पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको विमान पहिलोपटक अवतरण
व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज बुधबार पहिलो अन्तर्राष्ट्रिय उडानको विमान अवतरण भएको छ । चीनको सिचुआन एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको विमान पहिलोपटक अवतरण गरेको हो ।
विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार चीनको छेन्दु–तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ जहाज बिहान ९ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
उक्त जहाजबाट चीन भ्रमणमा जानुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली टोली र आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डशिप ड्रागन बोट फेस्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आएका हुन् ।
पहिलो अन्तरराष्ट्रिय उडानबाट ओर्लेका यात्रुलाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले स्वागत गर्नुभएको थियो ।
उक्त जहाजबाट पोखरा आएका चिनियाँ सरकारी अधिकारी, खेलाडी र पर्यटक सहितको टोलीको स्वागतार्थ सङ्क्षिप्त समारोह आयोजना गरिएको थियो । उक्त जहाज आजै पोखराबाट काठमाडौँ अवतरण भई नियमित उडानमार्फत छेन्दु फर्कने जनाइएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । विमानस्थल रु २२ अर्ब लगानीमा निर्माण भएको हो ।
विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान हुन लागेको हो ।
चीनको सिचुआन एयरलाइन्सको आज चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यही असार १ गते सम्झौता भएको थियो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो ।





प्रतिक्रिया राख्नुहोस्