जन सरोकार

कोरोना जितेका वडाध्यक्ष भन्छन्- 'आत्मविश्वासले यसलाई परास्त गर्न सकिन्छ'

कैलालीको गोदावरी नगरपालिका–१ का वडाध्यक्षले शर्मानन्द भट्टले कोरोनालाई पराजित गर्नुभएको छ । नगरपालिकाका प्रवक्तासमेत रहनुभएका उहाँ १५ दिनको उपचारपछि कोरोनाबाट निको हुनुभएको हो ।

उहाँले भन्नुभयो,“आत्मविश्वास बलियो बनाउँदा कोरोनालाई परास्त गर्न सकिने रहेछ । ” सङ्क्रमण देखिएपछि उहाँले नगरपालिकाले तयार गरेको आइसोलेशनमा उपचार गराउनुभएको थियो ।

उता गुल्मीमा एकजना सुत्केरी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गुल्मीदरबार गाउँपालिका तीनवटा गाउँ पूर्ण बन्द (सिल) गरिएको छ । सो गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि अन्य व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नआउँदासम्म उक्त वडाका तीनवटा गाउँ सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभएको छ । ।

सुत्केरीको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको कन्ट्याक ट्रेसिङको प्रक्रिया शुरु गर्न थालेको छ । सो गाउँपालिका–७ अन्तर्गतका रोटेपानी, उखाप र रिपाहाका बासिन्दालाई सार्वजनिक रुपमा सूचना जारी गरी अत्यावश्यक कामबाहेक कोही पनि मानिसलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसलाई समेत गाउँ प्रवेशमा रोक लगाइएको वडाध्यक्ष टोपबहादुर बस्नेतले बताउनु भएको छ । ती महिलालाई आरडिटी पोजेटिभ देखिएपछि गत साता आइतबार लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रिफर गरिएको थियो । लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब सङ्कलन गरेर भैरहवा पठाएकामा शनिबार पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो ।

सुत्केरीका श्रीमान् गत जेठ ११ गते भारतबाट घर आउनुभएको थियो । भारतबाट आएर १४ दिनसम्म क्वारेन्टिनमा बसेपछि उहाँको आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई जेठ २७ गते घर पठाइएको थियो । क्वारेन्टिनबाट घर गएको ११ दिनपछि उहाँकी श्रीमतीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले बताउनुभयो ।

जिल्लामा मध्याह्नसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ७४ पुगेको छ । ६ जना कोरोनामुक्त भएर घर फर्किएको र तीनजना भने कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.