जन सरोकार

एकातिर पन्छायो अर्कोतिर पहिरो, हजारौं सवारी रोकिए

गैँडाकोटमा डाइभर्सन बगाउँदा पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्ड अबरुद्ध

देशका विभिन्न स्थानबाट काठमाडौं प्रवेश गर्ने महत्वपूर्ण मार्गका रुपमा रहेको नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरोका कारण यातायात अबरुद्ध भएको छ । बिहिबार रातिदेखिको वर्षापछि ठाउँ ठाउँमा पहिरो गएको छ । एक ठाउँको पहिरो पन्छाउन नपाउँदै अर्को ठाउँमा पहिरो जाँदा सयौं सवारी रोकिएका छन् ।

समाचार अनुसार सडकमा झरेक‍ो पहिरो सफा गर्दै सवारी साधन चलाउदै गरे पनि वर्षा जारी रहेकाले पहिरो झर्ने क्रम पनि जारी रहदा सडक खुला गर्न समस्या भएको छ ।

ट्राफिक प्रहरी वागमति प्रदेश कार्यलय रामनगरका प्रहरी निरीक्षक मुनेन्द्र थापा पहिरो झर्ने क्रम जारी रहेकाले यो सडकको यात्रा तत्काल सुरक्षित नहुने बताउनुभएको । आज विहान मात्रै रोकी राखेको ट्रकमै पहिरोले पुरेको छ ।

नारायणगढ मुग्लिन सडकको पाँच किलो, चार किलो, केरावारी लगायतका दर्जन भन्दा वढी स्थानमा पहिरो छ । पहिरो पन्छाउन डिभिजन सडक कार्यालयका डोजर लोडर लगाएतका उपकरणहरु परिचालन गरिए पनि माथिवाट पहिरो झर्ने क्रम जारी रहेकाले पनि पहिरो पन्छाउन समस्या छ ।

पहिरोका कारण सो सडक अवरुद्ध भएसगै अहिले राजमार्गमा दुई हजार भन्दा वढी सवारी साधन अलपत्रमा रहेको र प्रहरी निरीक्षक थापाले बताउनु भयो ।

यसै गरी पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको नारायणगढ–बुटवल खण्ड अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो ।

बिहीबार साँझ मोटरसाइकल चल्न मिल्ने गरी निर्माण गरिएको नयाँ डाइभर्सनमा ट्र्याक्टर फसेपछि राजमार्ग पुनः अवरुद्ध बनेको छ । बिहान साढे १० बजेदेखि राजमार्गको सो सडक अवरुद्ध भएको हो । गैँडाकोट–१० मा रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक वीरभद्र नाथले फसेको ट्र्याक्टर निकालेर डाइभर्सन मर्मतको काम भइरहेको जानकारी दिनुभयो ।

सुरक्षा निकायले जेसिबीको सहायताले एकतर्फी भए पनि सवारी साधन सञ्चालन गर्न मिल्ने गरी काम गरिरहेको नाथले बताउनुभयो । पूर्वपश्चिम राजमार्गको यस खण्डमा आज बिहानसम्म पनि सवारी साधन सञ्चालन हुन नसक्दा सडकमा पूर्व र पश्चिम जाने सवारी साधनको करिब चार किलोमिटर भन्दा लामो लाइन छ । राजमार्ग विस्तारका लागि साना पुल हटाएर नयाँ मोटरेबल पुल निर्माण गर्ने क्रममा सवारी साधन सञ्चालनका लागि बनाइएको डाइभर्सन बाढीले बगाएको थियो ।

गैँडाकोटको थुम्सी क्षेत्रमा निर्माण गरिएको २३ स्मृति पुलसहित विभिन्न चार स्थानको डाइभर्सन बाढीले बगाउँदा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो । लामो समयसम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा पनि सवारी साधन सञ्चालन गराउने गरी प्रभावकारी ढङ्गले काम हुन नसकेको भन्दै चालकहरुले गुनासो गरेका छन् ।

सवारी साधन व्यवस्थापनका लागि ट्राफिक प्रहरीले पूर्व जाने सवारी साधनलाई डण्डा र पश्चिम जाने सवारीसाधनलाई गैँडाकोटतर्फ नै रोकेर राखेको छ । बाढीले बगाएको डाइभर्सन पुनःनिर्माण गरेर सवारी साधन सञ्चालन गर्नका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट, सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म, नारायणगढ–बुटवल सडक विस्तार आयोजनाका कर्मचारी खटिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.