बिचार

गठबन्धनको इतिहासमा सबैभन्दा अवसरवादी भूमिका प्रचण्डको

हालै केपी शर्मा ओलीले दिएको अभिव्यक्तिबाट हामीले उनको जुन आलोचना गरेका थियौँ, त्यो सही साबित भएको छ । उनले भनेका छन्– मैले एमालेलाई बचाउन नै संसद्को विघटन गरेको थिएँ । उनले एमालेलाई बचाउनको लागि नै संसदको विघटन गरेको भने पनि संसदलाई विघटन गर्नुका पछाडिको वास्तविक उद्देश्य आफ्नो प्रधानमन्त्री पद बचाउनु नै थियो ।

प्रथमपल्ट, त्यो बेलाको नेकपाका सांसदहरूले उनका विरुद्ध अविश्वासको प्रस्ताव राख्ने तयारी गरेपछि उनले दगुरेर गएर राष्ट्रपतिद्वारा संसदलाई विघटन गर्न लगाएका थिए । दोस्रोपल्ट संसदका बहुमत सदस्यहरूले राष्ट्रपतिलाई उनका विरुद्ध अविश्वासको आवेदन दिएपछि त्यसलाई रोक्न लगाएर राष्ट्रपतिद्वारा आफूलाई प्रधानमन्त्री घोषित गर्न लगाएका थिए र उनी (राष्ट्रपति) द्वारा संसदलाई विघटन गर्न लगाएका थिए ।

जेहोस्, उनले प्रकट गरेको विचारलाई मान्ने हो भने पनि एउटा पार्टीलाई बचाउनका लागि देशको सम्पूर्ण लोकतान्त्रिक प्रणालीमाथि प्रहार गर्नु तथा देशलाई सङ्कटको मुखमा धकेल्नु कहा“सम्म गैरजिम्मेवार र राष्ट्रघाती कार्य हो ? कसैले सजिलैसित त्यो कुराको अनुमान गर्न सक्दछ । अहिले पनि उनले आप्ः्नो त्यस प्रकारको कार्य सही भएको वकालत गरिरहेका छन् । आफ्नो हातमा सत्ता आयो भने उनले त्यस प्रकारको घात गर्न सक्ने कुरा प्रष्ट छ ।

यो प्रष्ट छ कि ओलीको त्यस प्रकारको कार्यशैली निश्चित रुपले अधिनायकवादी र अप्रजातान्त्रिक प्रकारको नै थियो । यो प्रजातान्त्रिक नियम हो कि कुनै प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव आएपछि त्यसमाथि प्रजातान्त्रिक तरिकाले संसदमा छलफल गर्ने अवसर दिनुपर्दछ र त्यसको निर्णयलाई स्वीकार गर्नुपर्दछ ।

त्यसका विपरीत उनले जुन तरिका अपनाए, त्यो अधिनायकवादी भएको कुरामा कुनै शङ्का छैन । त्यति मात्र होइन सर्वोच्चले संसदलाई पुनस्र्थापना गरिसकेपछि पनि नौ महिनासम्म उनले त्यसलाई अवरुद्ध गरेका थिए । हालैको एउटा उदाहरणबाट पनि उनको चरित्र पूरै अधिनायकवादी भएको कुरालाई बताउँछ ।

वर्तमान सरकारको नेतृत्व प्रधानमन्त्री प्रचण्डले गरिरहेका छन् । तर रूपका दृष्टिकोणले त्यो प्रचण्ड सरकार भएपनि सार रूपमा त्यो ओली सरकार हो र सरकारको सम्पूर्ण अधिकार ओलीको नै हातमा छ । प्रचण्ड खाली ओलीका हातका कठपुतली मात्र हुन् । त्यसैले सरकारद्वारा गरिएका सबै निर्णयहरूका लागि ओली नै मुख्य जिम्मेवार हुन जान्छन् ।

अहिलेको सरकार बनेपछि सरकारले भूमि आयोगलाई विघटन ग¥यो । तर सर्वोच्चले त्यसलाई पुनस्र्थापना ग¥यो । सर्वोच्चअदालतले पुनस्र्थापना गरेको भएपनि सरकारले त्यसलाई काम गर्न दिएको छैन । त्यसले पनि ओलीको अधिनायकवादी चरित्रलाई नै बताउँछ ।

वास्तवमा ओलीले जुन प्रकारको कार्यशैली अपनाउने गरेका छन्, त्यसबाट नेपालको सम्पूर्ण प्रजातान्त्रिक प्रणालीलाई नै गम्भीर खतरा भएको कुरामा कुनै शङ्का रहन्न। अर्का शब्दमा उनको त्यस प्रकारको कार्यप्रणाली प्रतिगामी हो र, त्यसैले उनको त्यस प्रकारको कार्यप्रणालीबाट देश प्रतिगमनतिर जाने पनि गम्भीर खतरा छ ।

ओलीको त्यस प्रकारको प्रतिगामी कार्यशैली उनीद्वारा गरिएको संसदको विघटनबाट नै सिद्धियो भन्ने होइन, भविष्यमा पनि उनीद्वारा देश अधिनायकवाद र प्रतिगमनतिर जाने गम्भीर खतरा छ । त्यसैले संसदको विघटनपछि उनीद्वारा सम्भावित प्रतिगमन र अधिनायकवादको खतरालाई रोक्न हामी पाँच दलीय गठबन्धनमा सामेल भएका थियौं ।

पाँच दलीय गठबन्धनले त्यो प्रतिगमनलाई रोक्न महत्वपूर्ण योगदान दियो। तर माओवादीको अवसरवादी नीति र नेकाभित्रको प्रतिपक्षले बारम्बार पुर्याएको बाधाका कारण प्रतिगमनका विरुद्ध बनेको गठबन्धनले सफलतापूर्वक काम गर्न सकेन ।

गठबन्धनको इतिहासमा सबैभन्दा अवसरवादी भूमिका प्रचण्डको नै रह्यो। ‘क्रमभङ्गता’ उनको आधारभूत सिद्धान्त रहेको छ। उनले हालै ‘म’ जीवित रहँदासम्म मैले उथलपुथल मच्चाइरहने छु भनेका छन् । त्यसरी नेपालको राजनीतिमा उनले आफूलाई सबैभन्दा ‘चतुर’ राजनीतिक नेताको रूपमा प्रस्तुत गर्न खोजेका छन् ।

एउटा उखान छ – ‘लाटो पल्टन्छ एक भल्र्याङ्ग, बाठो पल्टिन्छ तीन भल्र्याङ्ग’ । त्यही उखान प्रचण्ड बारे पनि सत्य साबित भएको छ । ‘क्रमभङ्गता’ को लामो खेल खेल्दा खेल्दै र नेपालको राजनीतिमा लगातार ‘उथलपुथल’ मच्चाउने घोषणा गर्दागर्दै अब उनी ओलीको कठपुतली बन्न पुगेका छन् । ओलीले उनलाई कुन रूपमा कसरी पल्ट्याउने छन् ? त्यो कुरा हामीले हेर्न बा“की छ ।

ओलीले बारम्बार बताउँदै आएका थिए,उनको मुख्य उद्देश्य पाँच दलीय गठबन्धनलाई भत्काउनु हो । अहिले उनको त्यो रणनीति सफल भयो र प्रचण्डलाई आफ्नो पासोमा पार्न पनि उनी सफल भएका छन् । त्यसपछि अब उनको रणनीति प्रचण्ड सरकारलाई निरन्तरता दिनु ता अवश्य पनि होइन, अब उनको रणनीति के हुनेछ ? त्यो कुरा आउने दिनहरूमा नै प्रष्ट हुँदै जानेछ ।

अहिले पनि उनले गतकालमा संसदलाई विघटन गरेको कार्य सही नै भएको दाबी गरिरहेका छन् । त्यो कुराले एउटा आशङ्का पैदा हुन्छ- अहिले पनि उनले संसदलाई विघटन गराउने योजनाअन्तर्गत नै काम गरिरहेका त छैनन् ? उनले २०८४ को चुनावमा एक्लै उठ्ने दाबी गरिरहेका छन् । त्यसका पछाडि माओवादीलाई समेत पूरै सखाप गर्ने योजनाअन्तर्गत काम गरिरहेका छन् ।

उनको प्रयत्न अर्को चुनावमा पूरै बहुमत प्राप्त गर्नेतिर नै छ । निश्चय नै कुनै पनि पार्टीले त्यस प्रकारको दाबी गर्नु वा त्यसका लागि प्रयत्न गर्नुलाई गलत भन्न सकिन्न । प्रत्येक राजनीतिक पार्टीलाई त्यस प्रकारको प्रयत्न गर्ने अधिकार छ । तर त्यस सन्दर्भमा गम्भीर कुरा यो छ कि उनको त्यो प्रयत्न सफल भयो भने देश अवश्य पनि अधिनायकवाद र प्रतिगमनतिर नै जानेछ । नेपाली जनताले करिब एक शताब्दीसम्म विभिन्न सङ्घर्ष र महान बलिदान गरेर प्राप्त गरेका विभिन्न उपलब्धि समाप्त हुनेछन् ।

ओलीसित सम्बन्धित अर्को गम्भीर प्रश्न उनीसित सम्बन्धित ठूलो पैमानाको भ्रष्टाचार पनि हो । गिरीबन्धु टि–स्टेटद्वारा उनले अरबौं रूपैया“को भ्रष्टाचार गरेका छन् । सर्वोच्चले गरेको फैसलाबाट पनि त्यो कुरा प्रष्ट भएको छ । तर उनले सर्वोच्चको त्यो फैसलाको विरोध गरेर आफ्नो भ्रष्टाचारको पक्षपोषण गर्ने काम गरिरहेका छन् ।

ओमनीको औषधी खरिद प्रकरणमा उनले गरेको ठूलो पैमानाको भ्रष्टाचार पनि कसैबाट लुकेको कुरा होइन । सेक्युरिटी प्रिन्टिङ प्रेसबारे ओलीको पक्षबाट गरिएको करोडौं रुपैयाँको कमिसनको डिल पनि आम रूपमा थाहा भएको कुरा हो, यद्यपि त्यो सफल हुन पाएको थिएन । तर प्रकाशमा आएका यी भ्रष्टाचारका काण्डहरू बाहेक अरू अँझै अज्ञात रहेका कैयौं भ्रष्टाचारका काण्डहरू हुन सक्दछन् ।

तर त्यस प्रकारका सबै भ्रष्टाचारका काण्डलाई कैयौं तथ्यहरूद्वारा प्रमाणित भइसक्दा पनि चर्को स्वरले कथित स्वतन्त्र पार्टीको एकजना नेताले सहकारी हिनामिनामा आफू दोषी नभएको कुरा गर्वपूर्वक दाबी गर्दै आएजस्तै, ओलीले पनि उनीसित सम्बन्धित भ्रष्टाचारका सबै काण्डहरूमा आफू दोषी नभएको कुरा गर्वपूर्वक बताउँदै आएका छन् ।

यस प्रकारका व्यक्तिहरू सत्तामा हुनु र आगामी चुनावमा उनीहरूको विजयी हुनुको देश र जनताले कति धेरै मूल्य चुकाउनु पर्नेछ ? के सम्पूर्ण जनताको त्यसप्रति ध्यान जानुपर्ने आवश्यकता छैन ?

यस सन्दर्भमा प्रश्न उठाउनुपर्ने अर्को महŒवपूर्ण विषय ओलीले नेतृत्व गरेको एमालेका नेता र कार्यकर्ताहरूको ओलीप्रतिको अन्धभक्ति हो । ओलीको राजनीति लगातार अधिनायकवाद र प्रतिगमनका पक्षमा नै गएको तथा उनले योजनावद्ध प्रकारले त्यो दिशामा गरिरहेका कार्यहरू वा उनको त्यही दिशामा केन्द्रित रणनीतिलाई पनि उनीहरूले (एमालेका नेता वा कार्यकर्ताहरूले), जसको नेपालको वामपन्थी र प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको छ, ले किन समर्थन गरिरहेका छन् ?

अर्का शब्दमा, उनीहरुले आफूलाई त्यो हदसम्म किन गिराइरहेका छन् ? यो कुरा निश्चित रूपले भन्न सकिन्छ, उनीहरूको त्यस प्रकारको अन्धभक्ति वा कार्यप्रणालीबाट देशको हित र लोकतन्त्रमा गम्भीर रूपले आघात पुग्नुका साथै दीर्घकालीन रूपमा स्वयं उनीहरूको सङ्गठनको हितलाई पनि कुठाराघात पुग्न सक्दछ, यद्यपि कतिपय अवस्थामा उनीहरूलाई चुनावी सफलता पनि मिल्न सक्दछ ।

तर चुनावी सफलता देशको सम्पूर्ण हित भन्दा माथिको कुरा होइन, यद्यपि कतिपय अवस्थामा कथित स्वतन्त्र पार्टीका अध्यक्ष जस्ता व्यक्तिहरूले पनि जनतामा भ्रम फैलाउन सफल भएर ‘रेकर्ड’ बहुमतद्वारा चुनाव जित्न सक्दछन् ।

अन्त्यमा ओलीसित सम्बन्धित एउटा अर्को पक्षको पनि चर्चा गर्नु सायद अप्रासाङ्गिक हुने छैन । त्यो पक्ष हो– उनको अत्यन्तै निम्न स्तरको, छुद्र, अशिष्ट र अराजनीतिक प्रकारको भाषाशैली । त्यो आम रूपमा थाहा भएको कुरा हो । जे होस्, उनले उनको त्यो शैलीकोे परम्परालाई अगाडि बढाउने केही ‘योग्य’ उत्तराधिकारीहरू पनि तयार पारेका छन् । त्यसका लागि उनलाई ‘बधाइ’ दिनु पर्दछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.