बिचार

“खै त मलाई झम्के बुलाकी” ! देउवा दाहालले देलान् ??

पप गायिका आस्था राउतको एउटा निकै चर्चित गीत छ “पोहोर पनि ढाँट्यौ आमा यसपालि नि ढाँट्यौ, खै त मलाई झम्के बुलाकी ?” नेपालको राजनीति यस्तै छ दिन्छु दिन्छु भन्ने दिंदै नदिने अनि पाउनकै लागि अरुसंग मिल्ने । सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता र दोस्रो पुस्ताका नेताहरुलाई झम्के बुलाकी दिउँला दिउँला भन्दै अध्यक्ष केपी ओलीले नदिएपछि झम्के बुलाकी नदिने आमालाई घरबाटै निकाल्न खोजे जस्तै गरे ।

यसअघि एमाले र माओवादीबीचको एकतापछि पार्टी अध्यक्ष बनेर साँढे दुइ वर्षपछि दुई तिहाई बहुमतको सरकारको नेतृत्व गर्ने सम्झौता गरेका प्रचण्डले पनि झम्के बुलाकी नपाएपछि बुलाकी दिन्छु भन्नेसंगै घरै भत्काउन कस्सिए । उनलाई साथ दिए माधव नेपाल, झलनाथ खनालहरुले ।

अहिले झम्के बुलाकीको त कुरै छोडौं नाकको फूली पनि जोगाउन नसक्ने अवस्थामा पुगेको छ राजनीति । विपक्षी हुन् वा पक्षी सबै आफ्नो अस्तित्व रक्षाको संघर्षमा छन् । सत्ता र शक्ति हुनेहरुको तुलनामा सडकमा हामी यहाँ छौं भन्नेहरु बढी चिन्तित छन् । नेपाली कांग्रेसलाई खुदो परेको छ । खान्न खान्न भन्दा पनि प्रधानमन्त्रीको पद किस्तीमा टक्र्याउन ल्याएका छन् । अब अदालतले जे गर्ला ?

नेताहरुमा यति धेरै मपाइत्व र अहंकार छ कि उनहिरु आफूले सधैं सही मात्र गरेको र अरुले गलत मात्रै गरेकाले पद, शक्ति आफूलाई नै चाहिने दावी गर्दैआएका छन् । यसरी दावी गर्नेहरु पटकपटक सत्ता र शक्तिमा पुगिसकेका छन् र उनीहरुले आफूले के गरे चाहिं औंलामा भाँचेर पनि भन्न सक्दैनन् ।

सत्ता नपाउँदा बिरोध गर्ने, जनताका कुरा गर्ने, देशभक्तिको नारा घन्काउने तर सत्ता पाएपछि त्यो केही पनि नगर्ने । नेताहरुले नजानेको, नबुझेको र नदेखेको केही पनि छैन । समाजलाई अनुशासित, मर्यादित बनाउन, भ्रष्टाचार गर्नु हुँदैन, कानुन मान्नुपर्छ, अरुलाई सहयोग गर्नुपर्छ, नैतिकवान हुनुपर्छ भन्दै अर्ती उपदेश दिन्छन । तर यी सबै कुराहरु नेताहरुले कहिल्यै पालना गर्दैैनन् । उनीहरु आफूले नैतिकता पनि प्रदर्शन गर्न नपर्ने, सुशासनमा रहन नपर्ने, भ्रष्टाचार जति गरे पनि हुने !

आफ्नो स्वार्थपूर्तिका लागि जे पनि गर्न तयार हुने, अरुलाई जस्तोसुकै तल्लो स्तरबाट गाली गर्न, आरोप लगाउन र राष्ट्रघातीसम्म भन्न भ्याउने तर आफूले के के गरें र कति घात गरे भन्ने बिर्सने, सोझा जनतालाई भ्रममा पारेर राजनीतिको दोकान चलाउनेहरुको माखेसाङ्लोमा देश परेका कारण आज दुर्दिन हरक्षण बढिरहेको छ ।

संविधानका विषयमा नेताहरु आफं ज्ञाता, कानुनका छिद्रहरु खोतल्न पनि खप्पिस तर त्यो देश र जनताको हितका लागि नभएर आफ्ना लागि मात्रै । केवल सत्ता प्राप्ति र शक्तिको भोक मेटाउन नेताहरुको विद्वता प्रदर्शन भैरहेको छ । उनीहरुमा राष्ट्रपति कत्ति पनि जिम्मेवारीबोध छैन । कोरोना महामारीका बेला सत्ताको लुछाचुँडी यति बढ्यो कि केन्द्रदेखि प्रदेशसम्मै अस्थिरताको भण्डार छ । राजनीतिक स्थिरता र एकता कायम गरी देशलाई महामारीबाट बचाउने, आर्थिक–सामाजिक अवस्था सुदृढ गर्न एक ढिक्का भएर लाग्नुपर्नेहरु आपसी शक्ति संघर्षमा रुल्मुलिएर देशको समय, स्रोत सबै खेर फालिरहेका छन् ।

राजनीति यति दूुषित, असहिष्णु र अराजक भयो कि हुँदाहुँदा संसदमा प्रधानमन्त्रीको हत्या गर्न तयार छु भन्ने अभिव्यक्ति समेत आयो । वाग्मती प्रदेशका नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले गत शुक्रबारको अधिवेशनमा “प्रधानमन्त्री केपी ओलीले देशश खत्तम पारेकाले उनको हत्या गर्न गोड्से” तयार पार्नुपने र नभए आफैं तयार हुने” भन्दै अराजक अभिव्यक्ति दिएपछि यसले अर्को तरंग ल्यायो । लोकतान्त्रिक मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको नाममा मुलुकको प्रधानमन्त्रीको हत्या गर्नुपर्ने अभिव्यक्ति दिनु हदैसम्मको असहिष्णु राजनीति हो ।

वैद्यको यो अभिव्यक्तिले कांगेस नै झस्कियो । महात्मा गान्धीको हत्या गर्ने नथुराम गोड्ने बन्न आफू तयार रहेको बताउने उनले ओली गान्धी बनेको स्वीकारेका हुन् ? उनको अभिव्यक्तिपछि कांगेसले तत्काल माफीमागेर अभिव्यक्ति फिर्ता लिन निर्देशन दियो भने नेकपा एमालेले फौजदारी अभियोग लाग्नसक्ने चेतावनी दियो । अन्ततः शनिबार प्रदेशसभामै वैद्यले आफूले आवेशमा आएर बोलेको भन्दै अभिव्यक्ति फिर्ता लिंदै संसदको रेकर्डबाट हटाउन माग गरे ।

राजनीति गर्नेहरु, अझ सत्तामा पुगेका र पुग्ने अवस्थामा रहेका नेताहरुमा नैतिकता, इमान, सदाचार भए मात्रै त्यो राजनीति मुलुकका लागि सफल हुन्छ । तर यहाँ त नेताको सत्तारोहण नै राजनीतिको सफलता मानिने गरिएको छ । २०७४ सालको आम निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको घोषणासहित चुनावी गठबन्धन गरेर मैदानमा उत्रिएपछि झण्डै दुई तिहाई मत पाए । प्रगतिशील नेपाली जनताले वामपन्थीहरुको स्पष्ट बहुमतको सरकार भए देशको आर्थिक–सामाजिक रुपान्तरण हुने र स्थिरता कायम भएर देशले विकासको गतिमा फड्को मार्ने अपेक्षा गरेका थिए । तर सरकार गठन भएको ६ महिनादेखि नै सत्तारुढ दलभित्रैको किचलोले अहिलेको अवस्थासम्म आइपुगेको छ ।

माओवादी र एमालेको एकता भंग भएर दुई पार्टी बनेको छ भने एमालेभित्रै माधवकुमार नेपाल समूह विपक्षी गठबन्धनमा सामेल भएर आफ्नै पार्टीको सरकार ढाल्न क्रियाशील छ । के यो नैतिकताले दिने विषय हो ? आफ्नै पार्टीको सरकार ढालेर विपक्षीको सरकार बनाउन हस्ताक्षर गर्नेहरुले नैतिकताको पाठ सिकाउन मिल्छ ? घरभित्रको झगडा छिमेकसम्म पु¥याएर जगहँसाई गर्नु कुन हदसम्मको विद्वतापूर्ण कार्य हो ? तत्कालीन (नेकपा) झण्डै दुई तिहाई बहुमत बोकेर सरकारको नेतृत्वमा पुगेको अवस्थामा सो दललाई इतिहास निर्माण गर्ने अवसर थियो । तर पार्टीका टाउके नेताहरुको स्वार्थले सबै भताभुंग भयो । एक पक्षले अर्कोलाई दोष दिएर चोखिने प्रयास गरे पनि दोषमुक्त कोही पनि छैन ।

अहिले राजनीतिक परिस्थिति जटिल छ, विपक्षी गठबन्धन एकातिर र सत्तापक्ष अर्कोतिर छ । मुलुकको यो गम्भीर अवस्थामा ध्रुवीकृत भएर सत्ताको हानथापमा रहेका राजनीतिक दलका नेताहरुले जसरी एकले अर्कोलाई सिकाउने गरिरहेका छन्, त्यो आफैंले पालना गरिदिए कति जाति हुन्थ्यो ।!

फेरि माथिकै प्रसंगमा जाऔं- आफ्नै पार्टीको सरकार ढालेर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइपाउँन सर्वोच्चमा रिटमा हस्ताक्षर गर्ने एमालेका माधवकुमार नेपाल एण्ड कम्पनीले अब देउवा र प्रचण्डबाट झम्के बुलाकी लगाउन पाउँछन् होला कि भएको नत्थी पनि खोसिएला ? त्यो समयले नै देखाउनेछ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button