शेख, बसिर अहमद, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, र ललित नारायण राजवंशी





प्रतिक्रिया राख्नुहोस्