जन सरोकार

फेरि पक्राउ परे ठूलो मात्रामा हेरोइनसहित विदेशी नागरिक

अघिल्लो साता झण्डै एक अर्ब रुपैयाँ मूल्य बराबरको हेरोइनसहित आधादर्जन विदेशी पक्राउ परेको घटना सेलाउन नपाउँदै ठूलो मात्रामा हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

समाचार अनसार लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उपत्यका तथा वरपरका क्षेत्रमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार किलो ९०० ग्राम अवैध लागुऔषध हेरोइनसहित विदेशी नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउपर्नेमा ताञ्जानियाका नागरिक ३० वर्षीय अब्दुल्लाह अबुलिकीसहित चार जना रहेका छन् । अबुलिकीको गतिविधि शङ्कास्पद देखिएपछि जाँच गर्दा सुटकेसभित्र फल्सबटम बनाई लुकाइराखेको उक्त हेरोइनसहित काठमाडौँको बौद्धस्थित होटलबाट उनलाई नियन्त्रणमा लिइएको थियो ।

उनी फ्लाई दुबईको उडानद्वारा साउथ अफ्रिका, दुबई हुँदै काठमाडौँ आएको खुलेको छ । साथै उक्त लागुऔषध लिन आएका भारत हरियाणा घर भएका ४६ वर्षीय मुनिम सिंह, सोही ठाउँका ४३ वर्षीय विक्रमजित सिंह र पर्सा ३० वर्षीय बिक्की रौनियारलाई समेत प्रहरीले पक्राउ ब्युरोले आज एक सूचना जारी गरी जनाएको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका–२७ स्थित सडक किनाराबाट १९ ग्राम अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित थप दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा झापाका अनुप बराइली भन्ने ३६ वर्षीय होमबहादुर विश्वकर्मा र काठमाडौँ कागेश्वरीका रोशन फुयाँल रहेका छन् ।

होमबहादुर बस्दै आएको काठमाडौँ महानगरपालिका–७ स्थित होटल थ्री डिको १०१ नम्बरको कोठाबाट थप ५२ ग्राम खैरो हेरोइन, ४३ ग्राम ५०० मिलीग्राम लागुऔषध एम्फेटामाइन जस्तो देखिने पदार्थ, एक थान डिजिटल तराजु, नगद रु एक लाखसमेत प्रहरीले बरामद गरेको छ । उनीहरू उपर लागुऔषध मुद्दामा म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.