राजनीति

चार मुलुकबाट राजदूतका लागि सहमति प्राप्त हुन बाँकी

परराष्ट्र मन्त्रालयले विभिन्न २० जना नेपाली राजदूतका लागि तत्तत् मुलुकबाट सहमति प्राप्ति गर्न अनुरोध गरिएकोमा १६ मुलुकबाट सहमति प्राप्ति भएको जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयमा आज भएको नियमित पत्रकार भेटघाटका क्रममा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले सो कुराको जानकारी दिनुभएको हो । नेपाल सरकारको गत चैत २४ को निर्णयअनुसार अहिलेसम्म चार मुलुकबाट भने सहमति प्राप्ति हुन बाँकी रहेको प्रवक्ता लम्सालले बताउनुभयो ।

उहाँका अनुसार १३ मुलुकका लागि नेपाली राजदूतको घोषणा भइसकेको र तीन मुलुकका लागि नियुक्तिको प्रक्रियामा रहेको छ । उहाँले चार मुलुकका राजदूत कार्यभार सम्हाल्न गइसकेको र चार मुलुकबाट सहमति प्राप्त हुन बाँकी रहेको जानकारी दिनुभयो ।

प्रवक्ता लम्सालले परराष्ट्र सचिव भरतराज पौडेल नेतृत्वको प्रतिनिधिमण्डल मङ्गलबार मोरक्को प्रस्थान गरेको पनि जानकारी दिनुभयो ।

यसै गरी अमेरिकाको स्टेट पाटनरसिप प्रोग्राम (एसपिपी) लाई अघि नबढाउने मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनका लागि सरोकार राख्ने सरकारी निकार्यबीच छलफलको आवश्यकता रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्सालले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा सहभागी नहुने भनी अमेरिकामा जवाफ पठाउनु अघि यसअघि आइरहेका र भइरहेका सहयोगलाई कसरी समेट्ने भन्ने कुरालाई हेर्नुपर्ने महत्वपूर्ण विषय रहेको उल्लेख गर्दै उहाँले त्यस विषयमा सरकारका ती निकायबीच छलफल गर्नुपर्न आवश्यकता देखिएको जानकारी दिनुभयो ।

अमेरिकाबाट यसअघि पनि विपद्लगायतका विभिन्न क्षेत्रमा सहकार्य भइरहेको सन्दर्भ जोड्दै लम्सालले भन्नुभयो, “राम्रोसँग छलफल गरेर टुङ्गोमा पुग्नुपर्ने देखिएको छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.