बिचार

दूधेबालकको नाममा फेसबुक- भोलि पछुताउनुपर्ला

बामे नसर्दै अपराधको दलदलमा त फसाउदै छैनौं भन्ने सोच्नु आवश्यक

सामाजिक सञ्जाल फेसबुकमा पहुँच नहुनेलाई आजभोलि ‘पाखे’ वा ‘असामाजिक’को रुपमा चित्रण गरिन्छ । त्यसैले हो आजभोलि बाबुआमाहरु आफ्ना २–३ वर्षका छोराछोरीको नाममा फेसबुक आइडी खोलेर साथी बन्न अनुरोध पठाउँछन् । स्वतन्त्र रुपमा फेसबुकमा आइडी खोल्न निश्चित उमेर हुनुपर्ने भएकाले दूधे बालकको जन्ममिति समेत १८ वर्ष कटेको देखाएर खाता खोलिन्छ । उनीहरु यसलाई सम्मान र शिर उच्च भएको ठान्छन् तर यसबाट भावी दिनमा निम्तनसक्ने संकटका बारेमा सोच्दै सोच्दैनन् ।

फेसबुकको प्रयोग गर्दा ढंग पुगेन भने यसले निम्त्याउने संकटको कमैले मात्र ख्याल गर्ने गरेका छन् । अनेकथरि सामाजिक अपराध, यौन अपराध, दुव्र्यशनमा फस्ने बाटो समेत फेसबुक नै बनेको तर्फ हामीले नजरअन्दाज गर्नै मिल्दैन । महत्वपूर्ण कुरा के हो भने फेसबुक जसरी मानिसलाई सम्पर्कको सजिलो माध्यम भएको छ त्यही अनुपातमा अपराधको सञ्जाल पनि बनिरहेको छ । यसैको माध्यमबाट विभिन्न किसिमका अपराध मात्र हैनन व्यक्तिको जीवन नै समाप्त भएका छन् । यो यसको दुरुपयोगको पाटो हो ।

तसर्थ दूधे बालकको नाममा फेसबुक खोलेर प्रचार गर्नेहरुले सोच्नैपर्ने विषय के हो भने यदि बालबालिकाको एकाउण्ट ह्याक गरेर कसैले अपराध गरेमा त्यसको जिम्मेवारी कसले लिने ? भोलि उमेर र जन्मको आधिकारिकतामा फेसबुकको तथ्यांकले आधार मान्यो भने २ वर्षको बालकलाई १८ वर्षको बनाउनेहरुले कस्तो समस्याको सामना गर्लान् । त्यस्तै विस्तारै हुर्कदै गर्दा उसले फेसबुककै माध्यमबाट आपराधिक मनोवृत्तिका मानिसहरुसंग सम्पर्क गरेर अन्जानमै अपराधी बने के होला ?

यति मात्र हैन, त्यही एकाउण्टबाट कसैले गम्भीर अपराध गरेमा कानुनतः त्यो दूधेबालक फस्ने हुन्छ भने उसको खाता खोलेर गर्व गर्ने अभिभावकहरुले त्यसपछि के गर्लान् ? विश्वका १४० भन्दा बढी भाषामा संचालन गर्न सकिने फेसबुकमा प्रयोगकर्ता एक अर्बभन्दा बढी छन् । यसमा कति सही छन्, कति गलत छन्, कति सदुपयोगकर्ता छन्, कति दुरुपयोगकर्ता ! यस्तोमा दूधेबालकको अन्धाधुन्द फेसबुक खोलिदिएर बामे नसर्दै अपराधको दलदलमा त फसाउदै छैनौं भन्ने सोच्नु आवश्यक छ ।

बालबालिकाको कलिलो मस्तिष्कमा सामाजिक सञ्जाल तथा सूचना प्रविधिको सहज पहुँचकै कारण उनीहरुको प्राकृतिक जीवनशैली र क्षमतामा ह्रास आइरहेको छ । शारीरिक रुपमा मजबुत हुनका लागि दौडधूप गराउनुको साटो मोबाइलमा फेसबुक र अन्य ‘गेम’ देखाएर बाबुआमा मख्ख पर्छन् तर यसले गर्ने दीर्घकालीन नकारात्मक असरबारे सोच्दै सोच्दैनन् । छोराछोरीलाई मोबाइलमा भुलाएर आफूहरु पनि भुल्नेसम्म त ठिकै थियो अब त दूधे बालबालिकाकै नाममा फेसबुक खोलेर जन्मदै जोखिममा पारिदिएका छन् ।

सन् २००४ मा मार्क जुकरबर्गले हार्वर्ड विश्वविद्यालयमा हुँदा उनका कलेज कोठामा सँगै बस्ने जो कम्प्युटर विज्ञानका साथीहरू– एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्रयु म्याककोलमसँग मिलेर फेसबुकको स्थापना गरेका थिए । वेबसाइटले सुरूमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरू माझ मात्र सीमित रहे पनि पछि बोस्टन क्षेत्रको आइभी लिग र स्ट्यानफोर्ड विश्वविद्यालयमा पनि फैलाइएको थियो ।

कलेजका साथीहरुबीच सम्पर्क बनाउन खोलिएको फेसबुक आज विश्वकै सबैभन्दा शक्तिशाली सामाजिक सञ्जालका रुपमा स्थापित भएको छ । यसमा पहुँच नहुनेहरुलाई पहुँच हुनेहरुले “फेसबुक पनि छैन” भनेर हेयभावले हेर्न गरिन्छ भने फेसबुकको दुरुपयोगबाट वाक्कदिक्क भएकाहरु भने यसबाट टाढै रहेका छन् । फेसबुक आज जासुसी सञ्जालका रुपमा रहेको पनि चर्चा भैरहेका छ । त्यसैले कतिपय मुलुकले यसलाई प्रतिबन्धित गरेका छन् ।

फेसबुकमा खाता खोल्दा आफ्नो सम्पूर्ण विवरण भर्नुपर्ने हुँदा कसैले अनधिकृत पहुँच (ह्याक) गरेर दुरुपयोग गरिदियो भने मानिसको जीवन नै वर्वाद हुन्छ । हुन त फेसबुक चलाउन मन नलागेमा आफ्नो खाता निस्कृय पनि बनाउन सकिन्छ र त्यसपछि तत्कालका लागि फेसबुक खातामा कसैले टिप्पणी, पोस्टलाई लाइक र वालमा लेख्न सक्दैन, तर स्थायीरूपमा भने खाता मेटिदैन र पछि सक्रिय बनाएपछि सबै सूचनाहरू प्राप्त समेत गर्न सकिन्छ । यसैले फेसबुकको मुख्य विवादको कुरा यसको गोपनीयताको रहेको छ ।

फेसबुकले अभिभावकको सुपरीवेक्षणमा नाबालक र १३ वर्षभन्दा माथीकालाई खाता खोल्ने अनुमति दिएको छ । तर, त्यसो भन्दैमा खाता खोल्नुअघि हजारपटक सोच्ने कि नसोच्ने । अनि सुपरीवेक्षणमा नभएर दूधेबालकको नाममा उसलाई १८ वर्षभन्दा माथी उमेरको बनाएर फेसबुक खोलेर सावित गर्न खोजेको के ? त्यस्ता बाबुआमाले बालबालिकालाई फेसबुकमा पहुँच दिने कि नदिने भन्ने सामाजिक र मनोवैज्ञानिक रुपमा गम्भीर भएर सोच्नुपर्ने विषय हो ।

फेसबुककै कारण नाबालक यौन हिंसामा परेका घटनाहरु हामीले बिर्सनु हुँदैन । यति मात्र हैन बालबालिकाहरुले कुनै अमूक घटना, पात्र र सन्दर्भलाई उच्च महत्व दिएर त्यसैमा ध्यानकेन्द्रित गरेर आफूलाई सोही अनुसार रुपान्तरण गर्न खेजे भने त्यसको असर कस्तो होला ? कोठामा बसीबसी छोराछोरी कलिलै उमेरमा नजानी नजानी गलत बाटोमा लागे भने त्यसको दोष कसलाई ?

हालै मात्र सार्वजनिक भएको एक तथ्याक अनुसार सबैभन्दा बढी पोर्न हेर्ने बालबालिका रहेका छन् । यो विश्वकै लागि गम्भीर चुनौतिको विषय बनेको छ । सामाजिक सञ्जालहरुको दुरुपयोगबाट बढिरहेका यस्ता प्रवृत्तिहरुबाट निरुत्साहित गर्दै आफ्ना बालबालिकालाई टाढा राख्नुको साटो उनीहरुलाई यस्तै दलदलमा अप्रत्यक्ष रुपमा फसाउने कार्य किन गर्ने ? हुन त सबैमा यो लागू नहोला तर हरेकले सोच्नुपर्ने विषय त होला नि ?

सूचना प्रविधिको विकासले अहिले संचार ‘सानो गाउँ’मा परिणत भएको छ र दशकौंदेखि भेटघाट नभएका मानिसहरुबीच सम्पर्क भएको छ, यो सकारात्मक कुरा हो तर यसको प्रयोगमा अलिकति पनि होस नपुर्याउने हो भने यसबाट निम्तिनसक्ने दुर्घटनाका अनेक घटना हामीले सुनेकै छौं । जान्ने–बुझ्नेहरुको त एकाउण्ट ह्याक गरेर संकटमा पारिदिएका हुन्छन् भने दूधेबालकको एकाउण्टमा अनधिकृत प्रवेश गरेर अपराध भयो भने त्यसको जिम्मेवारी कसले लिने ? त्यो दूधेबालकले कि बाबुआमाले ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.