गण्डकी

जनआन्दोलनका घाइते र बेपत्ताजनका परिवारको निःशुल्क स्वास्थ्य बीमा

बागलुङ जिल्लाका जनआन्दोलनका घाइते, बेपत्ताजन, द्वन्द्व प्रभावित, ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्ति र नियमित डायलासिस गर्नुपर्ने बिरामीका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरिएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत जिल्लाका लक्षित समूहमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्य बीमा बोर्डका जिल्ला संयोजक दिनेश जिसीका अनुसार हालसम्म १३३ परिवारको स्वास्थ्य बीमा गरिएको छ ।

जसमा ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्तिका ११२, डायलासिस गर्नुपर्ने र्मिगौलाका बिरामीका आठ, जनआन्दोलनका घाइते पाँच, द्वन्द्व प्रभावित चार र बेपत्ताजनका चार परिवार छन् । ती परिवारले यही जेठ १ गतेदेखि स्वास्थ्य जाँच र उपचारमा बीमाको सुविधा पाउन थालेको संयोजक जिसीले बताउनुभयो ।

“तोकिएका क्षेत्रका व्यक्ति बीमाको प्रक्रियामा आइरहनुभएको छ, अब दर्ता हुन आउनेको आउँदो भदौ १ गतेदेखि बीमा लागू हुन्छ,” उहाँले भन्नुभयो, “वडा तहमा खटिनुभएका दर्ता सहयोगीमार्फत ती परिवारको बीमा दर्ता हुन्छ, त्यसबापत कुनै शुल्क लाग्दैन ।”

अरू सर्वसाधारणले भने पाँच जनासम्मको परिवारका लागि वार्षिक रु तीन हजार ५०० बीमा बोर्डलाई बुझाउनुपर्छ । त्यसबाट रु एक लाखसम्मको उपचार सेवा लिन पाइन्छ । संयोजक जिसीले ‘ख’ वर्गको अपाङ्गता भएका, द्वन्द्व प्रभावितलगायतका व्यक्ति अझै छुटेकाले उनीहरुलाई बीमाको प्रक्रियामा ल्याउन पहल भइरहेको बताउनुभयो ।

अपाङ्गता परिचयपत्र, डायलासिस गर्नुपर्ने बिरामीको अस्पताल रिपोर्ट, द्वन्द्वप्रभावित, जनआन्दोलनका घाइतेको परिचयपत्र नभए जिल्ला प्रशासन कार्यालयको सिफारिसका आधारमा बीमा दर्ता गरिने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार सङ्घ सरकारमार्फत पनि अति विपन्न परिवार, ज्येष्ठ नागरिक लगायतको निःशुल्क स्वास्थ्य बीमा हुँदै आएको छ । गण्डकी प्रदेश सरकारले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई आउँदो आवमा पनि निरन्तरता दिने जनाएको छ ।

केही दिनअघि सार्वजनिक नीति तथा कार्यक्रममा पनि सो विषय उल्लेख छ । बागलुङमा विसं २०७३ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको थियो । स्वास्थ्य बीमाले स्वास्थ्य जाँच तथा उपचारमा सर्वसाधारणलाई लाभ मिलेको छ । जिल्लाको ३५ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बीमामा जोडिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.