कोशीप्रदेश

प्रदेश नं १ मा कोरोना संक्रमण : संक्रमितहरु समाजमा अपहेलित

प्रदेश नं १ मा कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित जिल्ला झापा बनेको छ । भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापाको पनि कचनकवल गाउँपालिकामा कोरोना सङ्क्रमित धेरै फेला परेका छन् ।

रोजगारीका लागि भारत पुगेका नेपाली युवा स्थलमार्ग भएर घर फर्कन थालेसँगै कचनकवल गाउँपालिकामा धेरै सङ्क्रमित फेला परेका हुन् । यो गाउँपालिकामा मात्र हालसम्म १२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लामा सङ्क्रमित हुनेको सङ्ख्या १७४ रहेको छ । पन्ध्र वटा स्थानीय तह रहेको झापामा १४ वटा स्थानीय तहमा दुई महिलासहित सङ्क्रमितको सङ्ख्या १७४ पुगेको हो । उमेर समूहका आधारमा हेर्ने हो भने १५ देखि ६७ वर्षसम्मका मानिसमा यो रोगको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंका अनुसार सङ्क्रमितमध्ये ९५ जना उपचारपछि स्वास्थ्यलाभ गरेर घर फर्किएका छन् ।

प्रदेश नं १ मा झापापछि कोरोना सङ्क्रमितको सङ्ख्या सुनसरीमा बढी छ । सुनसरीमा ५६ जना कोरोना सङ्क्रमितका फेला परेका छन् । प्रदेश नं १ मा हालसम्म ३४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक सय ६६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । तर पनि भारतबाट नेपाल फर्कने युवाको सङ्ख्या झन बढेकाले झापासहित पूर्वका जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको देखिएको छ ।

प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेका प्रमुख स्वकीय सचिव तिलक बस्नेतका अनुसार प्रदेश नं १ मा कोरोना परीक्षणका लागि तीनवटा मात्रै ल्याब छन् । कोशी अस्पताल विराटनगर, प्रदेश जनस्वास्थ्य ल्याब विराटनगर र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको ल्याबमा पूर्वका १४ जिल्लामा सङ्कलित स्वाबको परीक्षण हुने गरेको छ । हालसम्म १५ हजार ४१६ जनाको स्वाब सङ्कलन गर्दै परीक्षणका लागि पठाइए पनि १५ हजार २४७ जनाको मात्र रिपोर्ट आएको छ ।

कुन जिल्लामा कति सङ्क्रमित

प्रदेश नं १ का ११ जिल्लामा कोरोना सङ्क्रमण देखिएको र त्यसमा सबैभन्दा बढी झापा र त्यसपछि सुनसरी, उदयपुर र मोरङमा छन् । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार झापामा १७४, सुनसरीमा ५६, उदयपुरमा ४३, मोरङमा ४६, धनकुटामा आठ, भोजपुरमा ६, खोटाङमा चार, सङ्खुवासभा, तेह्रथुम र इलाममा दुई÷दुई तथा सोलुखुम्बुमा एकजना कोरोना सङ्क्रमित फेला परेका छन् । सङ्क्रमितमध्ये २१ जना महिला छन् । दश महिला उपचारपछि घर फर्किए भने अझै ११ जना महिला उपचाररत् छन् ।

त्यस्तै ६८३ जना अहिले पनि प्रदेश नं १ मा कोरोनाको उपचारका लागि तयार गरिएको आइसोलेशनमा रहेका छन् भने कोरोना पोजेटिभ देखिएर उपचारमा रहेकाको सङ्ख्या १७६ जना रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रदेश नं १ मा चार हजार ३८५ जना अहिले पनि क्वारेन्टिनमा रहेका छन् भने होम क्वारेन्टिनमा बस्नेको सङ्ख्या १४ हजार ८८० जना रहेको छ ।

सङ्क्रमितलाई समाजमा अपहेलना

सुनसरीको धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा कोरोनाको उपचारपछि घर फर्किनुभएका बिर्तामोड–२ सोमबारेका दिलीप दर्जीलाई गाउँलेले शुक्रबार घर जान दिएनन् । दर्जी उपचारपछि सोमबारेस्थित साइँली भाउजूको घरमा जाँदै गर्दा भाउजूको घरमा पस्न गाउँलेले रोक लगाएका थिए ।

अस्पतालबाट डिस्चार्जपछि घर फर्कनुपूर्व दर्जीले भाउजूलाई आफू घर आउने कुरा जानकारी गराउनुभएको थियो । भाउजूले पनि उहाँलाई घरमा आउनु भन्नुभयो । भाउजूको अनुमति पाए पनि दिलीपले घर भने जान पाउनुभएन । अस्पतालबाट डिस्चार्जपछि घर आउँदै गर्दा दिलीपलाई भाउजूले फेरि फोन गरेर घर नआउन भनेपछि दिलीप गत शुक्रबार बाटैमा अलपत्र पर्नुभयो । गाउँलेले भाउजूलाई कोरोनाको बिरामी घर नभित्र्याउन भन्दै धम्की दिएपछि दिलीप पाँच घण्टासम्म चारपानेस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको मैदानमा बस्नुभयो ।

शुक्रबार राति बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्र सङ्ग्रौलासहितका जनप्रतिनिधिले थाहा पाएर प्रहरीसहित दिलीपलाई घर पु¥याउनुभएको थियो । शुक्रबार रति १० बजे मात्रै घर पुग्नुभएका दिलीप र उहाँकी भाउजूको परिवारलाई अहिले पनि गाउँमा हिँडडुल गर्न रोक लगाएको बताइन्छ । दिलीपलाई राति वडाध्यक्षसहित प्रहरीले घर पु¥याए पनि गाउँलेले केही समय विरोध जनाएका थिए । कोरोना उपचारपछि निको हुने रोग भएको भन्दै वडाध्यक्ष सङ्ग्रौलासहितका जनप्रतिनिधिले गाउँलेलाई सम्झाए पनि दर्जीको परिवार अहिले पनि समाजमा उपेक्षित भई बसेका छन् । गत जेठ १३ गते भारतबाट घर फर्किएका दर्जीलाई २० गते कोरोना सङ्क्रमण देखिएपछि उपचारका लागि धरान लगिएको थियो ।

बिर्तामोड–२ का दर्जी समाजका एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँको जस्तै पीडा छ बाह्रदशी गाउँपालिका–४ का सङ्क्रमित मजाहिर आलमको पनि । उहाँलाई पनि कोरोना सङ्क्रमण देखिएपछि विराटगरमा लगेर उपचार गरिएको थियो । उपचारपछि घर फर्किए पनि आलमको घरमा अहिलेसम्म छरछिमेक र साथीभाइ नआउने गरेको उहाँ दुखेसो गर्नुहुन्छ ।

सङ्क्रमित भन्छन् – आत्तिनु पर्दैन

कोरोना सङ्क्रमण देखिएर उपचारपछि घर फर्किएकाहरूले कोरोनाको सङ्क्रमण हुनेबित्तिकै आत्तिनु नपर्ने बताएका छन् । उनीहरूले बेलैमा सजकता अपनाउँदै उपचार गरेको खण्डमा कोरोनालाई पराजित गर्न सहजै सकिने बताएका छन् ।

बाह्रदशी गाउँपालिका–४ चकचकीका मजाहिर आलमले आफूलाई कोरोना सङ्क्रमण पुष्टि हुँदा समेत कुनै लक्षण नदेखिएको र १४ दिनसम्म आइसोलेशनमा बस्दा पनि आफूलाई कुनै प्रकारको समस्या नआएको बताउनुभयो । आफूसँग अस्पतालमा बसेका साथीहरूमा समेत त्यस्तो कुनै समस्या नदेखिएको भन्दै कोरोना लाग्नेबित्तिकै आत्तिन नहुने उहाँले बताउनुभयो ।

उहाँले पोषणयुक्त खानेकुरा खान र स्वास्थ्यको राम्रो हेरचाह गर्नसमेत सल्लाह दिनुभयो । विदेशमा जस्तो नेपालमा भयावह स्थिति नरहेको उहाँले बताउनुभयो । आलमले भन्नुभयो, “मनोबल उच्च राख्ने, खानपिनमा ध्यानदिने र आफ्नो स्वास्थ्यको ख्याल आफैँले राम्रोसँग गरेमा कोरोनालाई हामीले सहजै परास्त गर्न सक्छौँ ।” सामाजिक दूरी कायम गर्दै हिँडडुल गर्न र सतर्कता अपनाउन भने उहाँको सुझाव छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.