जन सरोकार

पानी नपरेपछि थारु महिलाहरुले गराए ‘गोरु बिवाह’

मनसुन सुरु भएको छ, देशभर आधाभन्दा बढी धान रोपाई भएको छ । तर कतिपय स्थानमा भने खडेरी चलिरहेका कारण रोपाई हुन हुन सकेको छैन भने कतै रोपेका धान सुक्न थालेपछि किसानहरु पानी पर्ने परम्परागत उपाय अवलम्बन गर्न थालेका छन् ।

वर्षायाममा पानी नपरेपछि कतै भ्यागुताको विहे गरिन्छ त कतै गोरु विवाह भने कतै हवन गर्ने गरिन्छ । यस्तै क्रममा कपिलवस्तुको थारू समुदायमा पानी पार्न गोरु बिवाह गरिएको छ ।

सोमबार कपिलवस्तु बुद्धभूमि नगरपालिकाको गोरुसिङेका थारू समुदायका युवती कालो चस्मा, टाउकोमा पगरी, सर्ट र धोती लगाउँदै उनीहरू गोरु बिहे गर्न भनेर नजिक गाउँको बडघर (समुदायको अगुवा) खोज्दै हिँडे ।

गाउँमा वर्षा नभएको दुई साता बढी भएपछि धानको बेर्ना सुकेर मर्न लागेपछि थारू समुदायको पौराणिक मूल्य–मान्यताअनुसार ‘गोरु बिहे’ गर्न भनेर महिला हिँडेका हुन् । त्यसलाई नवलपरासीमा अलि आधुनिकीकरण गरियो ।

पश्चिमनवलपरासी सरावल गाउँपालिकाका स्थानीयवासीले जनप्रतिनिधिलाई पूजामा सहभागी गराउन गाउँपालिका कार्यालयदेखि सरावल गाउँमा रहेको शिव–पार्वती मन्दिरसम्म बाँधेर लगे ।

सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरी थारूले लामो समयसम्म खडेरी पर्दा गाउँका अगुवालाई निवासबाट बाँधेर मन्दिर लैजाने प्रचलन रहेकोमा स्थानीय सरकार बनेपछि गाउँका अगुवालाई महिला समूहले बाँधेर पूजामा लगेको बताउनुभयो ।

बडघरलाई रातभरि थुनेपछि भगवान् खुसी भएर वर्षा हुने विश्वासअनुसार महिला बडघरको अपहरण गर्न पुरुषको भेषमा निस्केका हुन् । वर्षा नभएपछि थारू समुदाय यसरी पानी माग्दै हिँड्छन् । बडघर फेलापरेपछि बाँधेर आफ्नो गाउँमा ल्याउने थारू अगुवा शिवाली थारूले बताउनुभयो । बडघरसँगै हरेक घरमा रहेका हलो, कोदालोसमेत खोसेर ल्याउने गर्छन् ।

थारू प्रचलनअनुसार बाँधेर गाउँमा ल्याइएको बडघरलाई कोठामा ताल्चा लगाएर रातभर थुनेर राख्ने गरिन्छ । थुनामा रहेका बडघरले थारू खानाका परिकार, मदिरा सेवन गराउने धार्मिक मान्यता रहेको छ ।

बडघरलाई थुुनामुक्त गरेपछि वर्षा हुने र खेती बाली हुर्किने विश्वास रहेको प्रदर्शनमा सहभागी चमेली थारूले बताउनुभयो । बडघर थुनेको रात महिला सजनीभाका (पानी पार्न गाइने) गीत गाउँदै हलो जोत्ने गर्छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.