राजनीति

भारतले नेपालकै केही नेताहरु लगाएर प्रधानमन्त्रीबाट हटाउन खोजे

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खोजेको र त्यसमा नेपालका केही नेताहरु लागिपरेको आरोप लगाउनुभएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खोजेको र त्यो खेलमा नेपालका नेताहरू पनि लागेको आरोप लगाउनुभएको हो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सबैले भारतका मिडिया सुन्नु भएकै होला अनि भारतका बौद्धिक बहसहरू सुन्नु भएको होला । कसरी भारतको राज्य संयन्त्र सक्रिय भएर हप्ता १५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ भनेर कसरी भनिरहेका छन् ?

प्रधानमन्त्री ओलीले आफू अघिल्लो पटक प्रधानमन्त्री भएको बेला पनि चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेलगतै हटाइएको स्मरण गर्दै अहिले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, भारतमा नेपालका प्रधानमन्त्री हटाउने बहस चलेको छ अनि नेपालकै नेताहरू लागेका छन् । अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन । त्यतिबेला चीनतिर सम्झौता गरेर फर्किएपछि सरकार ढलेको थियो किनभने हामीसँग बहुमत थिएन । अहिले संविधान संशोधन भयो, नक्सा जारी भयो । बाहिर भन्न नसक्ने तर भित्रभित्रै यस्तो अपराध गर्ने ?

नेपालले नयाँ नक्सा प्रकाशित गरेपछि कतिपयले ‘प्वाइन्ट अफ नो रिटर्न’ अर्थात पछाडि फर्किने ठाउँ नै नभएको भनेको बताउँदै भन्नुभयो ‘प्वाइन्ट अफ नो रिटर्न नै हो । त्यहाँ प्वाइन्ट अफ रिटर्न राख्नै कुरै थिएन । हामीलाई हाम्रो भूमि चाहियो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालको राष्ट्रियता यति कमजोर छैन । नक्शा छापेका कारण सरकार परिवर्तन हुन्छ भन्ने हिजोको भ्रम अहिले पाल्नु पर्दैन । अहिले म हट्ने हो भने राष्ट्रियताका लागि यसरी बोल्न सक्ने आँट कसैले गर्दैन । म आजका लागि मात्र होइन, भोलिका लागि पनि हो । जननेता भण्डारीको विचारबाट निर्देशित हाम्रो पार्टी र संसदीय दल यति कुरा नबुझ्ने खालको छैन । हामीले कुनै भूलचुकमा नक्शा छापेका होइनौँ । हामी यसबाट पछाडि हट्दैनौँ । हाम्रो भूमि फिर्ता लिएर छाड्छौँ । विगत २०४ वर्षदेखि हाम्रो रहेको र ५८ वर्ष मिचिएको हाम्रो भूमि फिर्ता लिन गाह्रो छैन । अन्तिममा सत्यको विजय हुनेछ ।”

प्रधानमन्त्री ओलीले अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेर फर्केपछि आफ्नो बहुमत नभएकाले सरकार ढलेको तर अहिले बहुमत रहेको जनाउँदै एउटै मुलुकवेष्टित (भारतवेष्टित) रहेको पारवहनलाई दुवै छिमेकीवेष्टित बनाएर नाकाबन्दीका समयमा पनि नेपालले दृढतापूर्वक सामना गरेको स्मरण गर्नुभयो । “नेपाल दुई ढुङ्गाबीचको निरीह तरुल होइन । हाम्रो गौरवपूर्ण इतिहास भएको, गतिशील वर्तमान र महान् सम्भावना बोकेको स्वतन्त्र सार्वभौमसत्तासम्पन्न राष्ट्र हो । इतिहासमा यो कुनै राष्ट्रको अधीनस्थ थिएन ।” उहाँले भन्नुभयो, “हामी दुवै छिमेकीबाट चलायमानरुपमा पारवहन सुविधा लिन सक्छौँ । हामीले चीनसँग त्यस प्रकारको सम्झौता गरेर नेपाललाई नयाँ उचाइमा लगेका छौँ ।”

उहाँले हाल कोरोना भाइरसको अस्थायी संकट परे पनि सुन्दर नेपालले आफ्ना मुर्छित सपना ब्युँझ्याएर जनतामा आत्मविश्वास जगाइसकेकाले आफ्नाबारेमा विरोध र आलोचना गर्दा भनाइ र गराइलाई तुलना गरेर वस्तुगतरुपमा गरिदिन पनि आग्रह गर्नुभयो । “हुन त विरोधीहरुले माक्र्स र भण्डारीको पनि विरोध गर्थे । मेरो पनि गरेका छन् तर म शासन गर्न राजनीतिमा लागेको होइन । जनता र देशको सेवा गर्न लागेको हुँ । म मेरा साथीहरुलाई मलाई नजीकैबाट हेरेर ममा कुनै दाग, धब्बा र छिटाहरु भए आलोचना गरिदिन आग्रह गर्छु ।”

जबज माक्र्सवादमा आधारित गतिशील र नेपालको एक्काइसौँ शताब्दीलाई अत्याधिक प्रभावित पार्न सक्ने विचार भएको जनाउँदै प्रधानमन्त्री ओलीले जननेता भण्डारीले २०४८ सालमै संसद्मा मिचिएको कालापानीलगायत भूमि नेपालको भएको सुपष्ट विचार व्यक्त गर्नुभएको स्मरण गर्नुभयो । प्रधानमन्त्री ओलीले विचार,वक्तृत्वकला, शैली र अनेक प्रतिभाका कारण जननेता भण्डारी नेपाली राजनीतिमा एक्काइसौँ शताब्दीका नायक भएको उल्लेख गर्दै त्यही विचारका जगमा अहिले आफूहरुले सामाजिक न्यायसहितको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा अघि सारेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.