साहित्य

मल्लकालीन संस्कृति र चाडपर्वको जानकारी लिन

नेपालको शासनकालमा स्वर्णकालका रुपमा रहेको मल्लकालीन संस्कृति तथा चाडपर्वहरु अहिले परम्परा निर्वाहमा सीमित हुँदै गएको छ ।

यस्तोमा कृतिप्रेमी एवं अध्येता डा वीरेन्द्रप्रसाद कायस्थद्वारा लिखित ‘मल्लकालीन संस्कृति र चाडपर्व’ नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकले नेपाली इतिहासमा स्वर्णकालका रुपमा रहेको मल्लकालीन संस्कृति र चाडपर्वबारे जानकारी हासिल गर्न सकिने जनाइएको छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पुस्तक विमोचन गर्दै ज्योतिषशास्त्रलाई विज्ञान र गणितको आँखाबाट हेर्नुपर्नेमा जोड दिनुभयो । संस्कार र संस्कृतिमा नदेखिँदा तरिकाबाट भित्रिएका कुसंस्कार र विकृति हटाई वास्तविक तथ्यसम्म पुगी अध्ययन गर्नेका लागि सो पुस्तक कोशेढुङ्गा सावित हुने डा कन्हैया झाले बताउनुभयो ।

इतिहासविद् तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले नेवाः संस्कृति परापूर्वकालदेखि गणितसम्मत रहेको चर्चा गर्दै मल्लकालीन संस्कृतिलाई हराउन दिने हो भने नेपालको वर्तमान पनि मरितूल्य हुने धारणा व्यक्त गर्नुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले डा कायस्थद्वारा लिखित पुस्तकले आगामी पुस्तालाई नेवाः संस्कृतिका सम्बन्धमा ज्ञान आर्जन गर्न सहायक सिद्ध हुने बताउनुभयो ।

विमोचित उक्त पुस्तक ८६ उपशीर्षकमा विभाजित छ । पुस्तकमा ज्योतिष विज्ञान तथा संस्कृति र चाडपर्वका विविध विषय समावेश गरिएका छन् ।

नेवार संस्कृतिमा मनाउने विभिन्न चाडपर्व जस्तै दसैँ, तिहारलगायतका विविध संस्कृति र चाडपर्वबारे विस्तृतरुपमा उल्लेख छन् । कार्यक्रममा वडाध्यक्ष योगेन्द्रमान बिजुक्छे, मनजित मल्ल र दीपक कायस्थले विमोचित पुस्तकको विशेषता र महत्वबारे चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.