जन सरोकार

पाँचौँ विश्व संस्कृत दिवस मूल आयोजक समिति गठन

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्व संस्कृत दिवसको तयारी गर्न मूल आयोजक समिति र सल्लाहकार परिषद् गठन गरिएको छ ।

मूल आयोजक समितिका रूपमा काम गर्न गठित पाँचौँ विश्व संस्कृत दिवस कार्य परिषद्का सङ्कल्पकर्ता काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा निर्मलमणि अधिकारी, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेय संयोजक र संस्कृत विश्वविद्यालयकै उपप्राध्यापक डा माधव लामिछाने ससहसंयोजक रहनुभएको जरोकिलो प्रतिष्ठान नेपालका अध्यक्ष बलराम प्रजापतिले जानकारी दिनुभयो ।

मूल आयोजक समितिका सदस्यहरूमा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा अजय रिसाल, चार वेदका नेपाली अनुवादक एवं सहृदयता समाज नेपालका अध्यक्ष आचार्य तिलकप्रसाद लुइँटेल, काठमाडौँ विश्वविद्यालय, भाषा तथा आमसञ्चार विभागका सहप्राध्यापक डा रामचन्द्र पौडेल, त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका उपप्राध्यापक आकाश नीलम् गोविन्द, नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक नवराज खतिवडा र प्रतिष्ठानका अध्यक्ष प्रजापति हुनुहुन्छ ।

यसै गरी संस्कृत विदुषी गार्गी चौलागाईं, राष्ट्रिय हिन्दू एकता मञ्च नेपालका अध्यक्ष इन्द्र ओली, सहृदयता अन्तर्राष्ट्रियका अध्यक्ष वेदनिधि लुइँटेल (अमेरिका), विश्व भुटानी हिन्दू सङ्गठनका अध्यक्ष कमल धिमाल (अमेरिका), नेपाली हिन्दू फोरम युकेका अध्यक्ष सूर्यप्रसाद उपाध्याय (बेलायत) र युगनिर्माण महिला समाज नेपालकी उपाध्यक्ष चाँदनी विक पनि विश्व संस्कृत दिवस कार्य परिषद्का सदस्य रहनुभएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको आह्वानमा नेपालबाट २०७५ सालमा प्रारम्भ भएर विश्वका विभिन्न देशमा मनाइँदै आएको दिवसको पाँचौँ वर्षको कार्यक्रमलाई सफल पार्न सल्लाहकार परिषद् पनि गठन गरिएको छ ।

दिवसको सल्लाहकार परिषद्मा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछाने, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्याय, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा डा भागवत ढकाल, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभागका प्रमुख एवं सहप्राध्यापक डा माधवप्रसाद उपाध्याय र जयतु संस्कृतम् संस्थाका महासचिव डा नवराज कट्टेल रहनुभएको छ ।

यसैगरी सल्लाहकार परिषद्मा इन्टरनेशनल फेडेरेशन अफ् सनातन धर्मका उपाध्यक्ष एवं गुरु गोविन्द सिंह इन्द्रप्रस्थ विश्वविद्यालय, नयाँ दिल्ली, भारतका पूर्व डीन प्रा डा चन्द्रकान्तप्रसाद सिंह, इन्टरनेशनल फेडेरेशन अफ् सनातन धर्मका महासचिव डा गोविन्दशरण उपाध्याय र ग्लोबल सोसाइटी फर् पिस एण्ड स्पिरिचुअल साइन्स, अष्ट्रेलियाका अध्यक्ष आचार्य राजन शर्मा पनि रहनुभएको छ ।

दिवसको मूल समारोह काठमाडौँमा आयोजना हुँदैछ भने अमेरिका, बेलायत, अष्ट्रेलिया, भारतलगायत ३० देशमा विभिन्न कार्यक्रम आयोजना हुँदैछ । दिवसको आयोजनाका लागि नेपालबाट प्रतिष्ठान, सनातन धर्म महासङ्घ नेपाल, जयतु संस्कृतम्, नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभाग, राष्ट्रिय हिन्दू एकता मञ्च नेपाल र युग निर्माण महिला समाज नेपाल लगायतका संस्थाले सहकार्य गर्दैछन् ।

नेपाल बाहिरबाट इन्टरनेशनल फेडेरेशन अफ् सनातन धर्म, सहृदयता अन्तरराष्ट्रिय, विश्व भुटानी हिन्दु सङ्गठन, ग्लोबल सोसाइटी फर् पिस एण्ड स्पिरिचुअल साइन्स, नेपाली हिन्दू फोरम युकेलगायत संस्थाले पनि दिवसमा सहकार्य गरिरहेको आयोजक समितिका संयोजक सहप्राध्यापक पाण्डेयले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.