विश्व समाचार

जर्ज फ्लोयडको हत्या आरोपी प्रहरीलाई साढे २२ बर्षको जेल सजाय

सन् २०२० मा अमेरिकाका एक प्रहरीले सडकमै अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको घुँडाले घाँटी थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएपछि यो घटनाले अमेरिकाभर ठूलो विरोध प्रदर्शन भयो । सोही हत्या आरोप लागेका प्रहरी अधिकृत डेरेक चौभिनलाई अदालतले साढे २२ बर्ष जेल सजाय तोकेको छ ।

२०२० मे २५ तारिखका दिन ती प्रहरी अधिकारीले फ्लोयडलाई आफ्नो घुँडाले घाँटीमा थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएको थियो । दर्दनाक भिडियोका कारण हत्याका विरुद्धमा अमेरिका भरी आन्दोलन भएको थियो ।

हत्याको विरोधमा मानवअधिकारकर्मी र अश्वेत पक्षधरहरुले अन्य देशहरुमा पनि केही दिन प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा केही व्यक्तिको मृत्यु समेत भएको थियो ।

हत्याको विवरण प्राप्त गर्नासाथ स्थानीय प्रहरीले आरोपी प्रहरीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो भने अदालतमा उनका विरुद्धमा मुद्दा दायर गरिएको थियो । घटना भएको एक बर्षभन्दा बढी समयपछि अहिले मात्रै सो मुद्दामाथि अदालतले फैसला गरेको हो ।

प्रहरी अधिकारीले पाएको अधिकारको दुरुपयोग गरेको र अति दर्दनाक तरिकाले हत्या गरेको कारणले उनलाई २२ बर्ष ६ महिना जेल सजाय तोकिएको अदालतले जनाएको छ ।

चौभिनले ४८ वर्षीय फ्लोयडलाई नौ मिनेटभन्दा बढी समय घुँडाले घाँटी थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएको थियो ।

चौभिनलाई अब जीवनभर हतियार राख्न अनुमति दिन नमिल्ने कुरा समेत फैसलामा उल्लेख गरिएको जनाइएको छ ।

अदालतको फैसलाप्रति फ्लोयडका परिवारजनले सन्तुष्टि व्यक्त गर्दै राहत महसुस गरिएको प्रतिक्रिया दिएका छन् । सुनुवाईका क्रममा फ्लोयडका भाइ टेरेन्स फ्लोयडले चौभिनलाई ४० वर्षको सजाय हुनुपर्ने माग गर्नु भएको थियो । अदालतले भने झण्डै आधा मात्रै सजाय तोकेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.