जन सरोकार

आजबाट कार्यालय सञ्चालन- दुई सिफ्टमा सेवा, सबै किसिमका सवारी साधनमा जोरबिरोज

झण्डै तीन महिनादेखि जारी लकडाउन असार १ गते सोमबारबाट धेरै खुकुलो भएको छ । आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन हुने छन् भने सवारी साधनमा पास नभएकाहरुको हकमा जोर बिजोर प्रणाली लागू गरिएको छ ।

मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार सोमबारबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् ।

बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोभिड–१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सहकारी, बीमा सेवा आजबाट सञ्चालन गर्ने निर्णय गरेको हो । यसरी सञ्चालन हुनेमा शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयसमेत छन् । यी सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने छ ।

यस्तै सार्वजनिक तथा जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनसमेत आजबाट सञ्चालन हुन पाउने छ । उक्त सवारीमा एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्ने छ । यात्रुले अनिवार्य रुपमा मास्क र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने तथा सवारीलाई दैनिक निसङ्क्रमित गर्नुपर्ने छ । उक्त सवारीमा आफ्नो कार्यालयमा काम गर्ने मजदूर तथा कर्मचारी मात्रै राख्नुपर्ने छ ।

बन्दाबन्दीलाई खुकुलो बनाए पनि तत्कालका लागि मानिसको बढी भीडभाड हुने र सहभागिता बढी हुने पठनपाठन, अनुमति प्राप्तबाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएकाबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन, सबै प्रकारका तालीम, सेमिनार, सभा, गोष्ठी र भेला, सिनेमा हल, पार्टी प्यालेस डान्सबारलगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, शैलुन, तथा ब्युटीपार्लर, स्वीमिङपुल, सपिङ मल, समूहमा खेलिने खेलकूद र खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल यात्रुबाहक सवारीसाधन भने सञ्चालन हुने छैनन् ।

त्यस्तै अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने भएको छ । सरकारको निर्णयमा साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भनेपछि जोरबिजोर लागू नहुने हो कि भन्ने बुझाइ देखिएको थियो । तर, ट्राफिक प्रहरीलाई जोर–विजोर लागू गर्न भन्दै परिपत्र भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.