जल/वातावरण

काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा, समुदायमा फैलिएको आशंका

केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरको संख्या बढ्दै गएको छ । अन्य जिल्लाको तुलनामा संख्या न्युन देखिए पनि जुन किसिमले संक्रमित भेटिएका छन् यसबाट भने यहाँ समुदायस्तरमा संक्रमण फैलिएको आँकलन विज्ञहरुको छ ।

पछिल्लो समय परिवारमा पनि संक्रमण नभएको, विदेश पनि नगएको, विदेश गएका व्यक्तिको सम्पर्कमा पनि नपुगेको व्यक्तिमा संक्रमण देखिएको छ । भारतीय सीमा जोडिएको जिल्ला र भारतबाट आएका नेपाली बसोबास गरेको क्षेत्रमा बढी कोरोना संक्रमित फेला पर्दै आएकोमा त्यो क्रम विस्तारै उपत्यकामा सरेको तथ्याङ्कले देखाएको छ । विगतमा उपत्यकाका तीन जिल्लामा विदेशबाट आएका नेपालीमा मात्रै संक्रमण देखिँदै आएकोमा अहिले स्थानीय समुदायमा समेत देखिन थालेको हो ।

संक्रमित व्यक्तिहरुले कसरी आफूमा देखियो भनेर सङ्क्रमित व्यक्तिले पनि अनुमान लगाउन सकेका छैनन् । परिवारका अन्य सदस्यमा नदेखिँदा एक व्यक्तिमा मात्र कसरी भयो भन्ने खोज्न अहिले स्वास्थ्य मन्त्रालयको एक समूह नै लागेको छ ।

केही दिन अघि काठमाडौँकी एक गर्भवती महिला शल्यक्रिया गर्न अस्पतालमा जानुभयो । घरबाट कहीँकतै नगएकी उहाँमा कोरोना संक्रमण देखियो । आश्चर्यको कुरा के भने परिवार बाहेक कसैको सम्पर्कमा नगएकी उहाँमा कोरोना पोजेटिभ देखिनु नै उपत्यकाको समुदायमा संक्रममण पुगेको पुष्टि हुन्छ ।

कोरोना संक्रमणको विभिन्न चरणमा सबैभन्दा चुनौतिपूर्ण अवस्था समुदायमा फैलिनु हो । अहिलेसम्म अधिकांश संक्रमित भारतबाट वा विदेशबाट आएका हुने गरेकामा उपत्यकामा एक हप्तायता घरबाट बाहिर ननिस्केका स्थानीयमा संक्रमण देखिनु खतराको सूचक हो ।

उपत्यकामा देखिएको संक्रमणको अवस्थालाई लिएर सरकार गम्भीर छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भन्नुभयो, “पछिल्लो एक हप्तामा उपत्यकामा कहीँ पनि नगएको व्यक्तिमा कोरोना संक्रमण देखियो, हामी कन्ट्रयाक ट्रेसिङ गरेर यस्तो कसरी भयो भन्ने यकिन गर्दैछौँ ।”

डा गौतमले भन्नुभयो “त्यस्ता व्यक्तिमा कि कुनै अस्पतालमा जँचाउन जाँदा सर्यो कि तरकारी वा केही चिज किन्न जाँदा हुनसक्छ या त भीडभाडमा पुग्दा संक्रमण भएको हो अनुमान गर्दैछौं ।”

स्थितिमा थप सचेत र कडाई नगर्ने हो भने उपत्यका थप समस्यामा पर्ने चतावनी चिकित्सकहरुको छ । सरकारले उपत्यका प्रवेशमा कडाइ गरे पनि लुकीलुकी भित्रिने क्रम रोकिएको छैन । नाकामा अझै कडाइ आवश्यक रहेको र अहिले भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न जरुरी रहेको नेपाल चिकत्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्कीले भन्नुभयो ।

बिहीबार मात्रै उपत्यकामा ३२ जना कोरोना सङ्क्रमित फेला परे । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १७ महिला र ११ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ललितपुर र भक्तपुरका दुई/दुई जना सङ्क्रमित फेला परेका छन् । उपत्यकामा मात्रै अहिलेसम्म कूल १५६ जनामा सङ्क्रमण भइसकेको छ । जसमा ११० जना काठमाडौँ जिल्लाका मात्रै छन् । ललितपुरका १८ र भक्तपुरमा २८ व्यक्ति छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा देखिएका मध्ये ८० प्रतिशत बाहिरबाट आएका र २० प्रतिशत स्थानीय तथा कोठा भाडा बसेकाहरु छन् । चैत ११ गतेदेखि मुलुकमा बन्दाबन्दीको आदेश जारी गरिएकोमा अहिले त्यसको स्वरुप परिवर्तन गरी केही खुकुलो गरिएको छ । खुकुलो हुँदा लापरवाही गर्न नहुने जनस्वास्थ्य विज्ञको भनाइ छ ।

इटाली र स्पेनमा भएको लापरबाहीबाट हामीले पाठ सिक्नुपर्ने चिकित्सकको सुझाव छ । एक अध्ययनले अमेरिकमा राम्ररी मास्क लगाएको भए ३० हजार मानिसको ज्यान जोगाउन सकिने थियो ।

त्यसैले शत प्रतिशत मानिसले मास्क लगाउनैपर्छ डा गौतमले भन्नुभयो । उहाँका अनुसार अब क्वारेन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या घट्दै गएकाले त्यो सकिएपछि एक चरणमा सङ्क्रमण दर न्यून देखिने र त्यसपछि समुदायस्तरमा देखिन सक्छ । अहिलेदेखि नै सावधानी अपनाउन सके समुदायमा हुने नियन्त्रण गर्न कठिन हुँदैन । लापरबाही गर्दा भयाबह हुनसक्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.