"चीनले नेपाली भूमि मिचेको 'सो कल्ड प्रतिवेदन' बनाउने कारखानाको खोजी तीब्र"

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कृषि मन्त्रालयको नापी शाखाको प्रतिवेदन भन्दै झूठो विवरण तयार गरी संचार माध्यममा दिने व्यक्ति वा संस्थाको खोजी भैरहेको बताउनुभएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा नेपाल चीन सीमामा कुनै समस्या नभएको बताउँदै चीनले नेपालको सीमा अतिक्रमण गरेको झूटो प्रतिवेदन बनाउने कारखानाको खोजी भइरहेको बताउनुभएको हो ।
परराष्ट्रमन्त्री ज्ञवालीले चीनले सात स्थानमा नेपाली सीमा अतिक्रमण गरेको भनेर आएको समाचारको खण्डन गर्दै गोरखाको रुई गाउँ चीनले अतिक्रमण गरेको खबरको पनि खण्डन गर्नुभयो ।
मन्त्री ज्ञवालीका अनुसार अनुसार दुई देशबीच औपचारिक सीमा निर्धारण हुनुअघि नै रुई र साना गाउँ लेकबेंसी जस्तो थियो । दुई देशले सीमा निर्धारण गरेपछि ११० घर कुरियालाई कता बस्ने भनेर रोज्न दिएको भन्दै ६० घर कुरियाले रुई र ४० घर कुरियाले यता बस्ने भनेर रोजेका हुन् जबरजस्ती भएको होइन भन्नुभयो ।
मन्त्री ज्ञवालीका अनुसार विसं २०१६ चैत ९ मा भएको सीमा सम्झौता र २०१८ असोज १९ मा भएको सीमा सन्धिअनुसार ९८ वटा बाउन्ड्री मार्कर बनेको छ । निकै विकट भएका कारण सीमा चिह्न ३७ र ३८ कोर्न सकिएको छैन ।
दुई देशबीच भएको सहमतिअनुसार नेपाल चीन सीमामा जीपीएस जडान गर्न बाँकी रहेका बेला चीनले नेपाली सीमा अतिक्रमण गरेको समाचार कसरी आए र फेक प्रतिवेदन कहाँ तयार भयो भनेर सरकारले खोजी गरिरहेको बताउनुभयो ।
मन्त्री ज्ञवालीले सो कल्ड प्रतिवेदन कुन कारखानामा तयार भयो त्यसको खोजी भैरहेको र त्यसमा संलग्नहरूलाई गम्भीरतापूर्वक कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।