जन सरोकार

तीन महिनाभित्र कुहिने फोहरलाई मोहर बनाउने अभियान

दशकौंदेखि फोहरमैला व्यवस्थापनको समस्या झेलिरहेको काठमाडौँ महानगरपालिकाले अब फोहर व्यवस्थापनसंगै मोहर आर्जनको नीतिलाई कार्यान्वयनमा ल्याएको छ । अब कुहिने फोहर उपत्यकामा नै व्यवस्थापन गरी मल बनाउने कार्यका लागि स्थान पहिचानको कार्यलाई तीव्रता दिएको छ ।

सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्याउँदा पटकपटक समस्या आएकाले प्रभावकारीरुपमा फोहरको दीर्घ समाधानका लागि स्थान पहिचानमा सक्रियता बढाएको कामपाले जनाएको छ । बञ्चरेडाँडामा हानिकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अभ्यास सुरु गरेको हो ।

आगामी तीन महिनापछि कुहिने फोहरलाई मोहर बनाउने योजना रहेको कामपाकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । त्यसका लागि एक स्थानमा कम्तीमा करिब ५० रोपनी जग्गा आवश्यक पर्ने हुँदा सोहीअनुरुप खोजी भइरहेको छ ।

हाल कामपासहित उपत्यकाको १८ स्थानीय तहको सबै खालका फोहर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरिएको छ । यो नै उपयुक्त विकल्प नभएकाले कुहिने फोहरलाई उपत्यकामा नै र नकुहिनेलाई अन्तिम व्यवस्थापनका लागि उक्त स्थानमा लाने गरी कामपाले तयारी थालेको छ ।

यही साउन १ गतेदेखि कामपाले कुहिने र नकुहिने फोहरको फरकफरक तरिकाबाट व्यवस्थापनको काम गरिरहेको छ । हाल सम्भावित स्थान पहिचानको काम भइरहेको छ । चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र साहको सहभागितामा स्थान खोज्ने काम जारी छ ।

हालसम्म उपलब्ध भएका जग्गामा ५० रोपनीदेखि १५० सम्मको छ । अझै बढी उपयुक्त र कम खर्चिलो जग्गाको खोजीमा कामपा लागिरहेको प्रवक्ता मानन्धरले भन्नुभयो । फोहर व्यवस्थापन गर्न कामपाले चालु आर्थिक वर्षका लागि करिब रु एक अर्ब बजेट विनियोजन गरेको छ ।

“उपत्यकाको अन्य स्थानीय निकायका प्रमुखसँग पनि कुराकानी भइरहेको छ, उपयुक्त स्थान पाउनासाथ काम सुरू गर्ने सोचमा छौँ । कामपाले फोहरलाई उत्पादनसँग जोड्ने गरी काम गर्न लागेको हो”, उहाँले भन्नुभयो ।

सबै किसिमका फोहर बञ्चररेडाँडा लैजाँदा स्थानीयको स्वास्थ्यमा असर गर्नुका साथै खर्च पनि बढी हुने भएपछि उपत्यकामा नै कुहिने फोहरको व्यवस्थापन कार्य गर्न लागिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.