सूचना/प्रविधि

केही युट्युबका कारण नागरिकलाई थप पीडा

युट्युबलाई कि त सामाजिक सञ्जाल मात्रै हो मिडिया होइन भन्नुपर्छ, कि त अनुगमनको दायरामा ल्याउनुपर्छ

केही समय पहिले महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत प्रहरी नायब उपरीक्षक कोपिला चुडाललाई कोभिड सङ्क्रमण भएको थियो । आइसोलेसनमा रहँदा उहाँले खाली समयमा सामाजिक सञ्जाल हेर्नुभयो । युटुयुबमा सङ्क्रमितको मृत्यु भएको र पुर्नका लागि खाल्डो खनेको दृश्य देखेर आफू झसङ्ग भएको उहाँले बताउनुभयो ।

चुडाल प्रहरी अधिकृत त्यसमा पनि प्रविधिको प्रयोगबाट हुने अपराध अनुसन्धान गर्ने जिम्मेवार तहमा रहेको व्यक्ति हुनुहुन्छ । युट्युबलगायतका सामाजिक सञ्जालका सकारात्मक पक्ष हुँदाहुँदै कतिपयले त्यसको दुरुपयोग गर्दा धेरै नागरिकले अनाहकमा दुःख पाइरहेको उहाँको अनुभव छ ।

उहाँको शाखामा अहिले सबैभन्दा बढी चिठ्ठा, उपहार वा कुनै प्रोजेक्टका नाममा भइरहेको ठगीका घटना आइरहेको छ । दैनिक ५०/६० वटासम्म यस्ता घटना आइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिक आफैँ जसले जे भनेको छ, त्यो पत्याउनेभन्दा त्यसका बारेमा बुझेर मात्र व्यवहार गर्नुपर्छ ।”

सामाजिक सञ्जालले नै कहिले आत्महत्या दुरुत्साहनको कारण बनेको त कहिले महिलाको चरित्र हत्या गरेको प्रनाउ चुडालको भनाइ छ । वैदेशिक रोजगारीमा गएका श्रीमानका श्रीमतीलाई ‘श्रीमान् विदेश गएपछि श्रीमती यस्तो’ भन्दै शिर्षक हालेर चरित्र हत्या भइरहेको छ । उहाँले भन्नुभयो, “यस्ता घटना नियन्त्रणका लागि आचारसंहिता बनाएर कडाइका साथ लागू गर्न आवश्यक छ ।”

युट्युब भनेको के हो भन्ने नबुझ्ने महिला र किशोरीको दुरुपयोग गरेर ‘भ्युज’ बढाउने काम गरिरहेको सुर्खेतकी पत्रकार टीका बिष्टले बताउनुभयो । ग्रामीण क्षेत्रमा कतिपय महिलालाई एक÷दुई हजार रुपैयाँ दिएर यसो बोल भनेर लगाएको समेत घटना भइरहेका छन् ।

केही समय पहिले राउटे समुदायको महिलामाथि भएको यौन दुव्र्यवहारमा पनि ती महिलालाई सामाजिक सञ्जाल र त्यसको असरका बारेमा जानकारी नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “युट्युबलाई कि त सामाजिक सञ्जाल मात्रै हो मिडिया होइन भन्नुपर्छ, कि त अनुगमनको दायरामा ल्याउनुपर्छ ।”

महिला अधिकारका क्षेत्रमा कार्यरत संस्था उमन फाउण्डेसनकी गीता न्यौपानेले केही युट्युबले राम्रो काम गरेपनि कतिपयले सस्तो लोकप्रियताका लागि महिलालाई पीडा दिइरहको बताउनुभयो । कतिपय युट्युबले ग्रामीण क्षेत्रसम्म पुगेर धेरैका विचार र पीडा बाहिर ल्याउने काम गरिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यदि युट्युबले पीडितलाई थप पीडा दिएको अवस्थामा भने कडा कानून बनाएर कारवाही गर्नुपर्छ ।”

विराटनगरकी पत्रकार इन्दिरा भट्टराईले युट्युबले पीडितका परिवार र आफन्तलाई थप पीडा दिएको बताउनुभयो । कुनै पनि घटनाका कारण पीडामा परेका आफन्तजनलाई उनीहरु घटना कहाँ भयो, कसरी, कुन समय भन्दै केरेर थप पीडा दिइरहेको बताउनुभयो ।

चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष जीवन पराजुलीले कुनै पनि व्यक्तिले युट्युबले आफूलाई असर पु¥याएमा उजुरी गर्न सक्ने व्यवस्था रहेको बताउनुभयो । अहिले आमसञ्चार माध्यम फेसबुक र युट्युबबाट नै चलिरहेकाले यसलाई व्यवस्थित गर्नेतर्फ ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित कतिपय युट्युबले राम्रो काम गरिरहे पनि कतिपयले पीडितलाई थप पीडा दिएको बताउनुहुन्छ । युट्युबमा महिलाको फोटो र नराम्रा शिर्षक प्रयोग गरेर चरित्र हत्या भइरहेको उहाँले औँल्याउनुभयो ।

नेपाल दूरसञ्चार संस्थानका अध्यक्ष पुरुषोत्तम खनालले सञ्चार तथा सूचना प्रविधि मनत्रालयले अघि बढाएको मिडिया काउन्सिल ऐन बनेपछि युट्युबलगायत सामाजिक सञ्जाललाई नियमन र आवश्यक भएमा कारवाही गर्न सकिने बताउनुभयो । आमनागरिकमा पनि यसका बारेमा जानकारी गराउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालयदेखि नै पाठ्यपुस्तकमा यी विषय समेट्न जरुरी छ ।”

सञ्चारिका समूह र नेपाल टेलिकमले आज आयोजना गरेको ‘युट्युबमा प्रशारित विषयवस्तु र लैङ्गिकताको सवाल’ विषयको भर्चुयल छलफल कार्यक्रममा सरोकार राख्ने निकायका प्रतिनिधिहरुले युट्युबलगायतका समाजिक सञ्जालको नियमनमा जोड दिएका थिए । कार्यक्रममा प्रेस काउन्सिल नेपालकी पूर्वसदस्य सङ्गीता खड्का र पत्रकार बिष्टले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button