राजनीति

विश्वविद्यालयको पाठ्यक्रममा समावेशिताको विषय समावेश हुनुपर्ने

सञ्चार क्षेत्रका विज्ञ तथा प्राध्यापकले समावेशिताको विषयवस्तुलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्न नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् । जागरण मिडिया सेन्टरद्वारा यहाँ आज आयोजित ‘विश्वविद्यालयको पत्रकारिता शिक्षामा समावेशिता’ विषयक अन्तरक्रियामा उहाँहरुले पत्रकारिता अध्ययन हुने विश्वविद्यालयको पाठ्यक्रमबारे अध्ययन/अनुसन्धान गरी नीतिगत सुधारसँगै समावेशिताको विषय वस्तुलाई समावेश गर्नुपर्ने धारणा राख्नुभयो ।

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार विभागकाका प्रमुख चिरञ्जीवी खनालले त्रिविको पत्रकारितासम्बन्धी पाठ्यक्रममा समावेशिताबारे केही विषयवस्तु समावेश भए पनि पर्याप्त नभएको बताउनुभयो । उहाँले अनुसन्धान र छलफलका आधारमा पाठ्यक्रम समावेशी विषयलाई समावेश गर्न सकिने बताउनुभयो ।

पूर्वाञ्चल विश्वविद्यालय, पत्रकारिता विषयगत कमिटीका अध्यक्ष डा सुरेश आचार्यले पूर्वाञ्चल विश्वाविद्यालयको पत्रकारितासम्बन्धी समावेशी विषयलाई समावेश गर्न सकिने तर त्यसका लागि अनुसन्धान र आधार आवश्यक पर्ने बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालय, मिडिया तथा भाषा अध्ययन विभागका विभागीय प्रमुख सुद्यांशु दाहालले आमसञ्चार माध्यममा सिमान्तकृत समुदायको विषय वस्तुको लागि त्यो समुदायको भौतिक सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

खुल्ला विश्वविद्यालय, पत्रकारिता विभागका संयोजक विकाश ढकाल, पोलिगन कलेजका प्रिन्सिपल अविरल थापा र मदन भण्डारी कलेजका प्राध्यापक भवानीश्वर गौतमले समयअनुसार पाठ्यक्रममा समावेशी विषयलाई समावेश गर्न जरुरी रहेको जोड दिनुभयो ।

अनुसन्धानकर्ता जेवी विश्वकर्माले पत्रकारिता क्षेत्र समाज सुधारको एउटा औजार भएको बताउँदै पत्रकारिता विषयको पाठ्यक्रमलाई नै समावेशी बनाउनुपर्छ भन्नुभयो । जागरणका अध्यक्ष कमला विश्वकर्माले विषयवस्तु र सहभागिताको हिसावले आमसञ्चार माध्यम समावेशी हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.