अर्थ

के हुँदैछ धौवादीको फलाम र मुस्ताङको युरेनियम

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा–५ को धौवादी डाँडामा फलाम खानी भेटिएपछि तत्कालीन सरकारले २०७६ सालमै खानीबाट फलाम निकाल्न धौवादी कम्पनी गठन गरेको थियो ।

त्यहाँ १० किलोमिटर क्षेत्रफलमा फैलिएको लामो फलाम खानी भेटिएपछि र चीनमा परीक्षण गर्दा उच्च गुणस्तरको फलाम रहेको प्रमाणित भएपछि उत्खननका लागि सरकारले प्रक्रिया अगाडि बढाएको थियो

सरकारले गराएको अध्ययनबाट सो फलाम खानीमा १५ करोड मेट्रिक टन बराबरको फलाम रहेको छ । उक्त मात्राको फलाम नेपालले मात्रै प्रयोग गरेको खण्डमा ७० वर्षका लागि पुग्छ । दैनिक एक हजार ५०० मेट्रिक टन बराबरको फलाम निकाल्न सकिने खानी सञ्चालनका लागि १२५ मेगावाट बराबरको बिजुली आवश्यक पर्छ ।

तर, अहिलेसम्म प्रक्रिया नै अघि बढेको छैन । मुलुकका उद्योगहरुलाई आवश्यक पर्ने फलाम आयात भैरहेको र देशका खानीहरु खेर गैरहेपछि प्रतिनिधिसभामा यसको आवाज उठेको छ ।

सांसदहरुले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने धौवादी फलाम खानीको उत्खनन प्रक्रियालाई तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

तत्कालीन सरकारले २०७६ पुसमा धौवादी फलाम कम्पनी लिमिटेड गठन गरेको थियो । कम्पनी सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालीन सहसचिव सोभाकान्त पौडेललाई दिइएको थियो ।

पौडेलको संयोजकत्वमा गठित ५ सदस्यीय कम्पनी सञ्चालक समितिमा खानी तथा भू–गर्भ विभागका महानिर्देशक, उद्योग र अर्थ मन्त्रालयका सहसचिव तथा सडक विभागका सहसचिव सदस्य रहेका छन् ।

नेपालमा वार्षिक रु एक खर्ब ४० देखि रु एक खर्ब ५० अर्ब बराबरको फलाम आयात भइरहेको छ, तर मुलुकमा भएको खानी सञ्चालनका लागि सरकार उदासिन छ । सरकार औद्योगिक विकास गर्ने नारा घन्काइरहँदा यस्ता खानीहरु संचालन नगर्दा नारा केका लागि भन्ने प्रश्न समेत उठेको छ ।

फलाम जस्तै नेपालमा युरेनियमको पनि भण्डार रहेको छ । पछिल्ले समय माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा अथाह युरेनियम भण्डार रहेको प्रमाणित भएपछि यसको उत्खनन् गर्ने भन्दै विधेयक समेत बनाउन थालिएको समाचार बाहिर आयो ।

तर, यो विषय पनि अहिले सेलाएको छ । विश्वमा बहुमूल्य धातु मानिने अत्यन्त महंगोमा विक्री हुने युरेनियम नेपालका विभिन्न क्षेत्रमा पाइने प्रमाणित भैसकेको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार मकवानपुर धियालको तीनभंगाले, मकवानपुरको चिरुवा खोला र चाँदे खोला, काठमाडौंको जगते, बझाङको सेनगढ, निम्लीगढ, देभलेक, लाङटाङ हिमालमा पनि युरेनियमको प्रशस्त सम्भावना रहेको विभिन्न अनुसन्धानहरूबाट देखिन्छ ।

त्यसबाहेक राजधानीको उत्तरपश्चिम क्षेत्रमा अवस्थित ककनीको पाँचमाने क्षेत्र, मैलुङ खोला, शिवपुरीको टोखा, रसुवाको केही भाग, चरीकोट नजिकको केही भागमा उच्च रेडियोधर्मी विकिरण पाइएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

स्रोत भएर सोच नभएका शासकहरुबाट शासित हुनु नै अहिलेकोा अवस्था हो भन्ने कुरा त सिद्ध भैसकेको छ । प्रकृतिले दिएको अथाह स्रोतहरुको परिचालन गरेर आर्थिक रुपमा बलियो हुने दिशातिर मुलुकलाई अघि बढाउनुको साटो वस्तु आयात गरेर भन्सार राजश्व उठाएर सरकार चलाउने सोच भएपछि खानी र उद्योगहरु संचालन गर्ने कुरा केवल नारा मात्र बनिरहनेछन् ।

धौवादी फलाम खानी, माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रको युरेनियम, कर्णालीको जाजरकोट लगायतका जिल्लाका पहाडमा पाइने बहुमूल्य रत्न (पत्थर)हरुको उत्खनन्, प्रशोधन र निकासी गर्नेतिर सरकारको पटक्कै ध्यान नपुग्दा भोलिका दिनमा यी सम्पदाहरु अनेक सम्झौताको नाममा विदेशीको हात नपर्ला भन्न सकिन्न ।

एमसीसीको एउटा कडी माथिल्लो मुस्ताङको युरेनियममाथि अमेरिकी पकड बनाउन होभन्ने एकथरिको तर्कलाई पनि नजरअन्दाज गर्न सकिन्न ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.