राजनीति

नेकपाको विवादकाबीच चिनीया राजदूत यान्छीको सक्रियता, भारतमा हलचल

सत्तारुढ नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुबीच भएको शक्ति संघर्षका कारण पार्टी विभाजनको संघारमा पुगेका बेला नेपालका लागि चीनका राजदूत होउ यान्छीको नेकपा नेताहरुसंगको भेट बाक्लिएको छ ।

यसक्रममा नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र राजदूत यान्छीबीच मंगलबार भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा बिहान भएको भेटमा उहाँहरुबीच दुई देशबीचको आपसी हितका बारेमा छलफल भएको जनाइएको छ ।

यसअघि राजदूत यान्छीले नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपालसंग भेटवार्ता गर्नुभएको थियो । केही महिनाअघि नेकपामा भएको यस्तै विवादकाबीच राजदूत यान्छीको सक्रियता बढेको थियो र नेकपाको विवाद साम्य भएको थियो ।

पछिल्लो समय नेपालको संसदले कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्मिलित नक्सा पारित गरेपछि भारत वर्तमान सरकारप्रति निकै आक्रामक भएको र नेपाललाई चीनले उचालेको भन्दै समाचार विवरण प्रवाह गरिरहेका बेला अहिले पनि ओली सरकार टिकाउन चीनले सक्रियता बढाएको उनीहरुले बताउन थालेका छन् ।

आइतबार राजदूत यान्छीको आइतबार नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भएको भेटलाई भारतीय सञ्चारमाध्यमले विशेष महत्त्वका साथ चर्चामा ल्याउँदै यो राजनीतिक भेटघाटलाई विशेष चासोका साथ हेर्दै ‘नेपालमा चीनको बढ्दो हस्तक्षेप र नेपालको चीनप्रतिको झुकाव’ का रूपमा व्याख्या गर्दै आएका छन् ।

केही भारतीय सञ्चारमाध्यमले पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्धमा चिसोपन आउनाका पछाडि राजदूत होउको सक्रियतालाई भएको आरोप समेत लगाएका छन् । भारतीय हिन्दी दैनिक अमर उज्यालाले भारतको छिमेकी देश नेपालसँग सम्बन्ध बिग्रनुमा राजनीतिक कारणका साथै चीनको कूटनीति पनि जिम्मेवार रहेको र त्यसका लागि राजदूत होउको भूमिका रहेको दाबी गरेको छ ।

पछिल्लो समय नेपालमाथि भारतीय सत्ताभन्दा संचारमाध्यम आक्रामक हुँदैआएका छन् । उनीहरु समाचारलाइ तोडमोड गरेर दर्शक र पाठक बढाउने मेसोको खोजी गरिरहेका बेला भारत र चीनबीच लद्दाखमा भएको झडपपछि उनीहरु नेपाललाई आधार बनाएर चीनको खेदो खन्ने क्रममा छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.