कसरी बालबालिकाको चारित्रिक विकास गराउने ?
हरेक आमा-बाबुको चाहना हुन्छ आफ्ना सन्तान गुणवान, नैतिकवान, चरित्रवान र सफल होस् भन्ने । उनीहरुले छोराछोरीलाई यसैका लागि निकै ठूलो दवाव पनि दिइरहेका हुन्छन् । बाबुआमाले भन्दैमा वा चाहँदैमा छोराछोरी त्यस्तै बन्छन् त ? कतिपय बन्न सक्छन् कतिपय सक्दैनन् । यसका विविध कारणहरु छन् । आफ्ना सन्तानलाई असल, सफल र गुणवान बनाउन चाहने आमाबाबुले उनीहरुलाई सानैदेखि त्यस्तै वातावरण दिनु पर्दछ, उनीहरुको चारित्रिक विकासमा ध्यान दिनुपर्दछ ।

बालालिकालाई चरित्रवान बनाउने कसरी ? यसमा केही महत्वपूर्ण पक्षहरु छन्, जुन हामीले नजरअन्दाज गरिरहेका छौं । बालबालिकामा असल चरित्र विकासका लागि असल चरित्रका लागि उसको परिवारको वातावरण सबभन्दा महत्वपूर्ण हुन्छ । परिवारका सदस्यहरु असल गुणवान छन्, उनीहरु धर्मकर्ममा लाग्ने, सामाजिक कार्यमा सक्रिय हुने, अनुशासनमा बस्ने र दीन दुःखीहरुको सेवा गर्ने चरित्र छ भने स्वाभाविक रुपमा बालबालिकामा पनि त्यसको प्रभाव पर्छ ।
बालबालिकाको चरित्र विकासमा केही यस्ता पक्षहरु पनि छन् जुन अत्यन्त हानिकारक मानिन्छ । जस्तो कि समयभन्दा अगावै र आवश्यकताभन्दा अधिक आवश्यकता पूरा गर्नु, अत्यधिक माया दर्शाउनु, उसका हरेक क्रियाकलाप र गतिविधिलाई ढाकछोप गर्ने कार्यले उनीहरुको भविष्य नै विग्रन सक्छ । सानोमा गरिएको गल्ती र त्यही अधिक मायाकै कारण बालबालिकाले आफूलाई सुधार गर्न पाउँदैनन्, जसले गर्दा चरित्र विकासमा ठूलो अबरोध सिर्जना हुन्छ ।
यदि बालबालिकाका आमा-बाबु र उसका साथमा रहनेहरुको चरित्र असल छ भने बालबालिकामा पनि उनीहरुको असल गुणको प्रभाव पर्छ । उनीहरुबाटै सिक्दै उच्च नैतिक गुण र चरित्रको विकास हुन्छ । बाबु रातदिन रक्सी र जुवामा मस्त रहने छोराछोरीलाई यसो गर्नु हुन्न भन्दा त्यसको असर उल्टो पर्छ । तसर्थ बालबालिकाको चरित्र विकासमा परिवारको वातावरण सबभन्दा ठूलो हुन्छ ।
बालबालिकाका लागि चरित्र विकासको सबभन्दा महत्वपूर्ण थलो विद्यालय पनि हो । विद्यालयमा नैतिक-सामाजिक पाठ पढाइन्छ । संगसंगै यस्ता कार्यहरुमा पनि अभ्यास गराउने काम विद्यालयहरुले गरे भने बालबालिकामा असल चरित्र विकास हुन्छ । त्यस्तै सामाजिक परिवेश अर्को महत्वपूर्ण पक्ष हो । गाउँ, घरमा झैझगडा नहुने, मेलमिलाप, सहिष्णुता र सद्भाव प्रदर्शन भैरहेको छ भने बालबालिकामा स्वाभाविक रुपमा शान्त, सहयोगी, सहिष्णु व्यवहार प्रकट हुन्छ । बालबालिकाका लागि सही शिक्षा दिने आधारमा सामाजिक परिवेश पनि भएकाले समाजका असल मानिसहरुको संगतमा उनीहरुलाई अग्रसर तुल्याउन सके चरित्र विकासमा ठूलो टेवा पुग्नेछ ।
माथिका सबै पक्षहरुका अतिक्ति बालबालिकाका चरित्र वा नैतिक विकासका लागि आमाबाबुहरुले उनीहरुले यस्तै कार्यमा अग्रसर पनि गराउनुपर्दछ । जस्तो कि घरमा भिक्षा माग्न सन्यासी आएका छन् भने उनीहरुका लागि भिक्षा बालबालिकालाई दिन लगाउने, कोही गरीब, दुःखी छन् भने बालबालिकाकै हातबाट केही सहयोग दिन लगाउने, नैतिकता र चरित्र अनि अलस र खराब पक्षका बारेमा विविध घटनाहरु सुनाउने र राम्रा मानिसहरुको त्याग, संघर्षका कथाहरु सुनाएर प्ररित गर्ने कार्य गर्नसके बालबालिकाहरुको चरित्र विकास सहजै हुन्छ ।
घरदेखि विद्यालयसम्म र विद्यालयदेखि समाज अनि नातागोतासम्मको चरित्र, बानी व्यहोरा र उनीहरुले प्रदर्शन गर्ने नैतिकता नै बालबालिकाका लागि सबभन्दा ठूलो शिक्षाको विषय हो । उनीहरुलाई उमेर अनुसार गर्नसक्ने काममा सक्रिय गराउँदै समाजप्रतिको दायित्व निर्वाहमा अहिलेदेखि नै अग्रसर गराउने हो भने भोलिका कर्णधार अवश्य पनि चरित्रवान नै हुनेछन् ।
अन्त्यमा,
चरित्रबल नै मानिसको सबैभन्दा ठूलो शक्ति हो भन्ने हामीले कहिल्यै बिर्सनु हुँदैन । जो मानिस चरित्रवान छ उसमा भौतिक धन सम्पत्ति नभए पनि ऊ समाजका लागि उदाहरणीय गनिन्छ । असल चरित्र कसैले पनि आमाको गर्भबाटै बोकेर नआउने हुँदा यसलाई हामी आफैंले बनाउने हो । बालबालिकालाई सानैदेखि त्यस्तै व्यवहारमा ढाल्दै सोही अनुसारको प्रशिक्षणमा अभ्यस्त गराउने हो भने उनीहरु अवश्य पनि चरित्रवान बन्नेछन् र आमाबाबुको शिर सधैं उच्च राख्नेछन् । यसमा आमाबाबुकै हात सबैभन्दा बढी हुन्छ ।
हरेक आमाबाबुले मायाको नाममा पैसा खर्च गर्ने, माटोमा टेक्दा पनि फोहर लाग्न भनेर काखमै राखेर सधैं चाटिरहने जस्तो गैंडा चटाइले बालबालिकाको भविष्य मात्र अन्धकार हुँदैन कि आमाबाबुको सपना पनि तुहिन्छ । तसर्थ, उनीहरुको चाहना बुझ्ने, उनीहरुको क्षमताको पारख गर्ने र आवश्यकता अनुसार प्रशिक्षित गर्दै गल्तीहरुको ढाकछोप हैन कि त्यसको सम्भावित समस्याका बारेमा जानकारी अवगत गराएर उनीहरुलाई सुधार्दै जानुपर्छ ।
“अति सर्वत्र वर्जयेत्” भन्ने संस्कृत श्लोक हरेक आमाबाबुले ख्याल गर्नुपर्छ । यसको अर्थ कुनै पनि कुरा चाहिनेभन्दा धेरै भयो भने त्यो हानिकारक हुन्छ भन्ने हो । चिनी पनि धेरै खाए तीतो भए जस्तै हो । हरेक कुरालाई एउटा निश्चित सीमामा राखेर अघि बढाउँदा मात्र त्यसले दिने नतिजा उपलब्धिमूलक र सुखद हुन्छ । बुझ्नुपर्ने यत्ति हो ।
(लेखक गीता श्रेष्ठ उर्सा मेजर चिल्ड्रेन्स एकेडेमीका संचालक सदस्य हुनुहुन्छ)
प्रतिक्रिया राख्नुहोस्