अर्थ

चावहिलबाट एक करोड मूल्य बराबरका अवैध सामान बरामद

काठमाडौँको चाबहिल नजिकै रहेको एक गोदामबाट नेपाल प्रहरीले राजस्व छलेर ल्याइएको एक करोड बढीको सामान बरामद गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले गोदाममा छापा मार्दा उक्त सामान बरामद गरिएको जानकारी दिनुभयो ।

प्रहरीले चुरोट मात्रै दुई हजार ९८० बण्डल बरामद गरेको छ । यसका साथै बरामद गरिएका गुट्खा, सुर्तीजन्य पदार्थ, मोटरसाइकलको पार्टस्, इलेक्ट्रिोनेनिक्स चिप्स, अक्सिमिटर, पटाका, भुइचम्पा, आतिसबाजलगायतका सामग्री बरामद गरी सार्वजनिक गरेको छ ।

अवैधरुपमा सामान ल्याएर राखिएको छ भन्ने सूचनाको आधारमा परिचालित टोलीले बुधबार ती सामान बरामद गरेको हो । ती सामान अवैधरुपमा ल्याई काठमाडौँ महानगरपालिका–७ गोपीकृष्णनगरस्थित श्रीजल एण्ड सुजाता ट्रेडिङ कन्सर्न प्रालिको नामबाट कारोबार गर्ने गरेको अनुसन्धानमा खुलेको छ । उनले ती सामान भारतबाट गैरकानुनीरुपमा नेपाल ल्याएका थिए ।

उक्त कारोबारमा संलग्न रहेको आरोपमा पर्सा घर भई काठमाडौँ बस्दै आएका ४० वर्षीय छविलाल अगस्ती पक्राउ परेका छन् । उनले काठमाडौँ महानगरपालिका–७ स्थित पुष्पा अधिकारीको घरको सटर भाडामा लिई राजस्व छली गरेर ल्याइएका सामान भण्डारण गर्ने गरेको खुलेको छ ।

कार्यालयले अनुसन्धान तथा कारबाहीका लागि बरामद सामान आजै राजस्व अनुसन्धान विभागमा पठाएको छ भने विष्फोटक पदार्थसमेत रहेकाले सोही कसुरअन्तर्गतको मुद्दामा उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.