जन सरोकारस्वास्थ्य

खोपको परीक्षणका लागि चिनीया र कोरियन कम्पनीबाट आवेदन, अरु कम्पनीहरु पनि इच्छुक

नेपालमा कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल परीक्षणका लागि चिनीयाँ र कोरियन कम्पनीको आवेदन परेको छ भने अन्य विदेशी कम्पनीहरुले पनि चासो देखाएका छन् ।

नेपालमा खोपको परीक्षण भएर सफल भएमा यसले नेपालका लागि खोप उपलब्धता निकै सहज हुनेछ । परीक्षण अनुमति दिएपछि निर्माता कम्पनीले नेपाललाई सस्तो, निःशुल्क र विना अबरोध खोप उपलब्ध गराउनुपर्ने हुन्छ ।

निवर्तमान सरकारले कोरोना भाइरसविरुद्धको तेस्रो चरणको खोपको लागि नेपालमा परीक्षण गर्न दिने निर्णय गरेसँगै सो आवेदन परेको । हालसम्म चीन र दक्षिण कोरीयाबाट दुई वटा खोप कम्पनीले नेपालमा खोप तेस्रो चरणको ट्रायलका लागि निवेदन दिएको नेपालस्वास्थ्य अनुसन्धान परीषद्ले जनाएको छ ।

खोपको क्लिनिकल ट्रायल गर्नको लागि विदेशी संस्था वा कम्पनीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा निवेदन दिनुपर्ने हुन्छ । परिषद्ले खोपको लागि अनुमति दिनुपर्ने आधार स्पष्ट भएपछि अनुमतिका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय समक्ष पेश गर्नुपर्ने हुन्छ । त्यससछि मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सिफारिसलाई मन्त्रीपरिषद्द्वारा स्वीकृत गराउनुपर्ने हुन्छ ।

त्यसपछि ट्रायल गर्न लागिएको खोपलाई औषधि व्यवस्था विभागले अन्तिम स्वीकृति दिनुपर्छ । यो सबै प्रकृया पूरा भए मात्र खोपको क्लिनिकल ट्रायलको लागि बाटो खुल्नेछ ।

सरकारले खोपको क्लिनिकल ट्रायलको लागि सहभागी व्यक्तिको पहिचान गोप्य राख्नुपर्ने सर्त राखेको छ भने सहभागी व्यक्तिको मञ्जुरीनामा समेत लिनुपर्ने शर्त राखेको छ । मञ्जुरीनामा अंग्रेजी, नेपाली वा क्लिनिकल ट्रायल गरिने व्यक्तिले बुझ्ने भाषामा क्लिनिकल ट्रायल सम्बन्धी विवरण, ट्रायलमा प्रयोग हुने खोप, खोपको मात्रा र खोपको सम्भावित असर, प्रभाव र जोखिमको विस्तृत जानकारी पछि मात्र खोप ट्रायल गर्न सकिने प्रावधान छ ।

खोपको क्लिनिकल ट्रायलको क्रममा खोपका कारणले खोपको क्लिनिकल ट्रायल गरिने व्यक्तिको स्वास्थ्यमा असर परेमा स्वास्थ्य अनुसन्धान परिषद्ले स्वीकृत गरेको मुख्य अनुसन्धान प्रस्तावमा उल्लेख भए बमोजिम् खोप विकास गर्ने संस्था वा कम्पनीले व्यवस्थापन गर्नु पर्नेछ ।

खोपको ट्रायल गरिने व्यक्तिको बीमा अनिवार्य गर्नुपर्नेछ र सोको रकम औषधि परिषद्ले स्वीकृत गरेको मुख्य अनुसन्धान परिषद्मा स्वीकृत भए बमोजिम् खोप विकास गर्ने संस्था वा कम्पनीले नै व्यहोर्नुपर्नेछ ।

विदेशी खोप कम्पनीले नेपालमा खोप ट्रायल गर्नको लागि पहिलो र दोस्रो ट्रायल सफल भइसकेको हुनुपर्ने भए पनि नेपालकै कुनै कम्पनीको हकमा भने पहिलो चरणमै खोप ट्रायल गर्न दिइने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताउनुभयो ।

डा. ज्ञवालीले “यसरी खोपहरु ट्रायल गर्न दिँदा खोप उत्पादन भए पछि नेपाललाई पनि खोप दिनुपर्ने सर्तसहित हामीले सम्झौता गर्छौं ।” तर अहिले नेपालको कुनै खोपको क्लिनिकल परीक्षण गर्ने भन्नेबारे निश्चित नभएको” बताउनुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.