अर्थ

कामपाको नीति कोभिड–१९ प्रभावित करदातालाई विशेष छुट

विशिष्टीकृत सेवासहितको सुविधा सम्पन्न १०० शय्याको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने

काठमाडौँ महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । आव २०७८/७९को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा नगर प्रमुख विद्यासुन्दर शाक्यले कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने जनाउनुभएको हो ।

“यसका लागि बहालमा बस्ने व्यक्तिको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीलाई घरबहाल रकममा १० प्रतिशत वा रु २५ हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइनेछ, यस कार्यका लागि निजी क्षेत्रसमेत परिचालन गरिनेछ” ।

नीतिमा भनिएको छ, “कामपालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइनेछ, कोभिड–१९ महामारीबाट प्रभावित करदाता तथा सार्वजनिक– निजी साझेदारीअन्तर्गत सञ्चालित कार्यक्रमलाई छुट÷सहुलियत दिइनेछ ।”

कोभिड–१९ बाट प्रभावित व्यवसाय (होटल, पर्यटनलगायत क्षेत्र)लाई उल्लेख्य छुट दिने नीतिमा उल्लेख छ । शहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायसँगको सहकार्यमा कामपा क्षेत्रमा अस्थायीरूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै विशिष्टीकृत सेवासहितको सुविधा सम्पन्न १०० शय्याको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने भएको छ । नगर प्रमुख शाक्यले ज्येष्ठ नागरिकको उपचार गर्न विशिष्टीकृत सेवासहितको सुविधासम्पन्न १०० शय्याको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने उल्लेख गर्नुभएको छ ।

प्रमुख शाक्यले आज नवौँ नगरसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नीति तथा कार्यक्रममा महानगरपालिकाले कोभिड–१९ लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रममा कोभिड–१९ बाट प्रभावित महानगरवासीका लागि आवश्यकताका आधारमा प्रतिकार्य, स्वास्थ्योपचार र मानवीय सहायताका लागि सहयोग गरिने पनि उल्लेख छ ।

कोभिड–१९ बाट सङ्क्रमित भएका बिरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारका लागि कल सेन्टर सञ्चालन, मनोसामाजिक परामर्श, टेलिमेडिसिन सेवा, कोभिड परीक्षण, एम्बुलेन्स सेवा, आइसोलेशन सेवा, कोभिड विशेष अस्पताल सेवा र अक्सिजन सपोर्टलगायतका सेवा निःशुल्क उपलब्ध गराइने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

त्यस्तै वडा कार्यालयमा सञ्चालित शहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नति गरी महानगरवासीलाई आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूत गरिनेछ । विशेषज्ञ चिकित्सकद्वारा नगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाइनेछ । “नेपाल एम्बुलेन्स सेवाले प्रदान गर्दै आएको सेवाको प्रभावकारिता अध्ययन गरी एम्बुलेन्स सेवालाई निःशुल्क, सरल र पहुँचयोग्य बनाइनेछ”, नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरवासीका लागि बीमा शुल्कको ५० प्रतिशत अनुदान उपलब्ध गराउने पनि कामपाले नीति लिएको छ । कामपा क्षेत्रभित्र रहेका होटल, रेष्टुरेन्ट, खाजाघर, अनलाइन खाद्य वितरकको उत्पादन स्थल, खाद्य उत्पादन गुणस्तर, पद्धति, प्रक्रिया, संलग्न जनशक्तिको सरसफाइ र सेवाग्राहीले खाना तथा खाजा उपभोग गर्ने स्थलसमेतको समग्र मूल्याङ्कन गरी त्यस्ता सेवा प्रदायकको सेवाको गुणस्तर सुनिश्चित गर्न सूचीकृत एवं वर्गीकरण गरी महानगरपालिकाले प्रमाणपत्र जारी गर्ने नीति तथा कार्यक्रममा भनिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.