जन सरोकार

बाँकेमा पुल निर्माण : काममा ढिलासुस्ती गर्दै म्याद थप्दै

बाँकेमा लुम्बिनी प्रदेश सरकारको पुल निर्माण योजनामा निर्माण व्यवसायी कम्पनीले ढिलासुस्ती गरेको छ । प्रदेश सरकारद्वारा बाँकेमा निर्माणाधीन तीनवटा ठूला पुल निर्माण समयावधि सकिएको छ । तर, निर्माण कार्य ५० प्रतिशत पनि सम्पन्न भएको छैन ।

दुई वर्षअघि लुम्बिनी प्रदेश सरकारको बजेटमा खजुरा गाउँपालिका–२ सीतापुरस्थित किरण नाला पुल, खजुरा र जानकी गाउँपालिका जोड्ने खजुरा–४ चल्तुवास्थित किरण नाला पुल र बैजनाथ गाउँपालिकाको जिगाउँस्थित वनखेतमा जेठी नाला पुलको २०७९ असार २५ गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी गल्वा–सिद्धार्थ दर्शन जेभीले २०७७ फागुन १९ गते सम्झौता गरेको थियो ।

निर्माण समयावधिमा तीनवटै पुलको काम ५० प्रतिशत पनि पूरा हुन नसकेको सडक पूर्वाधार विकास कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख शरदकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, खजुरा गाउँपालिका–२ सीतापुरस्थित किरण नाला पुलको निर्माण कार्य प्रगति ४० प्रतिशत, बैजनाथ गाउँपालिकाको जिगाउँस्थित वनखेतमा जेठी नाला पुलको ५० प्रतिशत र खजुरा र जानकी गाउँपालिका जोड्ने खजुरा–४ चल्तुवास्थित किरण नाला पुलको निर्माण प्रगति ३० प्रतिशत मात्रै भएको छ ।

निर्माण कम्पनीले तदारुकता देखाएर काम गरे ५/६ महिनामै निर्माण कार्य सकिने भए पनि कामप्रति बेवास्ता र लापर्बाही गरेका कारण निर्माण समयावधिमा काम सम्पन्न हुन नसकेको उहाँको भनाइ छ । तीनवटै पुलको निर्माण समायावधि थपका लागि निर्माण कम्पनीले निवेदन दिएको छ ।

बाँकेमा लुम्बिनी प्रदेश सरकारको बजेटमा एकसाथ १२ वटा ठूला पक्की पुलको निर्माण हुँदैछ । सातवटा पुलको निर्माण जारी छ । थप पाँचवटा पुल निर्माणका लागि डिपिआरको काम भइरहेको छ ।

निर्माण व्यवसायीले निर्माण सामग्रीको मूल्य वृद्धिलगायतका कारण देखाउँदै समयमै काम नगरिदिँदा पुल निर्माण सन्तोषजनक रुपमा अघि बढ्न नसकेको सडक पूर्वाधार विकास कार्यालय बाँकेका निमित्त प्रमुख अधिकारीले बताउनुभयो ।

समयमै पुल निर्माण सम्पन्न नहुँदा बर्सातको समयमा सर्वसाधारणले ठूलो सास्ती व्यहोर्नुपरेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.