जन सरोकार

अरुणोदय माविमा वृक्षारोपण : पूर्व विद्यार्थीले विद्यालयलाई छहारी दिनुपर्नेमा जोड

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीमा अवस्थित अरुणोदय माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको नवगठित संगठन अरुणोदय पूर्व विद्यार्थी समाजले साउन ३ गते शनिबार विद्यालयको नवनिर्मित भवन परिसरमा वृक्षारोपण गरेको छ ।

समाजका अध्यक्ष त्रिलोचन पौड्यालको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यता र विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपालको विशेष आतिथ्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, दीपक रिसाल, सहायक प्रधानाध्यापक रीता रायमाझी, वडाध्यक्ष राजीव थापा लगायतको आतिथ्यमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सन्तोष चालिसेले शिक्षा र वातावरणको महत्वबारे प्रकाश पार्दै आफ्नो तर्फबाट विद्यालयको स्तरोन्नतिका लागि पूर्व विद्यार्थी समाजलाई गर्नपर्ने हरसहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले शैक्षिक संस्था रमणीय र हरियाली वातावरणमा हुनुपर्नेमा जोड दिंदै नगरपालिकाले प्रत्येक वडामा हरियाली विकास र पार्क निमाणका लागि बजेट विनियोजन गरेको जानकारी समेत दिनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नेपालले अरुणोदय माध्यमिक विद्यालयलाई उपत्यकाको नम्बर १ सामुदायिक विद्यालय बनाउने चाहना रहेको र यसका लागि पूर्व विद्यार्थीहरुको साथ चाहिने बताउनुभयो । उहाँले अहिले पनि सो विद्यालय उपत्यकाका उत्कृष्ट सामुदायिक विद्यालयहरुमा पर्ने बताउँदै गत वर्षको एसईई परीक्षाको नतिजाका आधारमा उपत्यकाका ३०० भन्दा बढी विद्यालयमा २१ औं स्थानमा रहेको जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका सहायक प्रधानाध्यापक रीता रायमाझीले आजको दिन आफू भावुक बनेको बताउँदै आफूले पढाएका विद्यार्थीहरु आज उच्च तहमा पुगेका देख्दा, सुन्दा अति गर्वको महसुस हुने बताउँदै शिक्षाका महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा सोही विद्यालयका पूर्व विद्यार्थी तथा गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष राजीव थापाले विद्यालयको स्तारोन्नतिका लागि समाजका हरेक वर्गको भूमिका आवश्यक हुने बताउँदै अहिले यो विद्यालयमा स्थानीयबासीको रुची कम हुँदै गएकोतर्फ ध्यानाकर्षण भएको र पूर्व विद्यार्थीहरुले यो विद्यालयलाई समायको विद्यालयका रुपमा परिणत गर्न भूमिका खेल्नसक्ने बताउनुभयो ।

कार्यक्रममा सोही विद्यालयका पूर्व विद्यार्थी तथा बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले पूर्व विद्यार्थीहरु यसरी संगठित भएकोमा खुसी वयक्त गर्दै आफ्नो तर्फबाट हरसहयोग गर्ने बचन दिनुभयो ।

कार्यक्रममा सभापतिको आसनबाट अध्यक्ष त्रिलोचन पौडेलले विद्यालयकको समग्र शैक्षिक उन्नतिका लागि पूर्व विद्यार्थीहरु लागिपर्ने र यो संस्थालाई निस्वार्थ, नाफारहित, गैरराजनीतिक सामाजिक संस्थाका रुपमा विकास गर्ने बताउनुभयो ।

यसअघि कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्दै सचिव यादब देवकोटाले आजको दिन विद्यालय र पूर्व विद्यार्थीहरुको सम्बन्धले औपचारिकता पाएको दिन बताउँदै विद्यालयको स्तरोन्नतिका लागि सम्पूर्ण पूर्व विद्यार्थीहरु संगठित भएर लागपर्न आव्हान गनुैभयो ।

कोभिड १९ का कारण कायम गर्नुपर्ने सामाजिक दुरीले गर्दा प्रतिनिधित्वका रुपमा मात्र पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रममा समाजका उपाध्यक्ष विमला खनाल र सदस्य पवित्रा पौड्यालले खाजा प्रायोजन गर्नुभएको थियो भने कृष लामाले पानी र जमन लामा तथा रुपक घिमिरेले ब्यानर प्रायोजन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.