पूर्णिमा राई र मीना देउवाको ह्याट्रिकमा बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले भुटानविरुद्ध सानदार जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले भुटानमाथि ८-० को फराकिलो जित निकालेको हो ।
नेपालको लागि पूर्णिमा र मीनाको ह्याट्रिकसँगै कुसुम खतिवाडाले एक गोल गर्दा एक गोल भने आत्मघाती भएको थियो । नेपालको लागि खेलको पहिलो मिनेटमा नै मीनाले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । त्यस्तै खेलको नवौं मिनेटमा समिक्षाले हानेको लामो प्रहार क्रसबारमा लागेर आएको बल भुटानकी गोलकिपरलाई लाग्दै गोलमा परिणत भएपछि नेपालले २-० को अग्रता बनायो ।
यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा मीनाले खेलको १२औं मिनेटमा गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाइन् । त्यसपछि खेलको २३औं मिनेटमा मीनाको पासमा पूर्णिमा गोल गर्दा नेपाल ४-० ले अघि रह्यो ।
पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सरिता कुमारीको फ्रिकिकमा पूर्णिमा राईले हेडर गोल गर्दै नेपालको अग्रता ५-० मा पुर्याइन् । यसैगरi इन्जुरी समयकै अन्तिम मिनेटमा आफ्नो ह्याट्रिक पूरा गर्ने क्रममा पूर्णिमाले गोल गर्दा नेपाल पहिलो हाफमा ६-० ले अघि रह्यो । पहिलो हाफमै ६-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा २ गोल मात्र गर्न सक्यो ।
यसैगरी ६३औं मिनेटमा कुसुम खतिवाडाले गोल गर्दै नेपाललाई ७-० को अग्रता दिलाइन् । त्यसपछि आफ्नो ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ६४औं मिनेटमा मीनाले गोल गर्दै नेपाललाई ८-० को फराकिलो जित दिलाइन् ।
डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा नेपालको भुटानसँग यो दोस्रो भेट हो । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा आइतबार बंगलादेशसँग ३-२ ले पराजित हुँदा आफ्नो तेस्रो र चौथों खेलमा श्रीलंकालाई समान ७-० ले हराएको थियो ।
नेपाल पाँच खेलमा १२ अंक जोडेको छ भने ४ खेल खेलको बंगलादेशको पनि समान १२ अंक नै रहेको छ । चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन आधारमा खेलाइएको छ । समूहको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले अन्तिम खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ ।





प्रतिक्रिया राख्नुहोस्