राजनीति

“जनादेशले बनाएको प्रधानमन्त्रीलाई परमादेशले हटायो”

प्रधानमन्त्री केपी शर्मा ओलीले साढे तीन वर्षअघि बहुमतको जनादेशबाट बनेको प्रधानमन्त्रीलाई सर्वोच्च अदालतको परमादेशले हटाइएको भन्दैअत्यधिक न्यायिक सक्रियतासहित राजनीतिक विषयमा हात हालेर दलीय व्यवस्थामाथि धक्का दिन खोजेको टिप्पणी गर्नुभएको छ ।

देशवासीका नाममा आज सम्बोधनका क्रममा उहाँले कहिलेकाँही मागै नभएका विषयमा पनि हात हालेर गन्तव्यमा पुग्न नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरुको हो तर रेफ्री आफैँले खेल खेल्ने चाहना राखेमा समस्या हुन्छ । अदालतको फैसलाबाट दलीय प्रणालीमाथि धक्का दिइएको छ । संविधान संशोधन गराउन खोजिएको छ । राज्यका अङ्गहरुमाथि जनताको विश्वास गुम्ने र जनतामा नैराश्य उत्पन्न भई भयावह दुष्परिणाम ल्याउन सक्ने स्थिति पैदा गराइएको छ ।’

सर्वोच्च अदालतको सोमबारको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापित भएको छ भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आजै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । आफ्नो प्रधानमन्त्रित्वको अन्तिम दिन उहाँले पहिला पनि आफू सरकारबाट बाहिरिएको र जनताका मतबाट पुनः सरकारको नेतृत्वमा पुगेको स्मरण गर्दै कहिलेकाहीँ जनताका अपेक्षा र संसदीय अंकगणितका बीचमा विरोधाभास हुने भएकामा अब राज्यका अनय निकायका फैसलामा पनि विरोधाभास देखिने स्थिति आएको भनाइ व्यक्त गर्नुभयो ।

“मेरो अटल विश्वास जनतामाथि छ । यो नै अन्तिम होइन । सरकारबाट बाहिरिनु परेकामा मलाई रत्तिभर चिन्ता छैन, मैले देश र जनताको हित र सेवालाई ध्यानमा राखेर सम्पूर्ण इमान्दारी तथा विकासलाई नयाँ सोचसहित असाधारणरुपमा अगाडि बढाएँ” ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रतिकूल अवस्थामा पनि महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सफल भएका छौँ । मलाई प्रचार गर्नु छैन, देश र जनताका लागि काम गर्नु छ । म जहाँ रहेर पनि त्यही भूमिका निर्वाह गर्नेछु ।”

सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले धैर्य, सावधानी र आत्मविश्वासका साथ कोभिड–१९ को रोकथाम र नियन्त्रणका साथै आफ्नो सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को यात्रालाई अघि बढाएको बताउनुभएको छ ।

कोरोना महामारीका विभिन्न लहरले समृद्धिका यात्रामा गम्भीर धक्का दिए पनि निराश नभई अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले विश्वभरि कोभिडविरुद्धको खोप अभाव भए पनि ल्याउने प्रयास जारी भएकाले सबै नागरिकलाई निःशुल्क उपलब्ध गराइने उहाँले जनाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.