राजनीति

देउवालाई मतदिने २२ सांसदसंग २४ घण्टे स्पष्टिकरण, रावललाई राजीनामा फिर्ता लिन आग्रह

नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदलाई कारवाही गर्ने जनाएको हो ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले वरिष्ठ नेता नेपालसहितका सांसदले पार्टी विधिविधान र निर्णयविरुद्ध प्रधानमन्त्रीलाई मतदान गरेकाले स्पष्टीकरण सोधिएको जानकारी दिनुभयो । आइतबार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्दा एमालेका २२ सांसदले पार्टी निर्णयविरुद्ध विश्वासका पक्षमा मतदान गर्नुभएको थियो ।

बैठकले स्पष्टीकरण २४ घण्टाभित्र पेश गर्न भनिएको छ । स्पष्टीकरणका आधारमा कारवाही प्रक्रियाबारे निर्णय हुने उहाँले बताउनुभयो । “हामीले हिजो संसद्मा भएको समग्र घटनाक्रमलाई नेपालले हासिल गरेका अग्रगतिका प्रयासमाथि एक खालको धक्काका रुपमा लिएका छौँ”, उहाँले भन्नुभयो, “पार्टीका केही सांसदहरुले पार्टी निर्णयको अवज्ञा गर्दै फ्लोरक्रस गर्ने र प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने जुन काम गर्नुभयो । पार्टी अनुशासनको दृष्टिले र कम्युनिष्ट आन्दोलन, जनताको भावनाका सबै दृष्टिले सर्वथा अनुचित, अनुशासनहिन र गलत कार्य भनेको छ ।”

दश बुँदे सहमतिलाई स्थायी कमिटी बैठकले गरेको अनुमोदनलाई आज बसेको बैठकले पनि अनुमोदन गरेको छ । उहाँले १० बुँदे सहमतिअनुसार नै पार्टीलाई एकताबद्ध बनाउने निर्णयसमेत बैठकले गरेको बताउनुभयो । “दश बुँदे अर्काे पार्टीलाई मत दिऔँ, पार्टीको निर्णय अवज्ञा नगर भनेको छैन”, उहाँले भन्नुभयो, “१० बुँदेले पार्टीलाई एकताबद्ध बनाउने हो । उहाँहरुले संसद्मा हिजो जे गर्नुभयो त्यो गलत हो ।”

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रम बोल्नुभएको थियो । उहाँले हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वास मत लिने क्रममा संसद्मा देखिएको परिदृश्य र त्यसले पार्टीको जीवनमा पारेको प्रभावबारे चर्चा गर्नुभएको पार्टी प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

असार २७ गते गरिएको १० बुँदे सहमतिका आधारमा नै आजको बैठक बसेको उहाँको भनाइ थियो । विसं २०७५ जेठ २ गतेपछिको निरन्तर अहिलेको बैठक भएको उहाँले बताउनुभयो । जेठ २ गते नवौँ बैठक डाकिएको थियो । उहाँले पार्टीभित्र विभिन्न समस्या उत्पन्न र विमति हुने जनाउँदै पार्टीका उपाध्यक्ष भीमबहादुर रावलले सांसद पदबाट राजीनामा दिन नहुने भनाइ राख्नुभयो । प्रवक्ता ज्ञवालीका अनुसार बैठक भोलि ३ बजे फेरि बस्नेछ ।

देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए ।

बैठकको सुरुमै अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गर्नुभएको थियो । पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले हप्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा दिएको बताउँदै अध्यक्ष ओलीले “हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने । अझै पनि ​सकिन्छ भने राजीनामा फिर्ता लिनुस्” भन्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.