जल/वातावरण

रुद्रमतीमा फोहर फाल्नेबाट रु २३ हजार जरिवाना

केही दिन अघि सेतोपुल नजिकैको रुद्रमती (धोवीखोला)मा ठेलागाडामा ल्याएर फोहर फालिएको भिडियोका आधारमा रुद्रमती सफाइ अभियानले अनुसन्धान गरी फोहर फाल्न संलग्न हुने जतिबाट रु २३ हजार जरिवाना गराएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं २९ स्थित सेतोपुलमुनि फोहर फालिरहेका बेला पैदलयात्रीले भिडियो खिची सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि तीन दिनसम्म खोजी गरी फोहर फाल्ने काममा संलग्न जतिलाई प्रहरीसमक्ष उपस्थित गराएर कारवाही गरिएको रुद्रमती सफाइ अभियानकर्मी रोहित गिरीले राससलाई जानकारी दिनुभयो ।

भिडियोमा फोहर फालिरहेको रिक्साको नं २४३ र फोन नं देखिएपछि त्यसका आधारमा खोजबिन गरी संलग्न सबैलाई कानूनी कारवाहीको प्रक्रियामा ल्याउन सकिएको उहाँले सुनाउनुभयो । “कानूनी व्यवस्थाअनुसार जरिवानासहित सार्वजनिक अपराधको मुद्दामा पठाउन लागेका थियौँ, एकपटकलाई जरिवानासहित अब आइन्दा सार्वजनिक स्थानमा फोहर नफाल्ने प्रतिबद्धतासहित फोहर फाल्न लगाउने घरधनी रहिम मोहद्दिनलाई रु १५ हजार जरिवाना गरिएको छ”, अभियानकर्मी गिरीले भन्नुभयो ।

महानगरपालिकाले रिक्साचालकलाई रु एक हजार, रिक्सा धनीलाई रु दुई हजार, फोहोर फाल्नेलाई रु पाँच हजार गरी जम्मा रु २३ हजार जरिवाना गरेको वडा नं ३० का सदस्य शर्मिला महतोले राससलाई जानकारी दिनुभयो । फोहर फाल्न संलग्न वडा नं ३० मा बस्ने गरेकाले कारवाहीका लागि वडाका तर्फबाट प्रतिनिधित्व गरेको पनि उहाँले जानकारी दिनुभयो ।

जरिवानामा परेकाले कम्तीमा १० हप्तासम्म रुद्रमती सफाइ अभियानमा सहभागी भई फोहर टिप्नु पर्नेछ । यसैगरी फोहर व्यवस्थापन तथा टोल सफाइमा पनि सहयोग गर्ने सहमति भएको जनाइएको छ । तीन दिन अघि फालेको फोहर फाल्नेले नै आइतबार उठाउने गरीसमेत सहमति भएको रुद्रमती सफाइ अभियानले जनाएको छ । अब आइन्दा नदी, नदी किनारलगायत सार्वजनिकस्थलमा फोहर फाल्नेलाई कडाभन्दा बडा कारवाही गरिने भएकाले फोहरलाई महानगरपालिकाको गाडी आएका बेलामात्र फाल्न, कुहिने फोहर बारी एवं कोशीखेतीमा उपयोग गर्न पनि अभियानले सुझाएको छ ।

उपत्यकाका नदी, नदी किनारलगायत सार्वजनिकस्थलमा फोहर फालेको भेटेमा तस्वीर वा भिडियो खिची सामाजिक सञ्जाललगायत सञ्चारमाध्यम तथा सफाइ अभियानलाई समेत उपलब्ध गराए कानूनी कारवाहीको प्रक्रिया अघि बढाउन सहज हुने जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.