क्रिकेटखेल

आइसिसी विश्वकप लिग-२ : नेपालद्वारा नेदरल्यान्ड्स १६ रनले पराजित

आइसिसी क्रिकेट विश्वकप लिग-२, त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालले नेदरल्यान्ड्सलाई लगातार दुई खेलमा हराएको हो ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो ।

नेपालको जितमा नन्दन यादव र सन्दीप यादवले तीन-तीन विकेट लिए । ललित राजवंशीले दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एक/एक विकेट हात पारे ।

नेदरल्यान्ड्सका लागि वास्ली बारेसीले सर्वाधिक ३६ रन बनाए भने स्कट एडवार्डले ३० र केले केलिनले २५ रन बनाए । उसका लागि ओपनर मिचेल लेभिटले २७ रन बनाउँदा नोहा क्रोएसले २२ र तेजा निदामानुरुले १७ र रोएलोफ भान डेर मेरवेले १६ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३६ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले ८५ बलमा सात चौका र दुई छक्काको मद्दतमा ८४ रन बनाए ।

यसैगरी भीम सार्की र कप्तान रोहितकुमार पौडेलले समान ३५/३५ रन बनाए । यस्तै, कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११/११ तथा नन्दन यादवले १० रन बनाए । सन्दीप लामिछाने दुई रन जोड्दै आउट भए ।

नेदरल्यान्ड्सका लागि पउल भान मिकेरनले चार विकेट लिँदा माइकल लेभिटले तीन तथा आर्यन दत्तले एक विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.