जन सरोकार

कपिलवस्तुमा भारतीय बाँध आतंक- भर्खर रोपाई गरिएका २ सय हेक्टर खेत जलमग्न

अहिले बाँधमाथिको सडक चार चक्के ठूला सवारीसाधन चल्ने बनाइएको छ , बाँध पनि उँचो बनाउँदै लगिएको

भारतले बर्खायाममा आफ्नो भूमि सुरक्षित गरी हिउँदमा पानी आपूर्ति गर्ने गरी नपाली भूमि डुबानमा पारेर बनाएका अनधिकृत बाँधका कारण हरेक वर्ष नेपाली किसानका खेतहरु डुब्दै आएका छन् । यतिसम्म कि भारतीय बाँधकै कारण किसानहरुको उठिबास लागेको छ ।

वर्षभरि खाने अन्न जोहोका लागि रोपाई गरिएका खेत भारतीय बाँधकै कारण डुब्ने गरेका छन्, धानखेती नष्ट हुने गरेको छ । यतिबेला कपिलवस्तुको २ सय हेक्टर खेल भारतीय बाँधकै कारण डुबेको छ ।

सीमावर्ती क्षेत्र भारतीय बजहा सागर बाँधका कारण यहाँको २ सय हेक्टर धान खेत डुबाएको छ । बजहा सागरको पश्चिम–दक्षिणमा २० र ८ ढोके दुईवटा पक्की बाँध छन् । २० ढोके बाँध ५० मिटर र ८ ढोके बाँध २० मिटर लामा छन् । फाटक ५ मिटर चौडा छ । यसले पानी जति नेपाल फर्किंदा रोपेको धान बाली डुबेको हो । महिना दिनदेखि नियमितजसो वर्षा भइरहेको छ ।

भारतको सिद्धार्थनगर जिल्लास्थित चिल्हियाँ थानाअन्तर्गत बजहामा सीमासँगै जोडेर बाँध बनाइएको छ । उत्तरमा रहेको नदीको पानी जम्मा गरेर भारतले सिँचाइ गर्दै आएको छ । विशेष गरी हिउँदलाई लक्षित गरेर पानी जम्मा गरिन्छ । अत्यधिक पानी पर्दा बाँधका ढोका नखोलिँदा नेपालतिर डुबान भएको हो । नेपालबाट गएको जमुवार खोलाको पानी पनि त्यही बाँधमा पुग्छ । वर्षाको भेलको पानी बाँधमा ठोक्किएर उर्लिंदा आसपासका धान खेत डुबेका हुन् ।

बाँधकै कारण ५ किमि पर रहेको यशोधरा–२ भावपुरपूर्वको १ सय बिघाभन्दा बढी धान खेत डुबाएको छ । पहिलो पटक गत असार दोस्रो साता खेत डुबेपछि साउनमा १ सयभन्दा बढी कृषकले दोस्रो पटक रोपेका थिए । ‘एक दशकपछि पानीले नराम्ररी खेत डुबाएको हो,’ भावपुरका कृषक जावेद बढईले भने, ‘यस पटक परिवारको मुखमा माड लगाउन पनि सक्ने अवस्था रहेन ।’ यशोधरा–३ लोहरौली गाउँको पूर्व सीमा, मायादेवी–४ का तुल्सीडिहवा, गौरा, सिसहनिया र सिहोरवा गाउँमा लगाइएको खेत डुबानमा छन् । यशोधरा–१ रजवापुर, वडा–६ को पुन्नीहवा र पकडीमा पनि क्षति पुगेको छ ।

बाँधका कारण ५५२/४७ नम्बरको सीमास्तम्भ पूरै डुबेको छ । उक्त स्तम्भ वर्षमा १० महिना डुब्ने गर्छ । डुबानकै कारण २०७१ असोजमा ढलेको उक्त स्तम्भ वर्ष दिनपछि मर्मत गरिएको थियो ।

केही वर्षअघि बाँधमाथिबाट एउटा मोटरसाइकल मात्र आवतजावत गर्ने बाटो थियो । अहिले विस्तार गरेर चार चक्के ठूला सवारीसाधन चल्ने बनाइएको छ । बाँध पनि उँचो बनाउँदै लगिएको छ । यसले नेपालतिर डुबान क्षेत्र बढेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.