राजनीति

भारतले वार्ताका लागि तत्परता देखाएन : सीमामा तारबार लगाउन जोड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेपाल भारत सीमामा तारबार लगाउनुपर्ने मत बलियोसँग प्रकट भएको छ । पछिल्लो समय भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नक्सा जारी गरिसकेपछि वार्ताका लागि भारतसंग पटकपटक आग्रह गर्दा पनि भारतले तदारुकता नदेखाएको समेत बैठकमा जानकारी दिइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा परराष्ट्रमन्त्रीसमेत रहनुभएका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले कूटनीतिक पहलद्वारा नै समस्याको समाधान गरिने उल्लेख गर्दै चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूठो, नियोजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएको र चीनसँग सीमाका सम्बन्धमा कुनै समस्या नरहेको पनि स्पष्ट गर्नुभयो ।

बैठकको सुरुमा नै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल भारत सीमा विवादको ऐतिहासिक तथ्यसहित आफ्नो धारणा राख्नुभएको थियो । नेपालले कूटनीतिक सम्वादमार्फत नै अतिक्रमित भूमि फिर्ता गर्न पहल गरिरहेको तर अहिलेसम्म भारत वार्ताका लागि सकारात्मक नदेखिएको उहाँले बताउनुभयो ।

बैठकमा नेताहरूले भने नेपाल भारत सीमा सिल गरेर तारबार लगाउनुपर्ने माग राखेका छन् । स्थायी कमिटी सदस्यहरू देव गुरुङ, लीलामणि पोखरेल, पम्फा भुसाल, अमृत बोहोरालगायतले तारबार लगाएर सीमा सिल गर्नुपर्ने बताएका थिए ।

बैठकमा १८ स्थायी कमिटीका सदस्यले आफ्नो धारणा राख्नुभएको थियो । उहाँहरुले नेपालको सीमा समस्या र समाधानका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो । आजको बैठकमा लीलामणि पोखरेल, मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शङ्कर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारायणकाजी श्रेष्ठले विचार राख्नुभएको नेकपाका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पहिलो दिन वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बैठकमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताका बाँकी काम सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० र विविध कार्यसूची छ । कार्यसूचीको विविधमा रुकुमपश्चिममा गत जेठ १० मा भएको मानवताविरोधी घटना, नागरिकतासम्बन्धी विधेयक, सङ्घीय सांसदहरूको भत्ताका विषय राखिएको छ ।

बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्यव्यस्तताका कारण आजको बैठकमा आफू उपस्थित नहुने र बैठक सुचारुरूपमा सञ्चालन गर्न भन्नुभएको जानकारी गराउनुभएको थियो । आजको बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतमा भएको थियो । स्थायी कमिटीको अर्को बैठक शनिबार बिहान ११ः०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.