जन सरोकार

सन्तोषीमाताको मूर्तिमा जडित सुनचाँदी चोरी गर्ने तीनजना पक्राउ

नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले रु १२ लाख मूल्य बराबरका गरगहना चोरी गरेको खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ तथा प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुन तथा चाँदीका गरगहना चोरी गर्ने सिन्धुपाल्चोकको चौताराकी १८ वर्षीया सविना पराजुली, गुल्मीको मुर्साकोटका २५ वर्षीय विष्णु पछाई र सर्लाहीको लालबन्दीका २० वर्षीय सिद्धार्थ बुढाथोकीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँ महानगरपालिका–१ नक्साल नागपोखरीस्थित सन्तोषी माताको मन्दिरको ताल्चा फोरेर सुन तथा चाँदीको गरगहना चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेकाहरूबाट सुनको तिलहरी एक थान, चाँदीको करुवा दुई थान, चाँदीको सिसादानी एक थान, चाँदीको सुकुन्दा एक थान, चाँदीको ऐना एक थान, चाँदीको मुकुट एक थान, चाँदीको पाता दुई थान, चाँदीको दियो पाँच थान, चाँदीको गिलास दुई थान, कचौरा चार थान, चम्चा तीन थान, चाँदीको माला एक थान, विभिन्न सिक्का १३४ थानलगायत सामग्री बरामद गरेको छ ।

पक्राउ परेका तीनैजनालाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद २० को चोरी तथा डाँकासम्बन्धी कसुरको देहाय २४१ अन्तर्गत चोरी गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता मैनालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.