बिचार

बेसमयमै बाढी पहिरोको ताण्डव

विकास र समृद्धिको नाममा नदी अतिक्रमण र वन विनाश नै प्रमुख कारण

यस वर्षको मनसुनले सुरुवातमै ताण्डव मच्चायो । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका लगभग ध्वस्त भयो- बजार बगर बन्यो । दुई दर्जन वेपत्ता छन् । देशका अन्य क्षेत्रमा समेत गरेर दुई दर्जनभन्दा बढीको मृत्यु भयो भने कैयौं वेपत्ता छन् । किन मनसुनको सुरुवातमै यस्तो डरलाग्दो अवस्था आयो त ? यसका विविध कारणहरु छन् ।

बाढी, पहिरो र डुबानको पहिलो कारण अव्यवस्थित विकास हो । राजनीति गर्नेहरुले भोट सुरक्षित गर्ने हिसाबले विकासका आयोजना सुरु गर्दा यो समस्या उत्पन्न भएको हो । विना अध्ययन हचुवाका भरमा पहाडमा डोचर र स्काभेटर चलाउँदा यस्तो हुनु स्वाभाविक छ ।

पहाडी क्षेत्रमा अव्यवस्थित निर्माणले धरातल कमजोर पारेको छ भने तराईमा चुरेको विनाशसंगै भारतले बनाएका बाँधहरुका कारण बाढी र डुबानको क्रम बढ्दो छ । अहिले सानोतिनो वर्षाद् र बाढी आउँदा पनि धेरै पहाड भत्किने, तलका गाउँ वस्ती उजाडिने गरेको छ । सनकमा सडक बनाउन पहाड भत्काउने आमप्रवृत्तिको लीला अहिले देखिएको छ ।

अर्को प्रमुख कारण हो वनविनाश र नदी किनार अतिक्रमण । सरकारले वन विनाश गरेर अनि नदी किनारमा सुकुम्बासी बस्ती बनाइरहेको छ । भीरपाखा र नदी किनारमा घर वस्ती बढाउनुको दुष्परिणामबारे जनचेतना विस्तार गर्नुपर्दथ्यो, गरेन । राज्य र सरकार संचालन गर्ने शासक, प्रशासकहरूको ध्यान त्यतातिर गएन ।

त्यसरी पहाडका भीरपाखाका घर वस्तीका वासिन्दाहरूले आफ्नै पूर्खाले चारदाम ठेकी लगाउँदै आर्जे ओगटेका घना वन वुट्यान मास्दै घर वस्ती बनाउने गर्दादेखि नै जसरी पहाडमा पहिरो जान थाल्यो । तलका खोला खहरेहरूको माध्यमबाट मलिला फाँट वगर बन्दै जाने क्रम तीव्ररूपमा अघि बढ्यो ।

त्यसमाथि मोटरबाटो निर्माणको लहर र रहरले भीरपाखाका वँचे खुचेका वन वुट्यान फाँड्ने काममात्रै भएन । नेपालको चूरे र चिउरे पहाडको निर्माण प्रकृतिले कसरी गरेको छ त्यसलाई राम्ररी अध्ययन नगरी डोजर, स्काभेटरले अन्धाधुन्ध भत्काउन थालेपछि जे जस्तो विनाश आउने संभावना थियो, अहिले त्यसैको अवश्यम्भावी परिणाम देखिएको हो । तराईको डुबान समस्याको एउटा कारण यो हो ।

अर्को कारण भारतको हेपाहा प्रवृत्ति हो । भारतले सीमावर्ती क्षेत्रमा बनाएका अवैध बाँधका कारण वर्षायाममा नेपाली भूमि डुबानमा पर्ने गरेको छ । बाँके, नवलपासीबासीहरुको हजारौं विघा जमिन बगरमा परिणत भैसकेको छ । अवैध संरचना भत्काउन भारतलाई मनाउन नसके अन्तर्राष्ट्रिय समुदाय गुहार्नुपर्ने हो तर, भारतकै आशीर्वादमा सरकारमा बस्ने पाइने भएकाले “जनता डुबे डुबुन हामले सिंहदरबार छोड्नु हुन्न” भन्ने दास मनासिकता भएकाहरुको झुण्ड रहँदासम्म देशले शान्ति र समृद्धिको सास फेर्न पाउँदैन ।

केही वर्ष अघिसम्म बाढी, पहिरो, आगलागी जस्ता विपत्तिलाई दैवी विपत्ति भनिन्थ्यो । वास्तवमा यो दैवी विपत्ति हुँदै हैन । यो मानवले नै सिर्जना गरेको विपत्ति हो । मानव विपत्तिको वीजारोपण गर्ने अनि दोष प्रकृतिलाई दिने । तसर्थ यो प्राकृतिक विपत्ति पनि हैन, विपत्तिलाई निम्तो दिने मानव नै हुन् र यो मानवीय कुकर्मको विपत्ति हो । यो विपत्ति कम गर्ने पनि मानवले नै हो ।

नेपाल प्राकृतिक हिसाबबाट विश्वका धेरै मुलुकको एकल प्रतिनिधित्व गर्दछ । जैविक विविधतामा धनी नेपालको हिमालय पर्वतमालाको संरक्षण हुन सकेन र यहाँको हिउँ अहिलेकै गतिमा पग्लन थाल्यो भने दक्षिण एसियाका लगभग सवा अर्ब मानिस पानीको संकटमा पर्ने भविष्यवाणी भैसकेको छ । यस्तो अवस्थामा पानीसंग जोडिएको खाद्यान्न उत्पादनमा आउने व्यापक कमीले यो क्षेत्र भोकमरीको शिकार हुनु पर्नेछ । बढ्दो जनसंख्या र वातावरण विनाशले एसियाका कैयौं मुलुकहरूमा चर्को खाद्य संकट गर्ने चेनावती वैज्ञानिकहरूले दिएका छन् ।

यस्तो स्थितिमा जलवायु परिवर्तनको प्रभाव कम गर्नेदेखि लिएर मानव अस्तित्व सुरक्षित राख्न समेत वातावरण जोगाउनुको विकल्प छैन । मानिसले सबै कुरा आविष्कार गरे पनि प्रकृति आविष्कार हुन सक्दैन र प्रकृतिसंग जोरी खोजेर मानिसले कहिल्यै विजय पाउँदैन । कृतिमताको रमझमले मानिसलाई धेरै समयसम्म बचाइराख्न सक्दैन ।

विपत्ति रोक्न सकिन्न तर कम गर्न सकिन्छ र विपत्तिबाट क्षति घटाउन सकिन्छ । यसका लागि विकास कार्यक्रम वा आयोजनाहरुको छनोट प्रभावकारी र वैज्ञानिक अध्ययनबाट सुरक्षित देखिए मात्र सम्भव हुन्छ । अहिले आएर भन्न थालिएको छ- यति धेरै पहिरो जाने र बाढी आउने अनुमान नै गरिएको थिएन । बाढी अनुमानले आउने हो र ? समयमै गहन अनुसन्धान र अध्ययन गरेको भए यो समस्या आउने नै थिएन । किनभने विकास कार्यक्रम वा आयोजनाहरूको सकारात्मक (सामाजिक न्याय, आर्थिक, राजनीतिक प्रभावकारिता आदिका दृष्टिबाट) र नकरात्मक लागत र प्रतिफलको दर (लाभहानीको हरहिसाव) निकाल्नु पर्दछ । तर, विगतका विकास निर्माणको अनुभवलाई उदाहरणका रुपमा लिने सोच कसैमा पनि पलाएन ।

उतिबेला जनतालाई खाद्यान्न वा रकम दिएर काममा लगाइन्थ्यो, हातैले खनेर राजमार्गहरु बने । त्यतिबेला पहिरोको जोखिम कम थियो । अहिले विना माटो, भू–वनौट र भौगर्भिक पक्षको गम्भीर अध्ययन विना यत्र तत्र मनपर्दी डोजर, स्काभेटर लगाएर बाटो निर्माण गर्ने, पहरा फोर्दा जिलेटिन वा बारूद प्रयोग गरी पट्काउने प्रतिस्पर्धा निर्धक्क र निलज्ज चरम उत्कर्षमा पुगेको छ । त्यसले नयाँ बाटोको वरपरका नदीहरूलाई पहिरो तान्न राम्रो मौका र वातावरण बनाइदिएको सावित भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.