जन सरोकार

एसइई प्रमाणपत्र पाउन विद्यालयको मूल्यांकनका साथै अरु कार्यविधि बन्दै

कोरोना भाइरस संक्रमणका कारण गत चैत्रको पहिलो साता नै सुरु हुनुपर्ने यस वर्षको एसइई परीक्षा एकदिन अघि आएर स्थगित भएपछि लाखौं विद्यार्थीहरुको भविष्य अन्योलमा परिरहेका बेला सरकारले सो परीक्षामा सामेल हुने सबैलाई उत्तीर्णको प्रमाणपत्र दिने निर्णय गरेपछि यसको कार्यविधि र प्रक्रियाका विषयमा फरक फरक टिप्पणी आएको छ ।

सरकारले बुधबार राति शिक्षा मन्त्रालयको प्रस्तावमा यो वर्षका लागि माध्यमिक शिक्षा परीक्षा एसइई खारेज गरी विद्यालयको मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र दिने निर्णय गरेसंगै विद्यालयहरु यसैको तयारीमा छन् भने आम अभिभावक तथा विद्यार्थीहरुमा खुसी पनि छाएको छ । तर, के विद्यालयले गरेको सिफारिशकै आधारमा मात्रै विद्यार्थीले प्रमाणपत्र पाउँछन् त ? अहिले चर्चामा रहेको विषय यही हो र सबैले बुझेको पनि यही हो ।

वास्तवमा सरकारले भनेको पनि यही हो । सरकारले प्रष्ट भनेको छ– विद्यालयद्वारा गरिएको अन्तिम मूल्यांकनका आधारमा विद्यार्थीले नम्बर पाउँछ । त्यो अन्तिम मूल्यांकन विद्यालयले गरेको आन्तरिक परीक्षाका साथै अरू के–के आधार हुन सक्छन् भन्ने समेट्न कार्यविधि बनाउनै बाँकी छ । तर अहिलेसम्मको बुझाईमा बोर्डले विद्यालयले पठाएको विद्यार्थीको आन्तरिक मूल्यांकनकै आधारमा सर्टिफिकेट जारी गर्छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माका अनुसार राष्ट्रिय परीक्षा बोर्डले बनाउने कार्यविधि अनुसार विद्यार्थीको एसइई परीक्षाफल तयार गर्ने, भेरिफाइ गर्ने र प्रकाशन गरिनेछ । कार्यविधि बनाउन केही समय लाग्ने र एसइईबारे सबै काम अब परीक्षा बोर्डले कार्यविधि बनाएअनुसार हुन्छ ।

सरकारले यस वर्षको परीक्षा खारेज गरेपछि अब विद्यालयले गरेको अन्तिम मूल्यांकन नै सम्बन्धित विद्यालयले जिल्ला हुँदै केन्द्रमा पठाउनुपर्नेछ । विद्यालयद्वारा गरेको अन्तिम मूल्यांकन सम्बन्धित विद्यालयले सम्बन्धित जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने र एकाइले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्छ । जिल्लाबाट प्राप्त विद्यार्थीको विवरणका आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल तयार गर्नेछ ।

प्राप्त विवरणको आधारमा परीक्षाफल तयार गर्ने, प्रमाणीकरण गर्ने र जारी गर्ने काम परीक्षा बोर्डको भएकाले बोर्डले यसबारे आवश्यक पर्ने कार्यविधि बनाउन सक्ने अधिकार सरकारले दिएको छ। बोर्डले एसइई नगर्ने निर्णय राजपत्रमा प्रकाशित गर्ने तथा यससँग आवश्यक पर्ने कार्यविधि बनाउन सक्छ ।

चैत्र १० गतेबाट सुरु हुनुपर्ने यस वर्षको एसइईमा चार लाख ७५ हजार ३ जना परीक्षार्थी सहभागी हुँदै थिए । जसमा दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.