सर्वोच्चको विशेष फैसलापछि पत्नी हत्याको अभियोगमा जेल परेका कोइराला रिहा
आफ्नी पत्नीको हत्या अभियोग सावित भएर जन्मकैद भुक्तान गरिरहेका सशस्त्र प्रहरी बलका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला बाँकी कैद भुक्तान नगरी जेलमुक्त हुनुभएको छ ।
सर्वोच्च अदालतले जन्मकैदाको साटो ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरे पुग्ने फैसला पछिल्लोपटक गरेपछि बिहिबार सो अवधि भुक्तान गरी कोइराला डिल्लीबजार कारागारबाट बाहिरिनुभएको हो ।
सर्वोच्च अदालतले जन्मकैदको फैसला चर्को पर्न जाने भन्दै कैद सजाय आठ वर्ष ६ महिनामा घटाइदिएपछि कोइरालालाई थुनामुक्त गरेको हो ।
आफ्ती पत्नी गीता ढकालको हत्याको मुद्दामा जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले असार १५ गते कोइरालाको सजाय घटाउने फैसला गरेको थियो ।
सर्वोच्च अदालतको असार १५ गतेको को फैसलामा उनलाई ‘सर्वस्वसहित जन्मकैदको फैसला चर्को पर्ने हो कि भन्ने चित्तमा परेको’ भन्दै सजाय घटाइएको फैसलाको पूर्णपाठमा उल्लेख छ। नयाँ मुलुकी संहितामा सर्वस्व (व्यक्तिको नाममा भएको सम्पत्ति) लिने व्यवस्था नभएकाले तल्ला अदालतले रोक्का राखेको अंश, जायजेथा फुकाइदिन पनि सर्वोच्चले भनेको छ।
‘वारदात हुँदाको पृष्ठभूमिसहितको अवस्था र परिस्थिति हेर्दा मृतककै कारण र जरियाबाट प्रतिवादी आवेशमा आई उठेको रिसबाट भएको भन्नेसम्मको अवस्था देखियो। निजको मृत्युपश्चात नबालक छोराहरूको संरक्षण एवं शिक्षादीक्षा अभिभावक विहीनताका कारण अनिश्चय हुन गई उनीहरूको हितमा समेत दुरगामी प्रभाव पर्न जाने कारणले,’ फैसलामा भनिएको छ, ‘उपरोक्त सजाय गर्दा चर्को पर्न जाने जस्तो चित्तमा लागेको हुँदा मुलुकी ऐनको १८८ नं बमोजिम ८ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मकसद पूरा हुने देखिएकाले पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महिना कैद हुने ठहर्छ।’
कोइरालालाई डिल्लीबजार कारागार प्रशासनले रिहा गरेपछि प्रेमिका तारा रेग्मी डिल्लीबजार कारागार पुगेकी थिइन् । उनकै कारमा कोइराला घरतर्फ लागेका थिए ।
कोइराला श्रीमती मारेको अभियोगमा जेल परेको २०६८ माघ ८ गते हो । नयाँ फैसलापछि साउन ८ गते उनी जेल बसेको ८ वर्ष ६ महिना पुगेको हो ।
कोइरालाले साढे ८ वर्षअघि आफ्नी श्रीमती गीता ढकाललाई मारेर प्लास्टिकमा पोको पारी मकवानपुरको टिष्टुङ जंगलमा पुर्याई पेट्रोल छर्केर जलाएका थिए । ई छोरा जन्मिसकेपछि कोइराला र ढकालको वैवाहिक सम्बन्ध बिग्रिन थालेको सर्वोच्चको फैसलामा उल्लेख छ। उनीहरूको बिहे २०५० सालमा भएको थियो।
घटनापछि मृतक ढकालका बुवाले दिएको जाहेरीमा कोइरालाले पटकपटक गीतालाई मार्ने धम्की दिएको, सम्बन्ध विच्छेद र अंश चलनको मुद्दा हालेको पनि जाहेरीमा उल्लेख छ। ढकालले पनि मानाचामलको मुद्दा हालेकी थिइन्। तारा रेग्मी नाम गरेकी महिलासँग कोइरालाले सम्बन्ध राख्न थालेपछि उनीहरू छुट्टाछुट्टै बस्न थालेका थिए।
रेग्मीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। रेग्मीले पनि रञ्जनको षड्यन्त्रमा साथ दिएको भन्दै उनलाई १ वर्ष सजाय भएको थियो।
घटना हुनुअघि कोइराला लामो समय चीनमा भएको एक तालिमबाट फर्केका थिए। २०६८ पुस २१ गते फर्केका उनी पुस २७ गते गीता बस्ने बुढानिलकण्ठस्थित घरमा गएर कान्छो छोरालाई लिएर निस्केका थिए। यसको जानकारी आफूहरूलाई छोरीले फोनमा दिएको उनका बुवाको जाहेरीमा उल्लेख छ।
त्यसको भोलिपल्ट माइतीले फोन गर्दा गीताको मोबाइल अफ थियो। त्यसको पनि भोलिपल्ट उनीहरू छोरीको घर गए। त्यहाँ उनी थिइनन्। त्यसपछि उनले आफ्नी छोरीलाई बेहोस बनाएर कोइरालाले बन्धक बनाएको भन्दै माघ ६ गते प्रहरीमा जाहेरी दिए।
त्यसको दुई दिनपछि उनीहरूले छोरी गीता ढकालको शव महाराजगन्जस्थित अस्पतालमा छ भन्ने थाहा पाए। अनि रञ्जनविरुद्ध कर्तव्य ज्यानको जाहेरी दिए। त्यही दिन कोइरालालाई प्रहरीले पक्राउ गर्यो।
पुस २८ गते नै मकवानपुरको टिष्टुङ जंगलमा आधा जलेको ढकालको अस्थिपञ्जर भेटिएको थियो। रञ्जनले ढकाललाई मारी प्लाष्टिकमा पोको पारेर जंगलमा लगेर जलाएको प्रहरी अनुसन्धानबाट देखिएको थियो।
घटनामा भेटिएका प्रमाण र तथ्यहरू विश्लेषण गरी सरकारी वकिलले सर्वस्वसहित जन्मकैद माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो। काठमाडौं जिल्ला र पुनरावेदनले कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला गरेका थिए।
प्रतिक्रिया राख्नुहोस्