जन सरोकार

क्रेन बोकेर गुडिरहेको लोवेटमा करेन्ट लाग्दा दुईजनाको मृत्यु

सोलुदूधकुण्ड नगरपालिका–८ पत्तालेमा क्रेन बोकेर गुडिरहेको लोवेटमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । पोखरातर्फ जाँदै गरेको ग१क ५१७३ नंको लोवेटमा राखिएको क्रेनले ३३ केभी प्रसारण लाइनमा छुँदा करेन्ट लागी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार लोवेट चालक बडीगङ्गा गाउँपालिका–५ बाग्लुङ स्थायी ठेगाना भएका २६ वर्षीय भूमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका करीब २४ वर्षीय रामबहादुर परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान ८ः४० बजे सोलु खोलामा निर्माणाधीन ८६ मेगावाट हाइड्रोपावरको क्रेन मर्मतका लागि पोखरा लैजाँदै गर्दा सडकमाथि रहेको प्रसारण लाइनमा छुँदा घटना भएको प्रनाउ कटवालले घटनास्थलबाट जानकारी दिनुभयो ।

यस्तै सहचालक मालिका गाउँपालिका गुल्मीका १८ वर्षीय वसन्त पौडेल र स्याङ्जाका अन्दाजी २४ वर्षीय लीला परियार सामान्य घाइते भएको बताइएको छ । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाई अवरुद्ध सडक खुलाउने काम भइरहेको ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिनुभयो । सिद्धिचरण लोकमार्गमा पर्ने उक्त सडक क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइन छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.