जन सरोकार

चुरेका पहिरो पीडित आकाश गर्जेपछि तर्सिन्छन्

बुटवल उपमहानगरपालिका– ३ ज्योतिनगर निवासी विनबहादुर विटालु राम्रोसँग ननिदाएको धरै दिनभयो । श्रवनडाँडाको माथिल्लो भागबाट पहिरो सिधैँ बुटवल बजारतर्फ आउने डरले उहाँ रातभर निदाउन सक्नुहुन्न । पानी पर्ने वित्तिकै विटालु दम्पती घर छोडेर बेलवासस्थित आफन्तकोमा बास बस्न जानुुहुन्छ ।

गतवर्ष चार कोठा पहिरोले पुरिएकोे उहाँको घरमा अहिले पनि असारको पहिलो हप्ता पहिरोको लेदो पसेको थियो । घरको पछाडिबाट ढुङ्गा माटोसहितको पहिरो भित्र पसेपछि उहाँहरुले एउटै कोठामा खाने र बस्ने गर्दै आउनुभएको छ ।

“आकाश गर्जिन थाल्यो भने मन नै सिरिङ्ग हुन्छ, दिउँसोमा त बरु देखिन्छ तर राति पहिरो आयो भने गुहारसम्म पनि नपाइ मरिन्छ की भन्ने लाग्छ”, विटालु दुःखेसो पोख्नुहुन्छ । तेह्र जनाको उहाँको परिवारमा छोराबुहारी अलग्गै बस्छन् । घरअगाडि सानो ट्याङ्कीको पसल गरेर गुजारा गर्दै आउनुभएका विटालु पहिरोका कारण व्यापार पनि नभएको गुनासो गर्नुहुन्छ ।

यो क्षेत्रमा ४१ वर्षदेखि बसोबास गर्दै आएका उहाँका परिवारले गतवर्ष पहिरो घरभित्रै पस्दा पनि अहिलेसम्म कुनै राहत तथा सहयोग भने पाएका छैनन् । स्थानीय तहको निर्वाचनमा हामीले पहिरोबाट बचाउँछाैँ भनी राजनीतिक दलका प्रतिनिधि घरदैलोमा भोट माग्न पुगे तर कुनै सहयोग वा पहिरो नियन्त्रणका लागि पहल नगरेको विटालुकी श्रीमती उजेली गुनासो गर्नुहुन्छ ।

“पानी पर्ने वित्तिकै माटोको लेदोसहितको खोलो बग्न थाल्छ, हामी घर बाहिर रुझेर बस्छौँ । यसरी कति दिन चल्छ । त्यसैले सरकारले हामीलाई अन्यत्रै बस्ने व्यवस्था मिलाउनुपर्छ”, उजेली भन्नुहुन्छ । बुटवल– ३ कै सतीकुमारी श्रेष्ठ पनि आकाश गजिर्ने बित्तिकै घर छाडेर हिँड्नुहुन्छ । चुरेको पहिरोका कारण घर जोखिममा रहेकाले पहिरोले पुरिने डरले उहाँ राति घरमा सुत्न सक्नुहुन्न । गत वर्षको पहिराले घरको भूइँतला पुरेपछि लामो समय सरसफाइमै श्रेष्ठले बिताउनु परेकोे थियो ।

“गतवर्षको पहिरो बल्लबल्ल सफा गरेँ अहिले पनि पानी पर्ने वित्तिकै घरभित्र लेदोसहितको माटो पस्छ, राति थाहै नपाइँ मरिन्छ की भन्ने डरले अरुको घरमा गएर बस्छु” उहाँ गुनासो गर्नुहन्छ । श्रीमान् र छोराको निधनपछि घरमा एक्लै बस्दै आउनुभएकी श्रेष्ठको सहारा कोही छैन । सरकारले पनि अहिलेसम्म कुनै सहयोग नगरेको उहाँको भनाइ छ । “पहिरोका कारण पोहोरदेखि घरमै बस्न नसक्ने अवस्था भइसक्यो तर कसैले केही गर्दैन, कसैले हेर्दैन”, उहाँ आफ्नो बेदाना सुनाउनुहुन्छ ।

अहिले पनि पानी पर्ने वित्तिकै उपमहानगरको– वडा नं ३ र ४ मा पर्ने चुरे क्षेत्रमा लेदो सहितको माटो र पानी बग्न थाल्दा यहाँका बासिन्दा घर छोडेर हिँडन बाध्य हुन्छन् । बुटवल उपमहानगरपालिकाको तिनाउ नदी दायाँबायाँका बासिन्दा पनि चुरे क्षेत्रबाट पहिरो जान थालेपछि अतालिन्छन् ।

गत वर्षदेखि पानी पर्ने वित्तिकै घर छोडेर हिँड्नुपर्ने बाध्यता यहाँका बासिन्दालाई छ । खासगरी बुटवलको लक्ष्मीनगर र ज्योतिनगर क्षेत्रका बासिन्दा चुरेको पहिरोबाट पीडित छन् । अहिले वर्षा सुरु भएसँगै ती क्षेत्रका बासिन्दा रातिम् घर छाड्न बाध्य छन् । वडा नं ३ का केशवराज पन्थीका अनुसार चुरे पहिरोको जोखिमका कारण यो क्षेत्रका बासिन्दाले अन्यत्रै कोठा भाडामा लिएका छन् । पानी पर्ने वित्तिकै यो क्षेत्र छोडेर भाडाको कोठामा बस्न जाने गरेको उहाँको भनाइ छ ।

असारको पहिलो हप्ता परेको वर्षापछि आएको चुरोको पहिरो केही स्थानीयवासीको घरमा पस्यो । पहिरोबाट बगेर र आएको लेदोसहितको पानी घरघरमा पसेपछि उनीहरुले घर छोडेर हिँडेका थिए । गतवर्ष पहिरोका कारण करिब दुई दर्जन दर्जन स्थानीयवासीका घरमा क्षति पुगेपछि विज्ञको टोलीले चुरे पहिरोको अध्ययन ग¥यो ।उक्त टोलीले अध्ययनमा पानीको अव्यवस्थित सतही बहाब नै बुटवल पहिरोको मुख्य कारण हो भन्ने ठहर गर्यो ।

यहाँको पहिरोलाई रोकथाम गर्ने पहिलो उपाय सतही र भूमिगत पानीको सही व्यवस्थापन भएको निष्कर्ष निकालेर उक्त टोलीले राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वय इकाइ कार्यालयलाई प्रतिवेदन बुझायो । पहिरो नियन्त्रणका लागि श्रवनडाँडा (पहिरो गएको डाँडो) को मध्यभागमा रहेका मूलबाट बगेको पानीलाई पाइपमार्फत एकैठाउँ जम्मा गरेर पुराना वा नयाँ नालीमा मिसाउनु उपयुक्त हुने राय विज्ञले दिए पनि विगत एक वर्षमा भएका अनुगमन, वुक्षरोपण र सामान्य पर्खाल लगाउने कामले मात्र पहिरो नियन्त्रण हुने स्थिति बनेन ।

गत भदौ १३ र १४ गते बुटवल उपमहानगरपालिकाको ज्योतिनगर र लक्ष्मीनगर माथिको भागस्थित चुरे क्षेत्रमा गएको ठूलो पहिरोका कारण बुटवल बजार नै जोखिममा परेपछि विज्ञको टोलीले अध्ययन गरेको थियो । विज्ञ टोलीले दिएको सुझावका आधारमा ती दुबै स्थानमा वृक्षरोपण गर्ने, तारजाली लगाउने र पर्खाल लगाउने काम गरिएको राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वय इकाइ कार्यालयका सूचना अधिकारी निर्मल थापा बताउनुहुन्छ । “हामीले गत आर्थिक वर्षमा रु दुई करोड ३५ लाख खर्चेर काम गरेका छौँ तर प्राकृतिक प्रकोपसँग कस्को कसैको केही लागेन ”

गतवर्ष उपमहानगरको वडा नं ३ मा पर्ने ज्योतिनगर क्षेत्रमा मात्रै करिब ७० हेक्टर क्षेत्रमा पहिरो गएको थियो । “जुनसुकै समयमा खस्ने गरी ढुङ्गा माटो झुण्डिएर बसेकाले उक्त क्षेत्र निकै जोखिममा रहनाका साथै गत वर्षको पहिराले बस्ती वरपर ढुङ्गा माटोसहितको पहिरोको अवशेष लथालिङ्ग अवस्थामा छ, अहिले त झन पहिराले बाँच्न दिँदैन की जस्तो लाग्छ”, स्थानीय तुलसा सुवेदी भन्नुहुन्छ ।

पहिरो नियन्त्रणका लागि गतवर्ष स्थानीय तहले केही पहल गरे पनि सङ्घीय र प्रदेश सरकारको खासै चासो नरहेको स्थानीयवासीको गुनासो छ । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे पहिरो पीडित क्षेत्र अनुगमनका लागि गए पनि ठोस् कदम चाल्न नसकेको तुलसा बताउनुहुन्छ ।

“अनुगमनले मात्रै केही हुँदैन, पहिरो नियन्त्रणका लागि ठोस् योजना ल्याउनुपर्छ”सुवेदी भन्नुहुन्छ । वर्षभर नै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएकाले यो वर्ष पनि सोही समस्या झेल्नुपर्ने अवस्था आएको चुरे–तिनाउ संरक्षण समितिका संयोजक कमल गौतम बताउनुहुन्छ ।

अझैपनि चुरेको पहिरो नियन्त्रणका लागि पहल नगर्ने होे बुटवलमा ठूलो क्षति हुने खतरा रहेको उहाँको भनाइ छ ।संयोजक गौतमका अनुसार यसअघि पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको पहलमा रु दुई करोड ३० लाख र बुटवल उपमहानगरपालिकाका तत्कालीन प्रमुख शिवराज सुवेदीको पहलमा रु एक करोड १५ लाख स्थानीय युवा परिचालन गरी पहिरो नियन्त्रणका लागि खर्चिए पनि पहिराको खतरा टरेको छैन ।

अघिल्लो महिना मात्रै स्थानीय युवाको सक्रियतामा चुरे क्षेत्रबाट ज्योतिनगरतर्फ सोझिएको पानीको मूल स्काभेटर लगाएर चिडियाखोलातर्फ सोझ्याउने काम भएको थियो । “वडा नं ३ को सीरान बाँसघारीमा १९ फिट जमिन भासिएकाले स्थानीय युवाले क्षति हुन नदिन स्काभेटरले माटो फालेर बगेको पानीलाई चिडियाखोलातर्फ सोझ्याइदिए । यसका लागि उपमहानगरले डिजेल सहयोग गरेको थियो”, उहाँ उल्लेख गर्नुहुन्छ ।

विज्ञका प्रतिवेदनअनुसार ज्योतिनगरको पहिरो पीडित क्षेत्र पहिल्यै पहिचान भएको जोखिम क्षेत्र हो । विसं तीर तत्कालीन राजा वीरेन्द्रले चुरे पहाड संरक्षणका लागि कार्यक्रम ल्याउन निर्देशन भएपछि भूताहा, चिसापानी, माकर तथा चिडियाखोला गाउँ पूरै बस्ती स्थानान्तरण गरिएको थियो । यो स्थानान्तरण गर्दा तामनगर र बर्दघाट क्षेत्रमा स्थानीयवासीलाई जग्गा उपलब्ध गराइएको थियो ।

सरकारले नयाँ ठाउँमा जग्गा उपलब्ध गराउँदा पुरानो ठाउँको जग्गा सरकारीकरण गरिएन र जोखिम क्षेत्रको जग्गा पनि स्थानीयवासीको नाममा नै रह्यो । बुटवलको सहरीकरण तथा आकर्षण बढेसँगै यो ठाउँको पहिरोलाई स्थानीयवासीले पनि बिर्सिए । जोखिम हुँदाहुँदै पनि यहाँको जग्गा पनि किनबेच भयो र बिस्तारै बस्ती पनि बस्यो । विभिन्न जिल्लाबाट बसाइसराइ गरी आएकाका घर पहिरोमा पुरिए । विसं २०५५को पहिरोमा २१ घर पुरिएका थिए भने ५७ घरमा असर परेको थियो यो क्रम गत वर्ष पनि दोहोरियो । गतवर्ष करिब डेढदर्जन घर पुरिए । ज्योतिनगरका धेरै घरमा ढुङ्गा माटोसहितको लेदो पस्यो ।

यो क्षेत्रमा २०५५ को पहिरोपछि जाइका समूहले सो सर्भेक्षण गरेको थियो । भू–उपग्रहमार्फत चुरे क्षेत्रको तस्वीर खिचेर अध्ययन गरेपछि जाइकाले यो क्षेत्र जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै ठूला रुखले जोखिम निम्त्याउने हुँदा कटान गर्न सुझाव दिइएको थियो तर त्यो काम अझै भएको छैन । चुरेको पहिरो नियन्त्रणका लागि प्रदेशको वन, वातावरण तथा भू– संरक्षण मन्त्रालयले बृक्षरोपण बाहेक कुनै काम गरेको छैन ।

गत असारको १४ गते बाँस र अम्रिसो रोप्ने काम गरिए पनि पूरा नभएकाले थप बिरुवा रोप्न समय लाग्ने मन्त्रालयका सूचना अधिकारी नारायणदेव भट्टराई बताउनुहुन्छ । पहिरो नियन्त्रणका लागि बाँसको बिरुवा काटेर राइजोन रोप्ने र ब्याम्बो वाल्टरिङ अर्थात बाँसको कप्टेराको जाली बनाएर लगाउने तयारी गरिएको उहाँको भनाइ छ ।

“यो वर्ष यहाँको चुरो पहिरो नियन्त्रणका लागि रु २५ लाख विनियोजन भएको छ । प्राविधिकको सल्लाह अनुसार काम गर्छौँ”, सूचना अधिकारी भट्टराई भन्नुहुन्छ, “वन मन्त्रालय भएकाले हाम्रो मुख्य काम वृक्षरोपण गर्ने हो । अहिले बाँस र अम्रिसो रोपेका छौँ ।” ज्योतिनगर क्षेत्रमा पानी पर्ने वित्तिकै पहिरो जान सुरु हुने भएकाले तत्काल पहिरो नियन्त्रण तथा व्यवस्थापनकै लागि वन मन्त्रालय, राष्ट्रपति चुरे संरक्षण कार्यालय र बुटवल उपमहानगरबिचको समन्वयमा काम गर्नुपर्ने हो तर त्यसो हुन नसकेको उहाँ बताउनुहुन्छ ।

“आवश्यकता अनुसार तार जाली भरेर खोलाको पानी बस्तीमा आउन नदिने गरी स्थानीयवासीको सहयोगमा काम गरेका छौँ । थप कामका लागि बैठक बसेर निर्णय गर्छौँ”, बुटवल उपमहानगरका विपद् व्यवस्थापन समितिका संयोजक मित्रमणि खनाल भन्नुहुन्छ ।
पहिरो नियन्त्रणका लागि यो वर्ष गृह मन्त्रालयले रु ४५ लाख विनियोजन गरेकाले प्राविधिकको सुझावका आधारमा पहिरो नियन्त्रणका लागि दीर्घकालीन रुपमा काम अघि बढाउने उहाँ बताउनुहुन्छ । “धेरै पानी नपरेकाले पहिरो रोकिन्छ की भन्ने लाग्छ”, संयोजक खनाल भन्नुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.